कोरोना कहर र शिक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना कहर र शिक्षा


१२ भाद्र २०७७, शुक्रबार


कोरोनाको कहरले १९१ देशका झन्डै २ अरब भन्दा बढी बालबालिकाको शिक्षा पाउने अधिकारमा प्रभाव पारेको छ । नेपालको सन्दर्भमा भन्दा यसले ७०लाख २१ हजार भन्दा बढी विद्यार्थीहरूलाई विद्यालय तहमा र उच्च शिक्षामा ५ लाख २६ हजार विद्यार्थीहरू प्रभावित भएका छन् । युनेस्कोले कोरोना लकडाउन खुलेपछि पनि झन्डै १ करोड बालबालिकाहरू कहिल्यै नफर्किने गरी विद्यालय शिक्षाबाट हराउने दाबी गरेको छ । यस्ता हराउने बालबालिकाहरू हाम्रो जस्ता देशहरूका बढी हुने युनेस्कोले दाबी गरेको छ ।

कोरोना पछिको शिक्षामा हाल भएका मूल्य मान्यताहरू जस्ताको तस्तै आउने कुरामा शिक्षाविद्हरुले शंका व्यक्त गरेका छन् । सबैको लागि शिक्षा जस्ता विश्वव्यापी अभियानहरूले धेरै भन्दा धेरै बालबालिकाहरूलाई विद्यालय शिक्षामा जोडेको भए पनि अबको पाटो के हुने र विद्यालयमा नफर्किने भनिएका १ करोड बालबालिकाहरू र यस्तै परिस्थितिका ध्यान पुराउन नसकेमा हराउने बालबालिकाहरूको संख्या समेत कैयन करोडको गन्तीमा आउन सक्दछ । नेपालमा २०७४ सालमा विद्यालय बाहिर रहेका ९२५९८ बालबालिकाहरू मध्ये २०७५ सालमा भर्ना अभियानमा ५३३०९ जना पुन विद्यालयमा भर्ना गराएको पाइन्छ ।

सामान्य अवस्थामा समेत नेपालमा ५० देखि ६० हजार बालबालिकाहरू विद्यालय बाहिर रहेको पाइन्छ । यस वर्षको कोरोना कहरको कारणले यत्तिकै संख्यामा बालबालिकाहरू थप हुने हुन की भन्ने आशंका समेत गरिएको छ । कोरोनाले हामीमा हानी मात्र नगरी केही अवसरहरू समेत प्रदान गर्ने पूर्वानुमान लगाउन सकिन्छ । कोरोनाले शिक्षा क्षेत्रमा केही सकारात्मक अवसर तथा असरहरू पनि देखाएको छ ।

सकारात्मक असरहरुः
1. शिक्षाका आधारभूत मान्यताहरूमा समेत फेरवदलः विद्यालय‚ शिक्षक‚ पाठ्यक्रम‚ पाठ्यपुस्तक‚ क्रेडिट आवर र परीक्षालाई पुन परिभाषित गरी नयाँ नम्सहरु बन्नु पर्ने भयो । सिक्न अव विद्यार्थी शिक्षकको जाने भन्दा शिक्षक विद्यार्थीकोमा जाने परम्पराको सुरुवात भएको छ । घरमा बस्दा बालबालिकाले सिकेका कामहरूको पनि शैक्षिक क्रेडिट दिने प्रचलनको सुरुवात हुनेछ । होम स्कुल‚ सिकाइ केन्द्र तथा टोल टोलमा शिक्षकहरू विद्यार्थी खोज्दै जाने प्रचलन सुरु भएको छ । विद्यार्थीहरूले आफ्नै टोल छिमेकमा नयाँ शिक्षकहरूबाट सिक्ने वातावरणको प्रवर्द्धन हुनेछ । परीक्षा नै सञ्चालन नगरी नतिजा प्रकाशन समेत भएको छ । विद्यालयको मूल्याङ्कनलाई वैधानिकता दिइएको छ । कोभिड पछि शिक्षा पद्धतिमा चाँइचुई नगरी बदलिई नवप्रवर्द्धन तथा नयाँ मान्यताहरूलाई समात्नै पर्दछ ।

2. शिक्षकहरूको क्षमता विकास कम्प्युटरको की बोर्ड नछोएका शिक्षकहरू समेतले लकडाउनको समयमा क्षमता विकास गरी अनलाइन मिटिङ र अनलाइन शिक्षण सुरु गर्नु भएको छ । शिक्षकहरूले प्रविधिमैत्री शिक्षक नेटवर्क समूहहरू गठन गरेर प्रविधिमा क्षमता बढाइरहनु भएको छ र यो र यस्ता नेटवर्कहरूमा सदस्य सङ्ख्यामा बढोत्तरी भएको छ। प्रविधि र परम्पराको मेल गराई पढाउन सक्ने शिक्षक र स्कुलहरूले समाजमा उनीहरूको महत्त्वपूर्ण भूमिकाको लागि बढी आदर, प्रशंसा र समर्थन प्राप्त गर्नेछन् र यसबाट चल्न नचाहनेहरूले केही दबाबका कार्यक्रम गरेर राजनैतिक संरक्षण लिने प्रयास गरे पनि अन्ततः विफल भएर शिक्षणको मैदानबाट कुलेलम ठोक्नेछन् । शिक्षणको मैदानमा टिकेका शिक्षकहरूले गुणस्तरीय शिक्षण र शिक्षण सामग्रीहरू अझ राम्रो तरिकाबाट उत्पादन तथा सङ्कलन गरी व्यापक रूपमा शिक्षण सिकाइलाई जीवन्त बनाउँदै कक्षाकोठा वा घरमा पनि शिक्षकसँग अन्तरक्रिया गर्ने गरी प्रयोगहरू गरेका हुनेछन्। शिक्षकको माझमा एकआपसमा सहयोगको भावना बढ्नेछ र यसले सिकाई सुधार गर्न मद्दत गर्नेछ ।

3. अबको सिकाइ फेस टु फेस र भर्चुअलको मिश्रित रुपः अब परम्परागत शिक्षण विधि र प्रविधिजन्य विधिको मिश्रित रूपमा शिक्षण हुने अवसरको सिर्जना हुनेछ । प्रमाणपत्र र त्यसमा राम्रा राम्रा ग्रेड दिने शिक्षा भन्दा जीवनोपयोगी सीप प्रदान गर्ने शिक्षा बनाउने प्रयासहरूको सुरुवात हुनेछ । शिक्षक र शिक्षाविदहरुले वैकल्पिक सिकाइका धेरै तरिकाहरू ल्याउनेछन् । अबको सिकाइमा शिक्षक पथप्रदर्शक र विद्यार्थी सक्रिय सिकारु बन्नेछन् । विद्यार्थीहरूमा सिकाइको भोक जाग्नेछ र शैक्षिक पद्धति नवप्रवर्द्धन तर्फ उन्मुख हुनेछ ।

4. जिम्मेवारीवोधः कोरोना लकडाउनले स्थानीय सरकारहरूलाई माध्यमिक तहसम्मको जिम्मा आफ्नो भएको कुरालाई स्थानीय सरकारहरूले आत्मसातीकरण गरेका छन् । अनलाइन कक्षा‚ एफ.एम. रेडियो‚ टोल टोलमा शिक्षा‚ स्वयंसेवक शिक्षक‚ सिकाइ केन्द्रहरू‚ सिकाइ सामग्रीको छपाई तथा वितरण‚ क्वारेनटाइन तथा आइसोलेसन सेन्टरुहरुको मर्मत सम्भार तथा निसंक्रमणीकरण जस्ता क्षेत्रहरूमा जिम्मेवारी बोध गरेको पाइएको छ । केन्द्रीकृत मानसिकता र सोचमा परिवर्तन गरी स्थानीय तहलाई स्रोत र साधन व्यवस्था गरी जिम्मेवारी दिएमा कैयन स्थानीय तहहरूले महामारीमा शिक्षाको व्यवस्थापन गर्न सक्दछन् ।

5. वैकल्पिक शिक्षा माध्यमको प्रयोग कोरोनाको लकडाउनमा वैकल्पिक शिक्षा माध्यमको प्रयोग बल्ल भएको छ । सिकाइ अव विद्यार्थीहरूमा आत्म केन्द्रित तथा आत्मबिश्लेषणमा आधारित भएको हुनेछ । विद्यार्थीहरूले अझ पढेर सिक्ने तथा जान्ने वातावरण स्थापित हुनेछ ।

6. सिकाइ साँघुरो घेराबाट व्यापकता शिक्षाले एउटा देश वा राष्ट्रवादलाई समेट्नु भन्दा एक अर्काको सहयोगमा कसरी बाँच्ने भन्ने विषयमा खोजी गर्नुपर्ने खालको आवश्यकता औँल्याउने छ । यो संकटले हामीलाई सिमाना पारबाट राम्रा क्रियाकलाप र अभ्यासहरू सिक्न र आफ्ना राम्रा कामहरूलाई सिमाना पारी पठाउन समेत मद्दत गर्नेछ। सिकाइको विश्व व्यापी करण हुनेछ ।

