काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
भिडियो मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।

दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । भिडियो सार्वजनिक भएसंगै विभिन्न माध्यमबाट चौतर्फी रुपमा विरोध भइरहेको थियो ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।







