शुक्रे डिट्ठाको भूत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शुक्रे डिट्ठाको भूत


१७ भाद्र २०७७, बुधबार


बिहान सबेरै खस्यौली र वरपरका मानिस सानीकाफ्लीको चौपारीमा जम्मा भएका छन् I सबैमा ठूलो त्रास छ I गएको रातिको कुरा त हो, सल्लेरी वनमुनिको ओडारमा भूत करायो I मानिसहरु सिरुपाते देवी पूजाको मेला सकेर अगुल्टो हल्लाउँदै पखेरै पखेराको बाटो फर्कंदै थिए I अचानक भूत बोलेको सुनियो I सबै जना एकै ठाउँ गुटुमुटु परेर बसे I शान्तसँग बसेपछि भूतको आवाज राम्रोसँग बुझियो I भूत भन्दै थियो – ‘मेरी स्वास्नीलाई कालीपारको रिसानीले खायो ! अब शोभे घर्तीकी छोरी मटुलीलाई ल्याएर स्वास्नी बनाएर राख्ने हो I’ शोभे घर्तीकी श्रीमती मेनुका र छोरी मटुली पनि मेला हेरर आउने हुलसँगै थिए I भूतको कुरा सुन्ने बित्तिकै मटुली बेहोस भएर ढली I मटुलीलाई पानी छाम्केर जगाए I तर उसले खुट्टा टेक्न सकिन I ‘अब म मर्छु ! अब म जान्छु !’ भन्दै काँप्न थाली I सबै जना ‘जय भैरम बाबा’ भन्दै मटुलीलाई बोकेर फर्के I

भेलामा सबै जना जगरे दर्लामीलाई कुरेर बसेका छन् I जगरे इलाकाकै नामुद धामी हो I जगरे आइपुग्यो I ऊ आएको देखेर गाउँलेहरुको नशामा रक्तसंचार भयो I कडा भूत लागेको अवस्थामा धेरे समयसम्म ध्यान बस्नुपर्ने हुँदा धामी समयमै आउन सक्दैनन् I कहिलेकाहीँ त दिनभरि ध्यान गर्दा पनि केही सीप नलागेर अर्को रातभरि ध्यान गर्नुपर्छ I कालो भोटो , रातो लुङ्गी , लट्टा परेको कपाल र रक्सीको गन्ध I धामी घाँसमाथि बिछ्याएको सानो चारपाटे गुन्द्रीमा बसेर चारैतिर केही अछेता फाल्यो I उसले आँखा चिम्म गरेर हुम्म्म्मम हुम्म्म्मम दुम्म्म्मम दुम्म्म्मम्म झुम्म्म्मम् गर्दै आँखा खोलेर सबैले सुन्नेगरी भन्यो ‘शुक्रे डिट्ठा लागेको हो I’

शोभे घर्तीले शुक्रेको दाइ आदित्यनाथतर्फ हेर्दै भन्यो – ‘यी बाजेको अलच्छिन सबै गाउँलेहरूले भोग्नु परेको छ I तिम्रो भाइ प्रेत भएर घुमिरहेको छ I अगति परेर मरेको मान्छेले गाउँ पिर्छ भनेको साँच्चै रहेछ I’

आदित्य – ‘त्यसरी हेपेर भन्नु त भएन शोभे दाइ ! शुक्रेलाई भूत बनेर शोभेकी छोरीलाई खा भनेर मैले भनेको हो र ? म त चाहन्छु शुक्रेले जति दु:ख दिनुपर्ने हो , हामीलाई नै देओस I तर के गरम , भूतको छाया कुनबेला को माथि पर्छ के जान्नु ? धार्नेको रुखको हाँगोमा नाम्लो बाँधिएको र घिसारेको गोहो देखिएपछि भाइ शुक्रेको लास बाघले खाएको कुरा पक्का भयो I भाइको लास नभेटिए पनि तपाईं समेत सबै गाउँलेको सल्लाह बमोजिम सबै क्रियाकर्म गरेको हो I बा आफै क्रिया बस्नुभयो I अगति पर्ला भनेर नारायणबलि पनि गरेकै हो I बा ‘मेरै कुवाच्यले गर्दा छोरो मरेर गयो’ भनेर सधै पछुतो मान्नुहुन्थ्यो I शोकै शोकमा ठाडै सुकेर भाइको वार्षिक श्राद्धको भोलिपल्टै मरेर जानुभयो I हामीलाई अझै पनि शुक्रेको भूतले बेला बेलामा तर्साइरहन्छ I हामी आफै ठूलो पीडामा छौं I’

जगरे धामी – बुधे डिट्ठालाई शुक्रेको भूतले नै खाएको हो I जिउँदो हुँदा शुक्रेलाई धेरै हेप्नी काम भयो I खस्यौलीमा जस जसले शुक्रेलाई खिसी गर्दै उपहास गरेका थिए , ती सबैसँग बदला लिनेवाला छ शुक्रे I हेर शोभे ! तिमी किन आदित्य बाजेलाई दोष दिन्छौ ? तिमीले पनि शुक्रेलाई निकै हेपेर गिल्ला गरेको हुनुपर्छ I जिउँदो हुँदा दु:खी नपारेको व्यक्तिलाई मरेर भूत हुनेले कहिल्यै सताउने काम गर्दैन , बरु मद्दत नै गर्छ I’ धामीको कुरा सुनेर प्रायः सबै गाउँलेको सातो गयो I शोभे दुवै हातले टाउको समातेर थचक्क बस्यो I शोभेकी पत्नी मेनुका जिब्रो टेक्दै थर्र काँपी I

धामीको आदेश अनुसार एउटा ठूलो कालो भाले, कालो कपडा, एक पाथी मास, दुई माना तोरीको तेल, एक पाथी रक्सी, एक माना नून र दुई पाथी चामल सल्लेरी वनको फेदमा लगेर राखिदिए I भोलिपल्टदेखि मटुली विस्तारै टाठी हुँदै गई I गाउँलेहरुले प्रत्येक शनिबार केही न केही कुरा सल्लेरी वनमा ग्रह फालेर आउन थाले I

तानसेन बजारबाट तीन कोष तेर्सै तेर्सै पश्चिमतर्फ हिंडेर जाँदा जुन ठाउँमा पुगिन्छ, त्यही हो खस्यौली I खस्यौली प्राचीन मगर राज्यको राजधानी रहेको अनुमान गर्न सकिने धेरै प्रमाणहरु छन् I पछि सेन वंशको राज्य कायम भएपछि समेत यसको महत्व कायमै रह्यो I एक समयमा खस्यौली र वरिपरीका डाँडाहरुमा सेन राजाका सिपाहीहरु कवाज खेल्थे I राजा मुकुन्द सेन ( पछि मुनि मुकुन्द ) ले काठमाडौँबाट लुटेर ल्याएका कालभैरवलाई खस्यौलीसँगै जोडिएर रहेको सुन्दर डाँडामाथिको समथर ठाउँमा प्रतिष्ठा गरी उनै भैरवलाई सेन वंशका इष्टदेवताको रुपमा पूजा गर्न थालेका थिए I

यही खस्यौलीमा बुधे डिट्ठाको घर थियो I बुधेको वास्तविक नाम बुधनाथ हो I बुधेका सुदिनका बखत सबैले बुधनाथ बाजे भनेर सम्मानसाथ सम्वोधन गर्ने गर्थे I बुधेका पूर्वज मुकुन्द सेन राजा हुँदा बिक्रम सम्बत १५७५ तिर खस्यौली आएर बसेका थिए I पाल्पा राज्य विभाजन हुँदा उनका पूर्वजहरु कोही राजधानी तानसेन, कोही तनहुँ र कोही मकवानपुर पुगे I

साँझको समय I बुधेका पूरै जहान आगो तापेर बसेका छन् I सधै गफगाफ गरेर रमाइलो गर्ने बुधे परिवारमा आज सबै चुपचाप छन् I सल्लाह गरेर समाधान गर्ने खालको समस्या भए पो सल्लाह गर्नु I सच्याएर सच्चिने सम्भावना भएको गल्ती भए पो सच्याउनु I आज समयको फेरले गर्दा सुखी र प्रतिष्ठित परिवारको अधोगति भएको छ I ग्रहको खेल कुन बेला खराब हुने हो कसलाई के थाहा !

केही महिना अगाडिको कुरा त हो I नेपाले स्वामीराजा रण बहादुर शाहले पाल्पाली राजा पृथ्वीपाल सेनलाई ‘म तिम्री बहिनी विवाह गर्छु, डोला लिएर आऊ’ भनेर खबर पठाए I राजाले भाइलाई डोला (ठूलो परिवारमा विवाह गर्न प्रस्तावित कन्या) लिएर काठमाडौतिर पठाए I तर स्वामीले तिमी जेठो ( राजा ) हुँदा हुँदै म कसरी राजा हुन नसक्ने व्यक्तिसँग कन्यादान ग्रहण गरेर उसको सम्मान गर्न सक्छु ? राजालाई कन्यादान गर्न राजा नै आउनु ठीक हुन्छ भनेर खबर पठाए I राजा पृथ्वीपालले यसो विचार गरे – हुन त ठीकै हो I पाल्पाली सेन र गोरखाली शाहहरुको सम्बन्ध धेरै पुरानो हो I पृथ्वी नारायण शाहको मावली पनि पाल्पा, स्वामी राजाको मावली पनि पाल्पा, बहादुर शाहको ससुराली पनि पाल्पा I आफ्ना मावली खलकमा विवाह गर्ने हक पनि त छ उनलाई I

राजाले काठमाडौँतर्फ साइत गर्नुअघि सबै भाइभारदार र कर्मचारीहरुलाई जम्मा गरे I एक एक गरेर सबैको हातबाट फूलमाला लिँदै, कसै कसैसँग कुशलक्षेम गर्दै अघि बढ्दै गए राजा I बुधनाथको पालो आएपछि राजा टक्क अडिए I राजाले भनेका थिए – ‘पण्डित ! मैले तिम्रो सेवाको कदर गर्न बाँकी नै छ I म उताबाट फिरेपछि तिमी डिट्ठा पदमा तरक्की हुने पक्का भयो I’ बुधनाथ राजाको कारिन्दा थिए I उनको काम भैरव मन्दिरमा चण्डी पाठ गर्ने, पुरानोकोटमा देवीको पूजा गर्ने, रिपधाराको शिवगुफाको प्राङ्गणमा समय समयमा रुद्री पूजा गर्ने र कोत्रेको डाँडाबाट धौलागिरी हिमाल देवतातर्फ फर्केर शिवस्तोत्र पाठ गर्ने थियो I यस बाहेक बेलाबखत राजधानी तानसेन गएर दरबारमा लेखापढीको काम पनि गर्दथे बुधनाथ I

सबैजनाको चुप्पी तोड्दै बुधनाथकी बूढीले भनिन् -’तपाईंले के गल्ती गर्नुभयो ? किन आज यो गत भयो ? आफ्नो परिवारलाई नभने कसलाई भन्नुहुन्छ ?’ बुधनाथले मझेरीको बीचमा गारोमाथि बलिरहेको पालातर्फ़ हेर्दै भने -राजा नेपाल गएपछि सिधै काठमाडौँभित्र प्रवेश नगरेर अलि वरै बसेछन् I कहिले कुन छाँटा निकालेर के विध्वंस गर्ने हुन् भन्ने ठेगान नरहेका बहुलट्टी स्वभावका स्वामी महाराजको मतिको ठेगान नहुने हुँदा राजा हच्केर बसेका थिए I स्वामी राजाले जीउधनको सुरक्षा हुने प्रत्याभूति दिएर खबर पठाएपछि बल्ल काठमाडौँ छिरेछन् I परन्तु धर्म हराएका स्वामीले हाम्रा राजालाई थुनेर राखे I पछि स्वामीलाई आफ्नै भाइले छयाप्पै काटेर मारेपछि स्वामीलाई मार्ने षड्यन्त्रमा लागेको मिथ्या आरोप लगाई काजी भीमसेन थापाले हाम्रा राजाको जघन्य हत्या गरेछन् I’

पाल्पामा राजा मारिएको खबर आएपछि रानी, युवराज, राजाका भाइहरु र धेरै भारदार भागेर गोरखपुर पुगे I बाँकी साना तहका कर्मचारीहरु पनि कोही भागे, कोही जसो त होला भनेर समयको फैसला कुरेर बसे I राजा मारिएको सुनेपछि सबै कारिन्दाहरुको अगाडि डाँको छोडेर रोएका थिए बुधनाथ I उनले ‘जसले मेरो राजा मारो त्यसलाई पनि धेरै गोता खाएर मर्नु परोस’ भनेर श्राप दिएका थिए I

भीमसेन थापाले आफ्ना बाबु अमरसिंहलाई पाल्पाको हर्ताकर्ता बनाएर पठाए I नया बन्दोबस्तीको सिलसिलामा पजनीको समय आयो I अमरसिंहले सबै कारिन्दाहरुको ‘रिपोर्ट’ लिए I बुधनाथाको प्रगति देखेर डाह गर्नेहरुले उनलाई स्वाद चखाउने ठूलो मौका पाए I चुक्ली लाउनेहरुबाट बुधनाथाले रुँदै श्राप दिएको कुरा अमरसिंहको कानमा पर्यो I आफ्नो प्यारो छोरालाई ‘गोता खाएर मर्नु परोस’ भनेर श्राप दिनेको खैरियत हुने कुरै भएन I बुधनाथको नोकरी खोसियो I

‘सन्तान दरसन्तानले खातिर्जामासँग खानू’ भनी साबिकका राजाले दिएको रिपखोलाको सय मुरी धान फाल्ने बिर्ता समेत खोसियो I अलि अघिसम्म सम्मान गरेर ‘बुधनाथ डिट्ठा’ भनेर सम्वोधन गर्ने जोरीपारीले अब ‘बुधे डिट्ठा’ भनेर खिसी गर्न थाले I

राति अबेर भइसक्यो I बुधनाथ खुईय गर्दै सुत्न जानका लागि उठे I तर कान्छो छोरो शुक्रनाथले ‘पख्नुस बा’ भनेर बस्न लगायो I शुक्रनाथमा न त बाबुको शोकाकुल अवस्था बुझ्ने क्षेमता थियो न त चाहना नै I शुक्रनाथले भन्यो – ’बा मेरो विवाहको कुरा के भयो ?’ शुक्रनाथकी आमाले भनिन् -’छोराको विवाह गरिदिनु बाबुको कर्तव्य हो I छोराछोरीको कर्म नचलाइदिने बाबुलाई पुत्रदण्ड लाग्छ I पितृलाई पिण्डपानी नदिने पुत्रलाई पितृदण्ड लाग्छ I छोरो अठार वर्षको भइसक्यो I यसका उमेरका केटाहरु छोराको बाउ भइसके I’

शुक्रनाथ बाबुसँग किन्चित क्रोधमा थियो, भनिदियो -’बाले म जन्मेदेखि नै हेप्न थाल्नु भएको हो I मलाई यो छेकटे कानोले केही बुझ्दैन भन्ने ठानु भएको छ बा ? म सब बुझ्छु I अहिले पो तपैं ढाक्रे हुनुभयो, अलि महिना अघिसम्म त तपैंको हैकम चल्थ्यो I दिनदिनै चाकरी गर्नेको भीड लाग्थ्यो I कान्छा छोराको विवाह गर्नुपरो हजुर भन्थे मानिसहरु I मेरो अनुहार नराम्रो छ , मेरो एउटो आँखो कानो छ भनेर होला मेरो नाम पनि शुक्रे राखेको I मैले हाम्रो पुरेत बालाई ‘पण्डित बा ! शुक्रको अर्थ के हो ?’ भनेर सोध्दा पुरेत बाले के भनेर जवाफ दिए थाहा छ ? पण्डित बाले भने – ’शुक्र भनेको शुक्राचार्य ऋषि हो I शुक्राचार्य ऋषिको एउटा आँखो कानो थियो I’ अचेल सबैले शुक्रे डिट्ठा भनेर जिस्क्याउन थाले I जता गयो त्यतै हेप्छन मलाई I यो सबै तपैंको कारणले भएको हो बुझ्नुभो बा !’

शुक्रनाथ काखमै हुँदा बिफर आयो I अब सास गयो तब सास गयो भन्दाभन्दै बाँचेको थियो शुक्रनाथ I उसको न्वारनको नाम त उमानाथ हो I बुधनाथको बाबुको नाम मङ्गलनाथ र बाजेको नाम भौमनाथ थियो I यही मेलोमा उनले जेठो छोराको आदित्यनाथ र कान्छको नाम शुक्रनाथ राखेका थिए I पाँच- छ वर्षको उमेरमा डण्डीबियो खेल्दा आँखामा क्वाच्चै बियो रोपिएर शुक्रनाथको एउटा आँखो खराब भएको थियो I यसरी अनुहारमा चेचकको दागले विरूप भएको शुक्रनाथ आँखो समेत फुटेपछि झन् ‘अभागी’ मा परिणत भएको थियो I शारीरिक रुपमा ठगिएको बालकलाई उल्टै खिसी गर्दै हाँसोको पात्र बनाइंदा उसमा विद्रोही भावनाको विकास हुनु स्वाभाविकै थियो I

आधा रात बित्यो I तर बाबु – छोराबीचको भनाभन झन् बढेर गयो I बाबु बुधनाथले भनेका थिए – ’खिदिमतिरकी गोतामेकी छोरीसँग तेरो विवाह हुने पक्का भएको थियो I राजा नेपाल गएपछि म तानसेनतिरै झमेलामा परें I अहिले मेरो नोकरी खोसिएको थाहा पाएपछि छोरी नदिने भए भन्ने खबर आयो I तँलाई मैले छेकटे बनाएको हुँ ? कि तेरो आँखो मैले फोरिदिएको हुँ ? अघि मेरो शक्ति र धन देखेर दिन आए, अहिले मेरो सिङ फुक्लेको थाहा पाएर पछि हटे I अब तेरो विवाह हुन मुस्किल छ I’ बाबुको तिरष्कारपूर्ण वचन सुनेपछि शुक्रनाथले भनेको थियो – ’त्यसो भए म जस्तो अभागी बाँच्नुभन्दा मर्नु ठीक ! हैन त बा ? म मर्न जान्छु I’ बाबुले भने -’हेर् बाबै ! म आफै बर्बाद भएको छु I मलाई पनि तेरै चिन्ता छ I मर्न जान्छु भनेर धम्क्याउन आवश्यक छैन I’

रिसले फन्केर बाहिर निस्क्यो शुक्रनाथ I बुधनाथ ‘हरेराम ! मलाई कुन पापको सजाय दिंदै छौ’ भन्दै त्यहीँ मझेरीको गुन्द्रीमा पुर्लुक्क पल्टे I शुक्रनाथकी आमा उसको पछिपछि बाहिर निस्किन् I घोर अन्धकारमा शुक्रनाथ ल म मर्न गएँ भन्दै नाम्लो काँधमा हालेर कुलेलम ठोक्यो I बाबु -आमा अगुल्टो लिएर उसको पिछा गर्न थाले I छिमेकीलाई हारगुहार गरे तर अगुल्टो निभेपछि छिमेकीहरु फर्के I बुधनाथ घर फर्केर दियालो लिई छोराको खोजीमा निस्के, तर शुक्रनाथ कतै फेला परेन I

भोलिपल्ट गाउँका मानिसहरुले वनभरि फैलिएर शुक्रेलाई खोजे I खोज्दै जाँदा एउटा ठूलो धार्नेको रुखको हाँगो भाँचिएर झरेको देखियो I शुक्रेले लिएर हिंडेको नाम्लोको एउटा छेउ हाँगामा बाँधिएको थियो I मानिसहरुले वरिपरी हेर्दा घाँस र झाङमाथि घिसारेको गोहो देखियो I

++++++++++++++++

आज फेरी सारा गाउँलेहरु सानीकाफ्लीको चौपारीमा जम्मा भएका छन् I जम्मा हुनुको कारण दु:खद भए तापनि परिणाम सुखद हुने पक्का थियो I विशेष गरेर केटाकेटीहरु झनै खुसी थिए I त्यहाँ ठूलो ताउलोमा बोकाको मासु पाकिरहेको थियो I

करिब एक हप्ता अघिको कुरा हो I चार पाँच जना युवकहरु वर्षा याममा आवश्यक पर्ने दाउराको जोहो गर्न सल्लाको हाँगा काट्न वनतिर जाँदै थिए I जोसिला र बलिया बीसे बाइसे युवकहरु बाघ आए पनि ‘कान समातेर उठबस गराउन सक्छु’ जस्ता गफ लाउँदै तलतिर झर्दै थिए I I तर एक ठाउँमा पुगेपछि उनीहरु के देख्छन् भने एउटा चिलौनीको रुखमा नरकङ्काल झुन्डिएको छ I चैते बतासको बेगमा यस्तो प्रतीत हुन्थ्यो कि कङ्काल बडो आनन्दले पिङ खेलिरहेछ I सबै युवकहरु हल न चल भएर थचक्कै बसे I

