बझाङ । बझाङको बुङ्गल नगरपालिका–५ मिडीमा गएको पहिरोमा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र ६ वर्षका सुदीप ओखेडा रहेका छन्।
उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा पहिरोले पुरिएको अवस्थामा निकालिएको हो। ठूला ढुङ्गा पहिरोसँगै आएकोले उद्धारमा समस्या भएको थियो ।
बुधवार बिहान करिब १ बजे तिर घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ। प्रताप भने रोजगारीको सिलसिलामा भारतको बैंग्लोरमा छन्।
पहिरोमा परेर उनकी ४० वर्षीया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल ताम्राकार घाइते भएका छन्। घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ।
घटना लगत्तै नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको सकुशल उद्धार गरिएको थियो।