काठमाडौं महानगरपालिकाको कर अब अनलाइनबाट तिर्न मिल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौं महानगरपालिकाको कर अब अनलाइनबाट तिर्न मिल्ने


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले घरमै बसेर कर तिर्न सकिने प्रणाली सञ्चालनमा ल्याउने भएको छ । असोज १ गतेबाट राजस्व प्रणालीलाई अनलाइनमार्फत भुक्तानी हुने प्रणाली थालनी गर्न लागिएको हो ।

वडामा कर तिर्ने करदाताले यो प्रणालीबाट आफूले बुझाउनुपर्ने कर, शुल्क तथा दस्तुरको प्रारम्भिक मूल्यांकन आफैं र घरमै बसेर कर तिर्न सक्छन् । कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले विद्युतीय प्रविधिमार्फत राजश्व संकलन गर्दा आगामी वर्षमा २० देखि ३० प्रतिशत सम्म राजस्व संकलन बढ्ने अपेक्षा गरिएको बताए ।

‘साउन १ गतेदेखि खर्च लेखाङ्कनलाई सब(नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित बनाइसक्यौं । त्यसपछि भवन नक्सा स्वीकृति गर्ने पद्धतिलाई ईबीपीएस (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम) प्रणालीबाट कार्यान्वयनमा ल्याएका छौं, अब राजस्व प्रणालीलाई अनलाइन बनाउने अन्तिम तयारीमा पुगेका छौं ,’ उनले भने ।

यो प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटर्फम छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्नेछन् । आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।

यो विवरण फरवार्ड गरेपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई अप्रुभल दिनेछन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्नेछन् ।

सफ्टवेयरको प्रयोगात्मक सिकाइका लागि महानगरले भोलि र पर्सि २ दिन वडालाई ४ समूहमा बाँडेर तालिम सञ्चालन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस