विकासमा नागरिक सहभागिता : एक व्यवहारिक दृष्टिकोण « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

विकासमा नागरिक सहभागिता : एक व्यवहारिक दृष्टिकोण


२३ भाद्र २०७७, मंगलबार


राज्य भित्र रहेका सबै संरचना पृथ्वी मानव र प्रकृतिको सर्वोत्तम हित प्रवर्धनका लागि निर्माण गरिएका हुन् । यी सबै संरचनाको चालक नागरिक भएको हुँदा नागरिकलाई सबै तत्त्वहरू मध्ये प्रमुख मानिन्छ । नागरिक र नागरिकसँग सरोकार राख्ने अवयवहरूको संरक्षणसँगै नागरिकको सर्वाङ्गीण हित प्रवर्द्धन नै शासकीय प्रबन्धको प्रमुख सवाल हो । नागरिकहरूको हित नागरिकहरूको आफ्नै संलग्नतामा बढी प्रभावकारी हुन्छ भन्ने मान्यता रहेको छ ।

नागरिकहरूसँग सरोकार राख्ने सबै विषयमा उनीहरूको प्रत्यक्ष संलग्नता सधैँ सम्भव नहुने भएको हुँदा प्रतिनिधिमूलक संयन्त्रमार्फत उनीहरूको भूमिका सुनिश्चित गर्ने गरिन्छ । नागरिकहरूको प्रतिनिधिमूलक संयन्त्र निर्माण गर्ने प्रक्रिया, पद्धति, प्रणालीलाई नागरिक सहभागिता भनिन्छ । नागरिकहरूसँग सम्बन्धित मामला व्यवस्थापनलाई हामी शासन, प्रशासन, संसद्, संस्था सगठन आदि विभिन्न नामले सम्बोधन गर्दछौं ।

शासन सञ्चालन गर्ने प्रतिनिधिमूलक संयन्त्र निर्माण गर्ने विधि लोकतन्त्र पनि नागरिक सहभागिताको एउटा नमुना हो । जहाँ मतदानद्वारा प्रतिनिधि चयन गर्ने गरिन्छ । नागरिकहरू प्रशासन, विकास व्यवस्थापन, विकासको अनुगमन, विकासप्रतिको अपनत्व, विधि निर्माण, नागरिकका सरोकारका विषयमा सुझाव, राय, परामर्श लगायतका विषयमा सहभागिता जनाउँछन् जसका विभिन्न स्वरूप र विधाहरू हुन्छन् । यसरी शासन सञ्चालनका औपचारिक अनौपचारिक संयन्त्रहरूमा नागरिकले आफ्नो उपस्थिति सुनिश्चित गर्ने प्रणालीलाई हामी नागरिक सहभागिता भनेर बुझ्छौ ।

विकासमा नागरिक सहभागिता :
विकास भनेको सकारात्मक परिवर्तन हो । विकासका विभिन्न आयामहरू रहेका हुन्छन् । विकासका आयाम अनुसार नागरिक सहभागिताको स्वरूप पनि फरक फरक हुन्छन् । राजनीतिक विकासमा सहभागिता, सामाजिक र सांस्कृतिक रूपान्तरण आर्थिक समृद्धिमा सहभागिता । यसरी विकासका विभिन्न आयामहरूमा नागरिकहरूको प्रत्यक्ष अप्रत्यक्ष चासो, सक्रियता, सुझाव, झुकाव, अभिमत, तर्क, विश्लेषण, पृष्ठपोषण, अनुगमन, खबरदारी, पहरेदार आदिको समष्टिलाई हामी नागरिक सहभागिता भनिन्छ । यो औपचारिक अनौपचारिक वा प्रत्यक्ष अप्रत्यक्ष हुनसक्छ ।

सहभागिता जनाउने व्यवहारिक पक्षहरू
क) उपभोक्ता समिति : खास गरी स्थानीय सरकारका विकास निर्माणका काममा उपभोक्ता समितिहरू मार्फत कार्यसम्पादन गर्ने चलन छ। यसरी निर्माण कार्यसम्पादन गर्दा ४० देखि ६० प्रतिशतसम्म योगदान उपभोक्ता समितिबाट हुने गरेको पाइन्छ । उपभोक्ता समितिबाट काम गर्दा लागत साझेदारी, कामको गुणस्तरीयता, अपनत्व, समय पालना, तोकिएको परिणाम भन्दा बढी हुने, दिगो हुने जस्ता मान्यताका साथ नागरिहरुलाई विकास व्यवस्थापनमा सहभागी गराइन्छ । यसले निकै राम्रो परिणाम दिएको पनि छ। यदाकदा उपभोक्ता समितिसँग तोकिएको अपेक्षा भन्दा बाहिर गएर पनि कामहरू सम्पन्न भएका उदाहरणहरू पनि रहेका छन् । यद्यपि विकासमा नागरिक सहभागिताको राम्रो उदाहरण मानिन्छ ।

ख) विद्यालय स्वास्थ्य चौकी खानेपानी पानी वितरणसँग सम्बन्धित समितिहरू : सामुदायिक विद्यालय र स्वास्थ्य चौकी व्यवस्थापन समिति ग्रामीण विद्युतीय लगायतका समितिमा समुदायबाट व्यवस्थापन समितिको छनौट हुने परम्परालाई पनि नागरिक सहभागिताको नमुनाको रूपमा लिन सकिन्छ ।

ग) सामुदायिक रेडियो, सामुदायिक स्रोत केन्द्र, सामुदायिक पुस्तकालय, सामुदायिक शिक्षा लयहरूको निर्माण : निजीकरण र उदारीकरण प्रभाव सँगै समुदायको स्वामित्वका रेडियो टेलिभिनहरुले तीनै तहका सरकारका विभिन्न स्वरूपमा राम्ररी नै सहभागिता जनाएको पाइन्छ । सामुदायिक सञ्चार प्रतिष्ठानहरूको अमूल्य योगदानलाई पनि विकासमा नागरिक सहभागिताको मोडलबाट विश्लेषण गर्न सकिन्छ ‍।

घ) टोल विकास संस्थाहरु : खास गरी आफ्नो टोल र समुदायमा हुने विभिन्न गतिविधिहरूमा सहभागी हुने, टोल तथा समुदायलाई गतिशील बनाउने शिक्षा, सरसफाइ, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका धेरै सामाजिक सरोकारका विषयमा जनचेतना बढाउने, सानो सानो बचत परिचालन गर्ने उद्यमशीलता प्रवर्धन गर्ने लगायतका कामहरू टोल विकास संस्थाबाट हुने गरेका छन् । टोली विकास संस्थालाई स्थानीय सरकारले सामाजिक पुँजीको संज्ञा पनि दिने गरेको पाइन्छ ।

ङ) सामुदायिक सिँचाई प्रणाली, सहकारी अभियान राम्ररी व्यवस्थापन सामुदायिक वन, सामुदायिक प्रहरीदेखि चेतनशील सामुदायिक रेडियोहरूको सञ्चालनलाई उदाहरणको रूपमा लिन सकिन्छ । यी सबै परिदृश्यले नागरिकहरूको संलग्नतामा सार्वजनिक क्षेत्रमा महत्त्वपूर्ण कामहरू गर्ने देशहरूमा नेपालको स्थान अग्रस्थानमा छ ।

सुधारका पक्षहरू
नागरिक सहभागिताका विद्यमान संरचनाहरू निकै अब्बल छन् । तथापि यिनीहरूको अभ्यासमा लक्षित वर्ग, विकासमा पछाडि परेका समुदाय र सहभागी हुनुपर्ने वर्गको प्रतिनिधित्व हुन सकेको छैन। अनुसन्धानकर्ताको दाबी अनुसार नागरिक सहभागिताको विद्यमान संरचनाहरू इलाईट क्याप्चर छन् । समावेशिता, विविधता व्यवस्थापन र सकारात्मक विभेदका नाममा तत् क्षेत्र र वर्गका क्रिमि लेयरहरुले अधिकतम फाइदा लिएका छन् भन्ने आरोप छ । नागरिक सहभागितालाई प्रभावकारी बनाउन र समावेशी राज्य व्यवस्था निर्माणका लागि बनाएका संचनाहरु क्रमशः दोहनकारी संरचनामा परिणत भएका छन् भन्ने पनि छ । हाम्रो सामाजिक मनोविज्ञान पनि केन्द्रीकृत, शक्तिको र सक्ताको वरिपरि रहन र रम्न रुचाउने र पुरातनवादी सामाजिक संरचनामा हुर्केको हुँदा प्रखर र्‍याडिकल परिवर्तनको वकालत गरे पनि सामाजिक धरातल पुरानो मनोविज्ञानबाट सञ्चालित भएका कारण चाहेर पनि सारभूत रूपमा परिवर्तन र रोलमोडलका रूपमा अगाडि बढ्न नसक्दा अधिकतम औपचारिकता र न्यून उत्प्रेरणाको अवस्थाबाट गुज्रनु परेको छ । साँच्चै नै सामाजिक हलचल ल्याउने, प्रणाली बनाउने अपेक्षा हो तर अपेक्षित लक्ष्यमा पुग्ने गरी नागरिकको सहभागिता हुन सकेको छैन । केही अपवादलाई छोडेर भन्नु पर्दा नागरिक सहभागिता गहिरो हुनुपर्नेमा माथि माथि उत्रेको छ । कि उग्र, कि मौन र आत्म केन्द्रित नागरिक रहँदा सकारात्मक र भाइब्रेट समुदाय निर्माण हुन सकेको छैन । सृजनशील, गतिशील सक्रिय र सहभागितामूलक नागरिक समाज नहुनु भनेको समुदायको लागि घातक हो । यसतर्फ समयमै सोच्नु पर्ने हुन्छ ।

