‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा


१० भाद्र २०७७, बुधबार


म्याग्दी । म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ । गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान विषयमा करार शिक्षक नियुक्तिका क्रममा उम्मेदवार यज्ञ खत्री र प्रधानाध्यापक दीपक श्रेष्ठबीच भएको कुराकानीको अडियो बाहिरिएपछि सेटिङमा शिक्षक नियुक्ति गरिएको तथ्य उजागर भएको हो ।

विसं २०७६ पुस ५ गते १५ दिने सूचना निकालेकामा अन्तिम दिन पुस १९ गतेसम्म सोही विद्यालयको निमावि तहका अस्थायी विज्ञान शिक्षक सुनिल बानियाँ र जलजला गाउँपालिका–३ का खत्रीको मात्र निवेदन परेको थियो । पुस २० गते दिउँसो ३ बजे परीक्षा समय तोकिएको थियो ।

परीक्षा हुनुभन्दा तीन घण्टाअघि विद्यालयका प्रअ श्रेष्ठले कार्यकक्षमै बोलाएर परीक्षामा औपचारिकताका लागि मात्र सहभागी भएर बानियाँलाई नियुक्ति हुने वातावरण बनाउन आग्रहपूर्ण शैलीमा धम्की दिएको र शिक्षक बानियाँले अहिलेसम्म पनि ‘टर्चर’ दिएको खत्रीले बताए ।

अडियो रेकर्डमा “बानियाँलाई शिक्षक नियुक्त गर्ने वातावरण बनाएर सहयोग गरिदिन” आग्रहको भाषा कुराकानी शुरु गरेका श्रेष्ठले परीक्षामा सहभागी भएर शिक्षक नियुक्त भए पनि मावि तहमा पढाउन नदिने र असहयोग गरेर अप्ठ्यारो पार्ने” भन्दै धम्कीको भाषा प्रयोग भएको छ ।

प्रअ श्रेष्ठले तल्लो तहमा कार्यरत शिक्षकको योग्यता र चाहनाअनुसार माथिल्लो तहमा अवसर दिन प्राथमिकता दिने विद्यालयको विगतदेखिको नजीर रहे पनि आवेदन दिन र परीक्षामा सहभागी हुनबाट कसैलाई वञ्चित नगरिएको बताए तर शिक्षासम्बन्धी कुनै पनि ऐन नियममा श्रेष्ठले भनेको र बेनी सामुदायिक विद्यालयमा भएको अभ्याससँग मिल्ने नीतिगत व्यवस्था छैन ।

बेनी नगरपालिकाका स्रोतव्यक्ति मोहन बानियाँ, विषयविज्ञ हरिकृष्ण सुवेदी र रामप्रसाद सुवेदीले लिएको परीक्षाको नतिजामा बढी अङ्क प्राप्त गरेको आधारमा भएको सिफारिसअनुसार बानियाँलाई शिक्षक नियुक्ति गरिएको व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । प्रतिरोधको भावनाले विद्यालयलाई बदनाम गर्न यो विषय उठाइएको कार्कीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस