काठमाडौं । नेपालमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति बाराका दुई पुरुषको नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचारको क्रममा मृतयु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।
डा.चौरसियाका अनुसार ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा.चौरसियाले बताए ।
यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । डा.चौरसियाका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए । यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै भक्तपुरको धुलिखेल अस्पतालमा उपचार गराइरहेकी ५३ वर्षीया महिलाको पनि मंगलबार राति मृतयु भएको हो । उनी सूर्यविनायक नगरपालिका–दोकाचाकी हुन् । उनलाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भेन्टिलेटरमा उपचार हुँदै थियो । ती महिलामा थाइराइडको समस्या रहेको बताईएको छ । उनका परिवारका सदस्यको भने मंगलबार नै स्वाव संकलन गरिएको छ ।