थोरै अघिसम्म निकै फुर्ति गर्ने केटाहरु एकै ठाउँमा गोलो भएर बसे I हुरीको उराठलाग्दो ध्वनिबीचको वातावरण नरमाइलो थियो I यसैबीच एकजनाले भन्यो – ‘मैले त शुक्रे रोएको सुनें I हामीले शुक्रेलाई हेपेको र हेला गरेको फल हो यो I हेर केटाहरु हो ! शारीरिक रुपले कमजोर व्यक्तिलाई हेला र खिसी गर्ने काम कहिल्यै नगरौं है अबदेखि I’

उनीहरुले समवेत हनुमानचालिसा गाउन थाले I युवकहरु अरु कुनै पनि वाह्य आवाज सुन्न नसकिने गरी गाउँदै फर्के I

कङ्काल देखिनु ठूलो अपसकुन थियो I त्यसको समनका लागि सानो तिनो अनुष्ठानले साध्य नहुने हुँदा जगरे धामीले हुर्केको बोका बलि दिनुपर्ने बताए I आज बोका बलि दिएर टाउको सल्लेरीमा छाड्ने सल्लाह भए बमोजिम जगरे समेत मन्त्र पढ्दै वनमा गए I आज त्यही बोकाको मासु पाक्दै छ चौतारीमा I

ठूलै बोका काटेर टाउको दिएको हुँदा अब तत्काललाई भूतको कहरबाट छुटकारा पाइनेमा सबै विश्वस्त थिए I तर दुर्भाग्य ! ठूलो हुरीमा उड्दै आएको एउटा काग मासु पकाइरहेको ताउलोमा खस्यो I यो झनै ठूलो अनिष्ट थियो गाउँको लागि I जगरे धामी फेरि ध्यानमा बस्यो I ध्यान सकेपछि उसले ठूलो स्वरले मन्त्र पढ्यो I धामीले भन्यो – ’विगत केही दिनभित्र कसैको घरमा भूत आएको हुनुपर्छ I ल भन ! कसको घरमा आएको थियो भूत ?’ सबैजना चुप लागिरहे I जगरिले फेरी भन्यो – ‘यस्तै ताल हो भने म तिमीहरुको गाउँ नै टेक्दिन I’

अलि पर एकजना बूढीआमा बसिरहेकी थिइन् I उनी विस्तारै अगाडि बढ्दै जगरेको छेउमा आएर बसिन् I आमाले भनिन् -’मेरो बुकुरोमा आएको थियो भूत ! सरासर भित्र पसेर भन्यो – ‘आमै भोक लागो केही खान देऊ I’ मैले – ‘मकैको रोटो हालेकी छु खान्छस् ?’ भन्दै भुइँमा राखेको पिर्का देखाइदिएँ I कालो लुगा लाएको, लामो लट्टा पालेको, वीभत्स अनुहार, एउटो खुट्टो लुलो, टेक्न नमिल्ने I दाउराको बैसाखी टेकेर आएको थियो I ऊ पिर्कामा बस्यो I तर म बेहोसीले तातो ताबा पिर्कामाथि राखेको भुसुक्कै बिर्सेंछु I भूत आच्छु नि बाबा, चेतबाबा काशी भन्दै उठेर भाग्यो I’

एक दिनको कुरा ! भर्खरै साँझ पर्दै थियो I आदित्यको घरमा ठूलो आवाजमा भयभीत हल्ला भएको सुनियो I महिला, पुरुष र केटाकेटी सबै भूत भूत ! भन्दै भागाभाग गरिरहेका थिए I सबै गाउँलेहरु अगुल्टो लिएर आदित्यको घरतिर दौडे I किन्तु त्यहाँ भूत थिएन, सबै शान्त र यथावत थियो I गाउँलेहरुले मिटिङ गरे I ‘आदित्यले भन्यो – ‘अब जगरेबाट केही हुँदैन I एकपल्टलाई जति सुकै खर्च भए पनि होस्, मुझुंङबाट जगल्टे धामीलाई मनाएर ल्याउनु परो I’

त्यसै राति वनमा I सानो भूत लुसुक्क ओडारमा पस्यो I ठूलो भूत भर्खरै सुत्ने तरखरमा रहेछ I सानो भूतलाई देखेपछि भन्यो – ‘काँ गाथिस ?’