आगामी बाटो
प्रवर्द्धनात्मक क्रियाकलापहरू सञ्चालन
नागरिकलाई आफ्नो देश र समुदायप्रति कर्तव्य र दायित्वहरू निर्वाह गर्न, सकारात्मक ऊर्जा प्रदान गर्न उत्प्रेरित रहनका लागि प्रवर्द्धनात्मक कामहरू तीनै तहका सरकारहरूबाट सम्पादन हुनु पर्दछ । जस्तै सबैभन्दा धेरै कर दिने करदाता, सबैभन्दा बढी रोजगारी दिने उद्योग, सबैभन्दा राम्रो काम गर्न टोल विकास संस्था, राम्रो र गुणस्तरीय काम गर्न उपभोक्ता समिति राम्रो काम गर्ने पालिकाहरू लगायतका संयन्त्रहरूलाई पुरस्कृत गर्नुपर्दछ । सरकारका संयन्त्रहरू सकारात्मक उत्प्रेरणाले भरिएर रोल मोडल हुने । सकारात्मकताले राष्ट्र निर्माणमा सहयोग पुर्याउछ, सकारात्मकताले सकारात्मकता निम्याउँछ । नागरिकहरूको विकासमा योगदान बढाउन सजिलो मद्दत पुर्‍याउँछ भन्ने विषय सरकार, सामाजिक सञ्जाल, समाज, सञ्चार क्षेत्र, सामाजिक विश्लेषक, समालोचक सबैले बुझ्नु पर्दछ ।

सामाजिक उत्प्रेरणा
नेपाली समाजलाई सर्सर्ति विश्लेषण गर्दा सकारात्मक ऊर्जा, उत्साह उमङ्गको मात्रा कमजोर हुँदै गएको महसुस हुन्छ । ऊर्जावान् र उत्प्रेरित समाजमा सामाजिक पूर्वाधारहरूको संरक्षण, फराकिलो सामाजिक सोच, मेहनत र परिश्रमको सम्मान समाज र देशप्रति माया, सामाजिक सुशासन, पारदर्शिता जस्ता पक्षहरू मजबुत हुन्छन् तब मात्र भाइव्रेन्ट सामाजिक संयन्त्रहरू निर्माण हुन्छ । अनि नागरिक सहभागिता अब्बल हुन पुग्छ । हाम्रा सामाजिक संयन्त्रहरू निराश, छिटो र सजिलो माध्यमबाट धन कमाउन खोज्ने र सामाजिक मूल्य, आचार सहिँता, दायित्व परिपालनमा कमजोर र न्यून सामाजिक उत्प्रेरणा कायम हुँदा नागरिक सहभागिता अपेक्षित हुन सकेको छैन । यी कमजोरीहरूलाई हटाई उत्प्रेरित सामाजिक संयन्त्र निर्माण गर्न आवश्यक छ ।

निर्वाचन प्रणालीमा सुधार
नागरिक सहभागिताको सुनिश्चित सहभागिताको लागि हाम्रो शासकीय प्रणालीको निर्धारक निर्वाचन प्रणालीमा पनि सुधार आवश्यक छ । लोकतन्त्रको गहना निर्वाचन महँगो भएका कारण ठुलो लगानी नगरिकन निर्वाचनको सामना गर्न नसकिने अवस्था देखिन्छ । स्रोत नखुलेको लगानीले छाया अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुर्‍यायो । मौलाउँदो छाया अर्थतन्त्रमा नागरिकको सारभूत सहभागिता रहन सकिँदैन।

शासकीय प्रणालीमा सुधार 
शासकीय प्रणालीमा सुधारले धेरै कुराको अपेक्षा राख्छ तर यहाँ विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन, सरकारका नियमनकारी निकायहरू नागरिकमा सुखको अनुभूति बढ्ने प्रणाली निर्माण हुने किसिमले काम गर्नु आवश्यक छ ।

निष्कर्ष : विभिन्न शासकीय आयामहरू मध्ये एउटा नयाँ आयाम नागरिक सहभागिता हो । नागरिकको सारभूत सहभागिताले लोकतन्त्र बलियो बनाउँदै समृद्धिको यात्रा सहज बनाउँछ । सरकार, निजी क्षेत्र र सामाजिक क्षेत्रलाई सँगैसँगै अगाडि बढाउन मद्दत पुर्‍याउँछ । स्रोत साधनहरूको अभाव झेलिरहेका देशलाई सार्वजनिक निजी साझेदारीको माध्यमबाट स्रोत बढाउन मद्दत पुर्‍याउँछ । सह निर्माण, सह उत्पादन, सह शासन, नागरिक र सरकारको अन्तर्संवाद बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

सापकोटा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् 

Tags :
प्रतिक्रिया दिनुहोस