काठमाडौँ । आज विश्व अल्जाइमर दिवस अर्थात् बिर्सिने रोग दिवस । अल्जाइमर्स अर्थात् डिमेन्सिया स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यो रोगबाट संसारभरका लाखौँ मानिस पीडित छन् ।
हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको यो दिवस सन् १९९४ देखि मनाउन सुरु गरिएको हो । तर विश्व अल्जाइमर्स महिना भने सन् २०१२ देखि मनाउन सुरु गरिएको हो । अल्जाइमर्स अर्था डिमेन्सिया जसलाई बिर्सिने रोगको नामले हामी बुझ्ने गर्छौँ ।
यस वर्षको अल्जाइमर्स दिवसको मूल नारा ‘लेट्स टक अबाउट डिमेन्सिया’ अर्थात् ‘विस्मृति रोगबारे चर्चा गरौँ’ भन्ने रहेको छ ।
यो रोग एलोइस अल्जाइमर्स भन्ने व्यक्तिले आज भन्दा ११४ वर्ष पहिले पत्ता लगाएका थिए । सन् १९८० को दशक यता यसले चर्चा र महत्त्व पाएको छ । जब अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई अल्जाइमर्स रोग लागेको थियो । त्यसपछि मिडिया र सरकारको ध्यानाकर्षण भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको ‘अल्जाइमर्स डिजिज इन्टरनेशनल’ संस्थामा हाल संसारका १ सय भन्दा बढी देशहरू अवद्ध छन् । नेपालमा पनि सन् २०१२ देखि ‘अल्जाइमर विस्मृति समाज नेपाल’ स्थापना भएको हो ।
प्रत्येक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर्स महिनाको रूपमा लिइन्छ । यो महिना भर यस रोग सम्बन्धी जन चेतना मूलक कार्यक्रम आयोजना गरिँदै आएका छन् ।
के हो अल्जाइमर्स ?
अल्जाइमर्स मानसिक क्षमतामा ह्रास भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिहरू प्रतिको जागरूकता, मनन, हिसाब किताब, नयाँ कुरा सिक्ने क्षमता, विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा कमी हुदैं जाने रोग हो ।
प्रायः यो रोगले बढ्दै जाने र लामो समयसम्म लागिरहने तथा अन्तमा अत्यन्त कठोर भएर बिरामीलाई सिकिस्त बनाइदिन्छ । बिस्तारै परावलम्बी बनाएर समय भन्दा पहिले नै ज्यान लिन्छ । डिमेन्सिया विभिन्न किसिमका हुन्छन् । त्यस मध्ये अल्जाइमर्स रोग सबै भन्दा बढी देखिन्छ र प्रायः जसो ६५ वर्ष माथिका मानिसमा यो रोगको सम्भावना बढी हुन्छ ।
यसका लक्षणहरू
– स्मरण शक्तिको ह्रास आउने, दैनिक जीवनयापनमा कठिनाइ, खास गरी भर्खरैको घट्नाहरु र व्यक्तिका नामहरू समेत बिर्सने ।
–तर्क गर्ने क्षमता हराउनु र सामान्य समस्याहरू पनि समाधान गर्न नसक्नु ।
– सामान्य काम गर्न पनि असमर्थ हुनु ।
– समय तथा स्थानको ज्ञान हराउँदै जानु।
– आँखाले देखेका कुराहरू नचिन्नु ।
–टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु ।
–कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेट्नु ।
– सामानहरू कता राखे भन्ने बिर्सनु ।
– स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु ।
– घरायसी तथा व्यावसायिक क्रियाकलापबाट विमुख हुनु ।
– व्यक्तिको मुड तथा व्यक्तित्वमा परिवर्तन हुनु ।
के गर्ने ?
डिमेन्सिया भिटामिन बी र थाइराइडको कमीले हुने चिकित्सकहरू बताउँछन् । भिटामिन बी नियमित सेवन गरे रोग लाग्नुबाट बच्न सकिने विज्ञहरूको भनाइ रहेको छ । डिप्रेसन, मानसिक तनाव, निन्द्राको समस्या, लागू औषधिको प्रयोग र धेरै मदिरापानको कारण डिमेन्सिया हुने खतरा हुन्छ । यस्ता कुलत समयमै छोड्नु पर्छ ।
यस्तै समयमै उच्च रक्तचापको उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम गर्नु यो रोगबाट बच्न सकिन्छ । खानपिनमा विशेष ध्यान दिने । पोषण तत्त्वहरूको कमी हुन नदिनु यो रोगबाट बच्ने उपाय हुन् ।
डिमेन्सिया भएका व्यक्तिहरुलाई सरसफाइ र खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
अध्ययनले के भन्छ ?
अल्जाइमर्स सम्बन्धी एक अध्ययनले देखाए अनुसार विश्वमा हरेक ३ सेकेण्डमा १ जनालाई डिमेन्सिया रोग लागेको हुन्छ । मृत्युको कारणहरू मध्ये यो रोग सातौँ कारण रहेको छ । यस्तै विश्वभर लगभग ५ करोड व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।
बढ्दै गइरहेको यस रोगबाट पीडितको सङ्ख्या सन् २०५० सम्ममा लगभग १५ करोड २० लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१८ मा मात्रै विश्वभरमा यसबाट पीडितको उपचार तथा स्याहारका लागि करिब दश खर्व अमेरिकी डलर खर्च भएको अनुमान गरिएको छ । यस रोगका लागेको व्यक्तिको स्याहारका लागि करिब चार करोड व्यक्तिको श्रम समय खर्च भइरहेको छ ।