7. जीवनोपयोगी सीपहरूको विकास अबका पाठहरूमा कुखुरी काँ… खै खोलो सुक्यो भन्ने पाठहरू होइन कुखुरी काँ‚ कसो गरी खाँ‚के के गर्दा मुख आँ‚ के के गर्दा मुख बाँ भन्ने किसिमबाट पढाउनु पर्ने आवश्यकताले विद्यार्थीहरूमा जीवनोपयोगी सीपहरूको विकास हुनेछ । जीवनोपयोगी सीपहरू भन्नाले जीवन जिउनका लागि सामाजिक सीप‚सञ्चार सीप‚ अन्तर वैयक्तिक सीप‚ नवप्रवर्तन जस्ता सीपहरूलाई बुझाउँदछ ।

8. अभिवादनमा नेपाली वा पुर्वीयपनः बदलिँदै गरेका हाम्रा अभिवादनका हेलो‚ हाय‚ हेण्डशेक अव नेपाली नमस्कारमा बदलिएको छ । कोरोना कहर पछि समेत यसले निरन्तरता पाउने छ ।

9. अङ्ग्रेजी भाषाका केही शब्दहरू नेपाली जस्तै भए क्वारेनटाइन, आइसोलेसन, स्वाब, पीसीआर, कनट्र्याक्ट ट्रेसिङ, आउट ब्रेक‚ मास्क‚ सर्जरी मास्क‚ वेभिनार आदि ।

नकारात्मक असरहरुः
1. विद्यार्थीहरूको समयको बरवादी कोरोना कहरको कारणले विद्यार्थीहरूको समयको बरबादी भएको छ । ७० लाख बालबालिकाको १०० दिन गुमेको मान्दा ७० करोड दिन वर्वाद भैसकेको छ । हुन त केही बालबालिकाहरूलाई अनलाइन‚ रेडियो‚ टेलिभिजन लगायतका सहयोगले यो समयमा केही कमी आउन सक्दछ । यस्तै समय लम्बिँदै गएमा कतै शैक्षिक सत्र नै घाटा हुने त होइन भन्ने आशङ्काहरू समेत उठाउन थालिएको छ ।

2. शिक्षकहरूको प्रतिबद्धता समान नहुनु लकडाउनको समयमा केही शिक्षकहरूले डाँडाकाँडा भिर पाखा नभनेर होम भिजिटमा कतै वैकल्पिक सेन्टरमा वा घरघरमा गएर पढाउने शिक्षकहरू पनि पाइनु भएको छ भने कतै पढाइका कुनै पनि कुरा अगाडि बढाउनु हुँदैन‚ हामीलाई यो चाहियो‚ ऊ चाहियो भनेर नेतालाई गुहार्दै र प्रशासकलाई घुर्की लाउने शिक्षक साथीहरू पनि भेटिनु भएको छ । सामान्य अवस्थामा त शिक्षकको प्रतिबद्धता नभए शिक्षण सिकाइ एक पाइला अगाडि बढाउन कठिन हुन्छ भने यो अवस्थामा सबै शिक्षकहरू बराबरी रूपमा लागि नपर्दा वैकल्पिक शिक्षा प्रणाली समेत धरापमा परेको छ ।

3. सामाजिक खाडल गहिरिदैः संरक्षण र विशेष शिक्षा दिनुपर्ने बालबालिकाहरूको सिकाइ चुनौतीपूर्ण हुदैछ । डिजिटल सिकाइले समाजमा अझ ठुलो खाडल खनिदिनेछ । हुने नहुने‚ धनी गरिब‚ सुगम दुर्गम‚ नजिक टाढा बिचमा प्रविधि प्रयोगमा भएका बाधा किन्न र चलाउन सक्ने क्षमताको विकास गरौँ । विद्यालय बन्द भएर पछि खुला हुँदा जान्ने र नजान्ने तथा हुनेखाने र हुँदा खानेका बिचमा रहेको खाडल अझ गहिरो भएर गएको हुनेछ । हुँदा खानेहरूले शिक्षाका लागि प्रविधि खरिद गर्न नसक्दा वाल मनोविज्ञानमा असमानता विरुद्धको रोष पैदा हुनेछ जसले भविष्यमा हिंसात्मक गतिविधिमा धकेल्न सक्दछ । नेपाली अधिकांश विपन्न बालबालिकालाई हाल गरिएका कुनै पनि प्रयासहरूले छुन सकेका छैनन् । यहाँ एउटा अवस्थाको कल्पना गरिएको छ: माछा मार्न हिँडेको रामे ‚ माछा नभेटेर भ्यागुतो छोप्यो । स्कुलको आफ्नो नाम पनि बिर्स्यो‚ स्कुलैको नाम पनि हरायो । सर मिसहरूको अनुहार पनि बिर्स्यो । गत महिना स्कुलबाट आँबैले ल्याई दिएका किताप कुनामा फालेको बाख्राले चिथोरेछ । अझै पुगेन भनेर छुचुन्द्राले गुड लाएछ भनेर उस्की बहिनीले जिस्काउँदी थिई । यो अवस्था काल्पनिक भए पनि यथार्थ हुन सक्दछ ।

4. निजी स्कुलको डर सामुदायिक विद्यालयहरू निजी भन्दा अलि फराकिला छन् र सामुदायिक विद्यालयमा पढ्न आउने विद्यार्थीहरू सामान्यतया यातायातका साधनहरू प्रयोग गर्दैनन् । लकडाउन खुकुलो पारेर विद्यालय खोल्न दिइयो भने यातायात नचल्दा निजी स्कुलहरू सञ्चालन हुन कठिन छ । यस्तो अवस्था नआओस् भन्ने निजी स्कुलहरूको डर छ भने सामुदायिक विद्यालयहरूमा क्वारेनटाइन/आइसोलेसन केन्द्र रहेको अवस्था अहिले सम्म हुँदा निजी खुल्लान् की भनेर आत्तिने सामुदायिक विद्यालयहरू पनि केही रहेकाछन ।

5. केही दिन मात्र टिक्ने गरेका वैकल्पिक उपाय लक डाउन पछि हामीले प्रयोगमा ल्याएका वैकल्पिक शिक्षणका तरिकाहरू छोटो समयमा नै बदलिरहेका छौँ । हाम्रा शिक्षकहरू तथा शिक्षाविदहरुले वैकल्पिक सिकाइका धेरै तरिकाहरू ल्याउनु भयो तर तिनीहरूको राम्रोसँग विद्यार्थीहरूलाई समेट्न र सिकाउन नसकेको अनुभूति गरेर हो वा अन्य कारणहरूले गर्दा हो यी उपायहरू छिटो छिटो अदलाबदली भइरहेको छ । सुरुमा अनलाइनको रट लगाइयो‚ त्यस पछि टी.बी.‚ त्यस पछि रेडियो‚ सिकाइ केन्द्र‚ घर वा टोलमा शिक्षा आदि ।

6. देशभर हेर्ने एउटै चश्माः विपदमा शिक्षा एक खालको हुँदैन भन्ने कुरा नबुझ्ने सरकार र बल्याङकेट अप्रोचमा एकै देख्ने सङ्घीय चस्मा रहेको पाइएको छ । सङ्घले देशैभर एकै खाले निर्देशन(?) दिने गरेको छ । यो ७५३ स्थानीय तहको लागि अनुपयुक्त हुन सक्दछ । तलको कुरा सुन्ने वा नि अझै माथिल्लो सरकारमा नभएको हो की सुनेर पनि नसुनेको बहाना भएको हो पत्ता लगाउन कठिन भएको छ ।

7. अधिकार क्षेत्रको प्रश्न विद्यालय तहको शिक्षाको जिम्मा स्थानीय सरकारलाई भनिएको भए पनि हालको अवस्थामा स्कुल खोल्ने‚ बन्द गर्ने वा कस्तो वैकल्पिक परिपाटी चलाउने जिम्मा स्थानीय सरकारलाई दिइएको छैन ।यो अधिकार दिँदा के आकाश नै खस्ला र ? अधिकार कतै पोखिने पो हो की भनेर सजग बनेको सङ्घीय सरकार र यही मौकामा केही झर्ला की भनेर साँढेको पछि दौडिने प्रदेश र स्थानीय मानसिकता वेभिनारहरुमा छर्लङ्ग देख्न पाइन्छ ।

8. काम भन्दा हल्ला रुचाउने विकास साझेदार ७० लाख विद्यार्थीका औसत ६ वटा पुस्तक मान्दा ४ करोड २० लाख पुस्तकहरू चाहिने ठाउँमा पुग नपुग १ लाख सन्दर्भ सामग्री बाँड्दा शिक्षाको आकाशै थामेको जस्तो गर्ने विकास साझेदारहरूले यो अवस्थामा आफ्नो क्षमता अझ बढाउनु आवश्यक छ ।

9. कतै बालबालिकाहरूलाई बोझैबोझःसानो संख्याका बालबालिकाहरूलाई घरमा त ड्याडी‚ ममी‚ दादा‚दिदी‚बाजे‚ बज्यै सबै शिक्षक भएर सिकाउने‚ अझ यस माथि स्कुलको अनलाइन कक्षा‚ युट्युब र टिबीमा कक्ष कक्षामा हुनु पर्ने अवस्था सिर्जना गरिएका घटनाहरू समेत देख्न र सुन्न पाइन्छ । लकडाउन नहुँदा स्कुल मात्र थियो‚ अहिले यो बोझ बढेर चार गुणा भएको छ ।

अबको बाटो
कोरोनाको कहर हटोस् । विद्यालयहरू खुलुन् र विद्यार्थीहरू विद्यालयमा ड्रप आउट नभै पुन जाउन् । विद्यार्थीहरूको गुमेको समय पाठ्यक्रम वा क्रेडिट आवर घटाएर वा पढाइको समय बढाएर वा वैकल्पिक शिक्षामा खर्चेको समय हिसाब गरेर सोध भर्ना होस । शिक्षकहरू बालबालिकाको सिकाइका लागि जिम्मेवार बनुन् । वैकल्पिक शिक्षामा डिजिटल वा अन्य माध्यमले धनी र गरिब भन्ने ठुलो खाडल नपारोस् ।

डिजिटल साधन वा डाटाको खर्च बेहोर्न नसक्नेहरूलाई राज्यले सिधा देओस् । निजी र सामुदायिक विद्यालयको सम्बन्ध दुई जुम्ल्याहा बहिनीहरूको जस्तो होस । एकले अर्कालाई परिपूरक ठानुन् । वैकल्पिक शिक्षाका तरिकाहरू लामो समयसम्म टिक्ने विद्यार्थीमा परिवर्तनको अनुभूति दिलाउने किसिमका हुन । विपदमा शिक्षा एक खालको हुँदैन भन्ने कुरा सबै सरकारहरूले बुझेर एकले अर्काको सम्मान गरुन् ।

प्रयोगात्मक विषय साँच्चै प्रयोगात्मक किसिमको होस । बोर्डमा प्रयोगात्मकको चित्र बनाइदिने चलन हटोस् । नहटाउने जो कोहीलाई सजाय होस । प्रयोगात्मक नगरी प्रयोगात्मकमा शतप्रतिशत नम्बर दिने हातलाई सजाय होस । वैकल्पिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न शिक्षकलाई स्कुलको समय भन्दा बढी समय काममा लगाइयोस् र त्यो समयको भत्ता वा खर्च दिइयोस् । बालबालिकाहरूलाई घरमै अभिभावकहरूले सिकाउन सक्ने क्रियाकलापहरूको छनौट गरौँ। घरमा बस्दा कम्तीमा कसरी सस्वर पढ्ने? कस्का राम्रा अक्षर? को कस्तो कलाकार? जस्ता अभ्यासका कृयाकलापमा बालबालिकाहरूलाई सिकाउन अभिभावकलाई उत्प्रेरित गरौँ ।

घरमा दैनिक पढाइ योजना/रुटिन बनाई सिक्ने वातावरण सिर्जना गरौँ। घर‚छिमेक वा टोलमा पढेका र दिइएका क्रियाकलापहरू गरे नगरेको हेर्न सक्ने व्यक्तिहरूलाई स्वयम् सेवा गर्न अनुरोध गरौँ । प्रत्येक बालबालिकाको सिकाइ स्तर फरक भए झैँ देशभर एउटै चस्माले हेर्ने बानीमा सुधार गरौँ । तीन तहका सरकारहरूको अधिकार क्षेत्र स्पष्ट पारौँ । विकास साझेदारले उदाहरण देखाऊ । यो गर्नै पर्दछ भनेर नथोपरौँ । वालमैत्री वालमनोबिज्ञानको सम्मान गरौँ ।

कोभिड तुरुन्तै अन्त नभएर लम्बिँदै गएमा हामीले कोरोनासँग जिउने कलाहरू सिक्नु पर्दछ । सबै बालबालिकाहरूलाई समेट्ने‚ समाज हुने खाने र हुँदा खानेको विभेदको खाडल अझ गहिरो नहुने गरी स्रोत तथा साधनहरूको वितरण गरौँ । शिक्षाले वर्ग निर्माण होइन‚ समाजवादी चरित्रको निर्माण गरौँ । अधिकार च्यापेर बाबुसाहेब पल्टिने बानी त्यागौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस