डोटी । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले नेपाल प्रहरी आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ बहन गरिरहेको बताएका छन् । विश्वव्यापी महामारी कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढिरहेको अवस्थामा नेपाल प्रहरी फ्रन्टलाईनमा बसेर आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरिरहेको सिंहले बताए ।
‘अरूको तुलनामा स्वास्थ्यकर्मी र प्रहरीलाई बढी जोखिम छ, सीमावर्ती क्षेत्रबाट प्रवेश गर्दा देखि नै प्रहरीको जिम्मेवारी सुरु हुन्छ, डाटा सङ्कलन गर्ने, नाम ठेगाना अद्यावधिक गर्ने, त्यहाँबाट सम्बन्धित पालिकासम्म पुर्याउने, क्वारेन्टाईन स्थलको सुरक्षा गर्नेसम्म जिम्मेवारी नै प्रहरीको हो,सिंहले भने,‘ प्रहरी आफ्नो जिम्मेवारीबाट पन्छिने, पछि हट्ने अवस्था हुँदैन, अत्यधिक सजकता र सतर्कता अपनाएर उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी बहन गरिरहेको र आगामी दिनमा पनि गर्ने छ ।’
२०६७ चैत्र ११ पश्चात् नेपाल र भारतका विभिन्न सीमावर्ती क्षेत्रका विभिन्न नाकाहरूबाट १ लाख ६३ हजार आठ सय नागरिक सुदूरपश्चिममा प्रवेश गरेका थिए । जसमा सोमबारसम्म ५ हजार ६ सय ८० जनामा कोरोना भाइरस संक्रममण देखिएको थियो । जसमा ४ हजार ८ सय ३९ जना उपचार पश्चात् निको भएर घर फर्किसकेका छन् भने ८ सय ८ जना विभिन्न अस्पतालका आइसोलेसन सेन्टर, स्वास्थ्य केन्द्र, र स्थानीय तहले तयार पारेका आइसोलेसन केन्द्रमा उपचार भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा सोमबारसम्म २८ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमा १४ जना उपचार पश्चात् निको भएर डीउटी स्टेसन गइसकेका र १४ जना प्रहरीको उपचार भइरहेको । सबैको अवस्था सामान्य रहेको वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताए ।
‘दिनानुदिन बढिरहेको कोरोना सङ्क्रमणबाट बच्न हामी सबले म भन्दा बाहेक जोजती छन् सबै सङ्क्रमित छन्, सुरक्षाकर्मीले भन्ने गरेका सबै कुराहरू हाम्रो लागि नै हो, भन्ने सोच राख्नुपर्छ, जुन वडा, पालिका र जिल्लाले गरेको लकडाउन हामी सबैले पूर्णरुपमा पालन गर्नुपर्छ, त्यसपछि मात्र हामी कोरोनाबाट बच्न सक्छौँ’ सिंहले भने । नेपाल सरकारले कोरोनाबाट प्रहरी कर्मचारी सङ्क्रमण भएको अवस्थामा १ लाख बिमाको व्यवस्था गरेकोले प्रहरीलाई सहुलियत हुने बताए ।
सुदूरपश्चिममा हालसम्म कोरोना सङ्क्रमणको कारणले १३ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २ जना महिला ८ जना पुरुष र ३ जना बालबालिका रहेका छन् ।
सुदूरमा आत्म हत्या गर्नेको सङ्ख्या वर्षेनी बढ्दो
विगत पाँच वर्षको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा आत्म हत्या गर्नेको सङ्ख्या वर्षेनी बढ्दै गएको देखिएको छ ।
आर्थिक वर्ष २०७२/०७३ देखि ०७६/०७७ सम्मको तथ्याङ्क हेदा दुई हजार तीन सय ८८ ले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७२/०७३ मा यस प्रदेशमा चार सय ५६ जनाले आत्महत्या गरेका थिए । ०७३/०७४ मा यो सङ्ख्यामा थोरै कमी आएको देखिन्छ । त्यस आर्थिक वर्षमा चार सय ३६ जनाले आत्महत्या गरेका थिए । ०७४/०७५ मा चार सय ७०, ०७५/०७६ मा चार सय ७५ र गत आर्थिक बर्वामा पाँच सय ५१ ले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष ०७५/०७६ को तथ्याङ्क हेर्दा आत्महत्या गर्नेहरूमा झुन्डिएर आत्म हत्या गर्नेको सङ्ख्या झन्डै ७५ प्रतिशत अर्थात् चार सय १३ रहेको छ । यस्तै विष सेवन गरेर एक सय २३, हाम फालेर नौ, पानीमा हाम फालेर पाँच र हात हतियार औजारको प्रयोग गरेर एक जनाले आत्म हत्या गरेका छन् । आत्म हत्या गर्नेमा दुई सय ६३ महिला र दुई सय ८८पुरुष रहेका छन् । जसमा ६७ बालबालिकाहरू समेत रहेको वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी कैलालीमा रहेका छन् । यस जिल्लामा एक वर्षमा दुई सय २३ जनाले आत्महत्या गरेका छन् । कैलालीमा झुन्डिएर एक सय ७९ र विष सेवन गरेर ४४ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा यस जिल्लामा एक सय ९८ ले आत्महत्या गरेका थिए ।
यस्तै कञ्चनपुरमा एक सय ५८ जनाले आत्म हत्या गरेका छन् । यस जिल्लामा झुन्डिएर ९६ र विष सेवन गरेर ६२ जनाले आत्महत्या गरेका छन् । गत वर्ष यो जिल्लामा २०७५/०७६ मा एक सय ३३ जनाले आत्महत्या गरेका थिए ।
प्रदेशका सात पहाडी जिल्लाहरू मध्ये आत्म हत्याका घटना सबैभन्दा बढी डोटीमा भएका छन् । यस अवधिमा डोटीमा२० पुरुष र ११ महिला गरी ३१ जनाले आत्महत्या गरेका छन् । आत्म हत्या गर्नेमा चार बालबालिका समेत रहेका छन् । झुन्डिएर २२, हाम फालेर पाँच, पानीमा हाम फालेर दुई, विष सेवन गरेर एक र हातहतियार औजारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेका हुन् । २०७५/०७६ मा डोटीमा २८ जनाले आत्म हत्या गरेका थिए ।
यस्तै बझाङ जिल्लामा १७ महिला र १० पुरुष गरी २७ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा यस जिल्लामा आत्म हत्या गर्नेको सङ्ख्या १२ मात्रै थियो । झुन्डिएर २२, विष सेवन गरेर चार र पानीमा हाम फालेर एक जनाले आत्म हत्या गरेका हुन् ।
डडेल्धुरामा १४ पुरुष नौ महिला गरी २३ जनाले आत्म हत्या गरेका छन् । यस जिल्लामा झुन्डिएर १५, विष सेवन गरेर ६ र पानीमा हामफालेर दुई जनाले ज्यान लिएका छन् । डडेल्धुरामा २०७५/०७६ को भन्दा गत वर्ष आत्म हत्याका घटना कम भएका छन् । २०७५/०७६ ३२ जनाले आत्म हत्या गरेका थिए ।
अछाममा १२ पुरुष र ११ महिला गरी २३ जनाले आत्म हत्या गरेका छन् । झुन्डिएर २२ र विष सेवन गरेर एक जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा यो सङ्ख्या १९ थियो । दार्चुलामा ११ पुरुष र १२ महिलागरी २३ जनाले आफ्नो ज्यान आफै लिएका छन् । झुन्डिएर १९, हाम फालेर तीन र विष सेवन गरेर एक जनाले आत्महत्या गरेका हुन् । यस जिल्लामा २०७५/०७६ मा १९ को ज्यान गएको थियो ।
बाजुरामा एक वर्षमा महिला १४ र पुरुष सात गरी २१ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर २० र विष सेवन गरेर एक जनाले आत्म हत्या गरेका हुन । ०७५/०७६ मा बाजुरामा १० जनाले आत्महत्या गरेका थिए । यस्तै बैतडीमा सातपुरुष र १५ महिला गरी २२ जनाले आत्म हत्या गरेका छन् । यस जिल्लामा २०७५/०७६ मा २४ जनाले आत्म हत्या गरेका थिए । झुन्डिएर १८, विष सेवन गरेर तीन र हामफालेर एक जनाले ज्यान लिएका हुन् ।
आत्म हत्या र आपराधिक घटनाहरू रोकथामका लागि प्रहरीले बेला बेलामा सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको सिंहले जानकारी दिए । उनले अन्य सामाजिक संघसंस्थाहरुले पनि प्रभावकारी रूपमा समाजमा सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिदिनु पर्ने बताए ।