सानो भूत – गाउँतिर I

ठूलो भूत – केन गाथिस ?

सानो भूत – घरको माया लागो I तर अगुल्टो लिएर लघारे I

ठूलो भूत – भूतले कसैलाई माया गर्नु हुँदैन I

सानो भूत – भूतको पनि त मन हुन्छ नि !

ठूलो भूत – मन त हुन्छ, तर भूत मन हुन्छ  मान्छे मन त हुँदैन नि !

सानो भूत – तिमी कसको भूत हौ ?

ठूलो भूत – म टोंड्के दर्लामीको माइलो छोरो ढोंडे हुँ I सोह्र वर्षको हुँदा मलाई कोर भयो I अब यसले सबैलाई कोर सार्छ भनेर छि:छि: गर्न थाले I गाउँलेहरु धेरै कराउन थालेपछि बाले मलाई यही वनको छेउमा छाप्रो हालेर राखे I कोरले मेरो नाक कुहेर खस्यो, खुट्टाका औंला झरे  हातका धेरै जसो औंला पनि झरे I आमा मरेपछि मलाई खान दिन छाडे I छाप्रो पनि चुहुन थाल्यो I एक दिन म भोकले व्याकुल भएर मरेंछु I मरेपछि मलाई कसैले यो ओडारमा मासु – भात खान दियो I भात खाएर ज्यानमा केही तागत आएपछि मैले सोधेँ – ‘तिमी को हौ ?’ उसले भन्यो – ‘म भूत हुँ, अब तँ पनि भूत भइस I अगति परेर मर्ने सबै भूत हुन्छन् I’

यो कङ्काल छ नि ! हो त्यही भूतको हो I त्यो भूतले मेरो धेरै सेवा गर्यो I ऊ बेला बेलामा रातिको बेला बेस्सरी कराउँथ्यो I खास गरेर गाउँलेहरु जात्रा – मेलामा रातिको समयमा बाहिर निस्केको मौका पारेर कराउँथ्यो ऊ I म पनि ओडारमा बस्न थालेपछि भूत भएँ I बूढो भूत मरेपछि मैले खाल्टो खनेर गाडें I मरेको एक वर्ष पुगेपछि साह्रै माया लागेकाले खाल्टो उधिनेर हेरें I हड्डी मात्र बाँकी रहेछ I मैले कङ्काललाई झिकेर भित्तामा ठड्याएर राखें I अहिले पनि गाउँलेहरुले टेर्न छाडे भने यही कङ्काल लगेर चिलौनीको रुखमा झुण्ड्याउँछु, अनि प्रशस्त खानेकुरा आउँछ I कहिले काहीँ मानिसको नाम लिएर खान्छु, मार्छु, ब्या गर्छु जस्ता कुरा भनेपछि डराएर खानेकुरा, लुगा, नून, तेल, चामल सबै आउँछ I यति पनि नबुझ्ने तँ कस्तो मूर्ख हँ ?’

सानो भूत – म कसरी भूत भएँ ? म मरेपछि के के भयो ?

ठूलो भूत – तँलाई कहिलेसम्मको कुरा सम्झना छ ?

सानो भूत – मलाई धार्नेको रुखमा चढेर पासो लगाएको मात्र याद छ I

ठूलो भूत – हो I बिहान कुखुरा बास्ने बेला हुन लागेको थियो I मैले अलि पर मानिस छटपटाउँदै उहुँ उहुँ गरेको सुनें I म आवाजतर्फ़ अगाडि बढ्दै गएँ I तँ घस्री घस्री थोरै वरसम्म आएको रहेछस् I मैले तेरा हातखुट्टा तानतुन गरेर हेरें I दाहिने घुँडो फुत्केको रहेछ I तँलाई होस् आउन चार दिन लागो I

सानो भूत – त्यसो भा हामी भूत हैनौं ? मैले त म पासो लाएर मरेपछि भूत भएँ भन्ने ठानेको थिएँ आजसम्म I

ठूलो भूत – हेर् शुक्रे ! हामी भूत नै हौँ I हामी भूत नभएको भए कोही किन डराउँथ्यो ?

Tags :
प्रतिक्रिया दिनुहोस