रासायनिक मल समयमै नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द, धरौटी जफत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रासायनिक मल समयमै नल्याउने दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द, धरौटी जफत


२१ भाद्र २०७७, आइतबार


काठमाडौं । तोकिएको समयमा रासायनिक मल नल्याउने ठेकेदार कम्पनीलाई सरकारले कारबाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको र उनीहरुसँग भएको ठेक्का रद्द गरिएको कृषि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएको हो । उनीहरुको धरौटीसमेत जफत गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । कम्पनीको निर्णयपछि दुवै कम्पनीले राखेको ५ करोड कार्यसम्पादन धरौटी रकम जफत हुनेछ ।

फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र माघ ४ मा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

यसवर्ष धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन गएकोमा दुखी भएको मन्त्री भुसालले बताए । नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे दशकौँदेखि चर्चा भएको तर सन् १९९५ तिर गरिएको एउटा अध्ययनले नेपालमा मल कारखाना खोल्न सम्भव नभएको देखाएको थियो । तर २०१६ मा लगानी बोर्डले गरेको अध्ययनले नेपालमा मल कारखाना सम्भव भएको तर केही समय लाग्ने सुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस