डडेल्धुरामा पर्साबाट आएका कर्मचारीमा कोरोना देखिएपछि गाउँ नै सिल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डडेल्धुरामा पर्साबाट आएका कर्मचारीमा कोरोना देखिएपछि गाउँ नै सिल


ममता भट्ट

८ भाद्र २०७७, सोमबार


डडेल्धुरा । अजयमेरु गाउँपालिकाका एक स्थानीयमा कोरोना संक्रमण देखिएपछि गाउँ नै शिल गरिएको छ। कोरोना ‘हटस्पट’ बनिरहेको पर्साको एक स्थानीय तहको शिक्षा शाखामा प्राविधिक सहायक पदमा कार्यरत अजयमेरु गाउँपालिका–२ का संक्रमित पुरुष अहिले डडेल्धुरामा छन्। घर आएको केही दिनमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको खबर पाएपछि गाउँलाई नै सिल गरिएको छ।

पर्सामा कोरोना परीक्षणको लागि स्वाब दिएर घर आएका ती व्यक्तिमा कोरोना भएको खबर जिल्ला प्रहरी कार्यालय मार्फत जानकारीमा आएको थियो। उनी संक्रमित भएको स्वास्थ्य शाखाले शनिबार मात्रै थाहा पाएको अजयमेरु स्वास्थ्य शाखा प्रमुख हिक्मतबहादुर कठायतले बताए। ‘थाहा पाइसकेपछि हामीले उनको गाउँमा रहेका ६–७ घर सिल गरेका छौँ र बजार पनि सिल गरेका छौैं’ उनले भने।

बजारमा किनमेलदेखि सामाजिक कार्यमा थिए सहभागी
ती पुरुषले विरगञ्जमा साउन २६ गते कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिइएको पाइएको छ। उनी त्यहाँबाट २९ गते डडेल्धुराका लागि हिँडे। उनको भदौं ३ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो। उनी कोरोना रिपोर्ट नआइ स्वाब दिएर डडेल्धुरा आएका हुन्। ‘ती व्यक्ति स्वाब दिएर सीधै घर हिँडेछन्।

उनी त्यहाँ शिक्षा शाखामा कार्यरत कर्मचारी रहेको बुझिएको छ।’ स्वास्थ्य शाखा प्रमुख हिक्मतबहादुर कठायतले भने, ‘भदौं ३ गते कोरोना रिपोर्ट आएपछि पनि कसैलाई म पोजेटिभ हुँ भनेर नभनेको पाइएको छ। यसले झन् जोखिम बढेको छ।’

स्वास्थ्य शाखा प्रमुख कठायतका अनुसार ती कोरोना संक्रमित व्यक्तिले ४ र ५ गते चमडा बजारमा किनमेल गरेको ट्राभल हिस्ट्री छ।

रिपोर्ट नआउँदै घर आएको र घरमा पनि उनले विभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाएको बताइएको छ। उनी उपभोक्ता समिति निर्माणको भेलादेखि अन्य सामाजिक कार्यमा समेत सक्रिय रहेकोले गाउँ नै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ।

संक्रमित ती पुरुष अहिले घरमै होम आइसोलेसनमा छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। स्वास्थ्य शाखा प्रमुख कठायतका अनुसार उनको रिपोर्ट पोजेटिभ आएपछि क्न्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

पहिलो चरणमा उनीसँग सम्पर्कमा आएका ३० जनाको आइतबार स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट के आउँछ त्यसपछि थप अन्य क्न्ट्याक्ट ट्रेसिङ गरिने स्वास्थ्य शाखा प्रमुख कठायतले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस