तीजको धार्मिक महिमा, सांस्कृतिक लोकप्रियता तथा विसङ्गति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीजको धार्मिक महिमा, सांस्कृतिक लोकप्रियता तथा विसङ्गति


३१ श्रावण २०७७, शनिबार


“बाबाको बारीमा काकरीको बिरुवा, लह लह परेको पात बरिलै
‘नारी(पुरुष बराबर’ भाषण जति ठोके नि, महिला माथि कामै कामको खात बरिलै”

असार–साउनको हिलाम्मे खेतमा लडिबुडी गर्दै रोपाइँको समापन पछि गाउँ–सहरमा चाडपर्वको रौनकता छाउन थाल्छ । जनै पूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्ठमी हुँदै आई पुग्छ हिन्दु नारीहरूको महान् चाड तीज अर्थात् हरितालिका ।

कोरोना कहरका कारण यो वर्षको तीजमा मन्दिर तथा सडकमा निस्केर ठुलो भिडभाड सहित पूजा पाठ, नाचगान तथा रमाइलो गर्ने माहौल नभए पनि वैकल्पिक उपायहरू खोज्दै महिलाहरू रमाइरहेका छन् । तीजका नयाँ नयाँ गीतहरू युट्युबमा आइरहेका छन् । स–साना पारिवारिक जमघट गर्दै तीजको गीतमा २–३ पुस्ता सँगै नाचेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यसै सन्दर्भमा यो लेख मार्फत् तीजको धार्मिक महिमा, सामाजिक–सांस्कृतिक लोकप्रियता तथा विसङ्गति बारे केही विश्लेषण गर्ने प्रयास गरेकी छुँ ।

धार्मिक महिमा
भाद्र शुल्क त्रितियाको दिन हिन्दु नारीहरूले धार्मिक परम्परा अनुसार सौभाग्य र समृद्धिको लागि शिव–पार्वतीको पूजा गरेर तीज पर्व मनाउने गर्दछन् । यसलाई हरितालिका पनि भन्ने गरिन्छ । सारथीहरुद्वारा हरण गरिएकी हिमालय पुत्री पार्वतीले शिवजीको आराधना गरेको पवित्र दिनलाई नै हरितालिका भनिएको हो भन्ने किम्बदन्ती रहेको छ । धार्मिक ग्रन्थ अनुसार परापूर्व कालका विष्णुसँग आफ्नो कन्यादान गरिदिने कुरा पार्वतीलाई चित्त बुझेन । त्यसपछि उनले आफूले मन पराएको वर पाउनको लागि जङ्गलमा बसेर निराहार रूपमा पानी समेत नपिई कठोर व्रत बसी तपस्या गरिन् । उनको कठोर व्रतको अगाडी शिवजीको केही जोर चलेन । उनी आफै प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि भाद्र शुल्क तृतीयाको दिन शिवजी र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए ।

एक अबला नारीले यति कठोर तपस्या गरेको देखेर प्रसन्न भएका भगवान् शिवले एकै चोटि उनको आग्रहलाई स्वीकार गरेका थिए भन्ने कुरा विभिन्न शिव महिमा देखी धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । यसैको सम्झनामा सो दिनलाई चाडको रूपमा तीज मनाउने प्रचलन चलिआएको छ । अविवाहित महिलाहरू पार्वतीले जस्तै मनले चिताएको राजकुमार पाइयोस् भनेर व्रत बस्ने गर्छन् भने विवाहितहरू श्रीमानको दीर्घायु, पारिवारिक सुख तथा देशको शान्तिको कामना गर्दै व्रत बस्छन् ।

पण्डित आचार्य सर्वेश्वर सुवेदी भन्नुहुन्छ ‘आहार शुद्धि, वस्त्र शुद्धि, शरीर शुद्धि तथा मानसिक शुद्धि गरेर सकारात्मक ऊर्जा तथा सर्वगुण प्राप्तिका लागि भगवान् शिवको व्रत बस्ने परम्परा छ ।’ उनका अनुशार वास्तविक पूजा चाही आध्यात्मिक आभूषणले सुसज्जित भएर गर्नु पर्नेमा आजकल महँगा वस्त्र तथा गहना आदिमा सजिएर मनोरञ्जनात्मक संस्कार र शैलीलाई जोड दिने प्रचलन बढेको छ ।

समाजमा प्रचलित तथा आफुले जानेको गीत गाउदै शिवालयमा गइ पुजा गरी श्रीमानको दीर्घायु’ कामना, परिवारमा सुख, शान्तिका लागि बिभिन्न भजन तथा गीतहरु गाएर यो पर्वलाई मनाउने परम्परा रही आएको छ । बानी नपरेका आधुनिकतामा रमेका महिलाहरुले यसलाई खुकुलो पार्दै लगे पनि परम्पराबादी महिलाहरुले यसलाई निरन्तरता दिइरहेको पाइन्छ । कतिले त स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई मध्यनजर गरी यसको व्रत सम्बन्धी नियमलाई खुकुलो पार्न थालिसकेका छन् । व्रतका नियमहरु उल्लंघन गर्नेहरुको संख्या पनि दिन प्रति दिन बढ्दै गई रहेको छ ।

सामाजिक तथा सांस्कृतिक लोकप्रियता
महिलाहरू आफ्नो माता, पिता, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र र समाजलाई चटक्क छोडी विवाह गरेर पराइ घर जानु पर्ने चलन पहिले देखी कै हो । तीन–चार दशक अघिसम्म पनि अहिले जस्तो सडक, यातायात, टेलिभिजन, टेलिफोन, मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको सुविधा थिएन । गाउँका हरेक घरमा रेडियो समेत नहुने अवस्था थियो । त्यसैले तीजको दर खाने दिन भन्दा अघि दिदी, बैनी वा छोरी लिन जाने चलन चलेको हो । बाटोमा जङ्गल वा नदीनाला पर्ने हुँदा साथी पनि चाहिन्थ्यो । कुनै वर्ष माइतीबाट लिन नगएमा चेलीको ठुलो गुनासो रहने गथ्र्यो तर अहिले परिस्थिति निकै फेरिएको छ ।

आफ्नो परिवार तथा छर छिमेकका आफन्तहरूलाई भेट्न पाउने अवसरका अतिरिक्त विवाह गरेर टाढा टाढा पुगेका साथी सँगीहरू तीजमा भेट्न पाइने, आफ्नो घर तिरको वेदना, गुनासो वा खुसीको अनुभव गीतकै मध्यमबाट साटासाट गर्न पाइने हुनाले चेलीहरू निकै रमाउन पाउँछन् । एक किसिमले तीजलाई नारीहरूको स्वतन्त्रताको दिनको रूपमा नि हेर्ने गरिन्छ, जुन दिन उनीहरू निर्धक्क रूपमा आफ्ना दुखानुभुतिलाई गीतको भाखामा अभिव्यक्त गर्न सक्छन् ।

खास गरेर पञ्चायत कालमा तीजलाई महिला अधिकार तथा समानताको लागि प्रचार प्रसार गर्ने माध्यम पनि बनाइएको थियो । गणतन्त्र आए पछि पनि नेताहरूले महिला–पुरुष बराबरी भनेर जति खोके पनि व्यवहारमा समानता देखाउन नसक्दा महिलाहरूले गीतकै माध्यमबाट व्यङ्ग्य गर्दै सचेतना जगाउने प्रयास गरिरहेका छन् । कोरोनाको महामारीमा लकडाउन भएकोले अफिस वा राजनैतिक काममा जान नपरेर घरमै बसेको बेला पनि भान्सामा फिटिक्कै श्रीमती वा आमालाई नसघाउने विद्वानहरू पनि समाजमा अझै यथेष्ट छन् । तीज गीतको निसानामा उनीहरू पनि पर्ने गर्छन् ।

सञ्चार र सूचना तथा प्रविधिको विकाससँगै रेडियो तथा टेलिभिजनमा मात्र देखिने तीजका गीतहरू अहिले तीज आउनु भन्दा एक–दुई महिना अघि देखी नै युट्युब, सामाजिक सञ्जाल, फेसबुक, टिक–टक मार्फत भाइरल हुने गरेका छन् । यसले नयाँ पुस्ताको तीज प्रतिको रुचि बढाएको छ । तीजको गीत पुरुषहरूले पनि गाउन र नाच्न थालेका छन् । बालिका तथा किशोरीहरूले पनि तीजको गीत रेकर्ड गरेका छन् । यसबाट तीजको धार्मिक भन्दा सांस्कृतिक पाटोमा बढी लोकप्रियता बढ्दै गएको प्रस्ट हुन्छ । पुरानो पुस्ताले ‘स्वामी राजै’, ‘पतिदेव’ भन्दै श्रीमान्को खुट्टाको पानी खाने, उनैको लागि पानी पनि नपिई व्रत बस्ने जस्ता संस्कारलाई नयाँ पुस्ताले छोड्दै गएको छ किनकि नयाँ पुस्ताको दम्पती बिच दैनिक जीवनमा एकले अर्कालाई ‘तिमि’ भनेर सम्बोधन गर्ने तथा साँचो अर्थमा समान साथी जस्तो ब्याबहार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

विसङ्गतिको मारमा तीज
परम्परागतरुपमा धार्मिक आस्थासँग जोडिएको तीजको महत्व जति थियो, अहिले प्रत्यक्ष रुपमा यसको महत्व घट्दै गएको पण्डितहरु गर्न थालेका छन् । केही वर्ष अगाडी देखि यसलाई मनाउने तरीकालाई हेर्र्दा विभिन्न तवरबाट टीका टिप्पणीहरु हुन थालेका छन् । जस्को मुख्य कारण बन्यो यो पर्व आउनु भन्दा एक महिना अगाडी देखि दर खाने चलन भन्दै बिभिन्न होटल, पार्टी प्यालेस, रेस्टुराँहरुमा गरिने भड्किलो मनोरञ्जन । तीजको नाममा आध्यात्मिक मर्मलाई बिर्सेर गरिने यस्ता भड्किला मनोरञ्जनले यसको धार्मिक महत्वलाई पाखा लगाउँदै गएको छ ।

युनेस्को नेपालको सदस्य समेत रहनु भएकी पत्रकार तथा साहित्यकार सरिता अर्याल भन्नुहुन्छ – ‘अहिले सहरका महिलाहरूमा आफ्नो कमाइले नपुगेता पनि समुदायमा भड्किलो स्वभाव देखाउनेको लागि सर सापट गरेर भए पनि आफू माथि बन्ने चलन बढ्दो छ । यसले हाम्रो सांस्कृतिक महत्व झल्काउने चाड पर्वहरूमा आघात नपुग्ला भन्न सकिन्न । जति जति तीजप्रति आधुनिकता आउदैछ यसको भड्किलोपन पनि बढ्दो छ्र’

द्रब्य शक्तिले धर्मलाई थिच्दै गएको कुरामा यस्ता चाडहरु मनाउने चलनले धेरै भरथेग गरेको पाइन्छ । आर्थिक दम्भ देखाएर मनोरञ्जन लिने र शुद्ध शाकाहारी भोजन छोडेर प्राणीको हत्या गरी बनेका माशंहारी भोजन गर्ने चलनले गर्दा यो पर्वको धार्मिक आस्थामा ठेस लाग्न थालेको कुरा परम्पराबिद्हरुले बताउन थालेको धेरै नै भैसक्यो तर यो प्रबृति घट्नुको सट्टा बढ्दो क्रममा रहेको छ । तीजलाई धार्मिक, सांस्कृतिक मुल्य मान्यता भन्दा पनि मनोरञ्जनको साधन बन्दै गएको हो कि भन्ने आभास हुन्छ ।

तीजकै प्रसङ्गमा धादिङ गल्छी गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिना भन्नुुहुन्छ ‘विगतको तीज आफ्नो संस्कृति जगेर्ना गर्ने र आफू भित्र भएका पिडाहरूलाई गीतको माध्यमबाट बाहिर निकाल्ने प्रचलन रहेको थियो भने हालको तीज भड्किलो, मौलिकता हराएको, कलाकारमुखी देखासेखीमा बढी खर्चिलो भएको छ ।’ साथै, आगामी दिनमा तीजलाई संस्कृति जोगाउने, आफ्नो मौलिकतालाई प्राथमिकता दिनु पर्ने पनि उहाँको तर्क छ ।

तीजको सर्वाधिक लोकप्रिय एवम् मनोरञ्जनात्मक पक्ष नै तीजमा गाइने मौलिक गीत तथा नृत्य हुन् । तीन–चार पुस्ता एकै ठाउँमा गीत छमछम्ती नाच्न अवसर दिलाउने यो पर्वमा आधुनिकताको नाममा मौलिकतालाई बिगार्ने प्रवृत्ति बढेको छ । गीतलाई भाइरल बनाउने नाममा अंग्रेजीकरण गर्ने वा शाब्दिक भ्रस्टीकरण गर्ने, उत्ताउला वस्त्र, हाउभाउ वा दृश्य समावेश गर्ने कार्यले प्रश्रय पाउन थालेका छन् । यसले विसङ्गतिलाई बढवा दिएको छ ।

निचोड
तीज पर्वको धार्मिक पक्षको सम्मान गर्दै सामाजिक तथा सांस्कृतिक लोकप्रियतालाई समय सापेक्ष परिवर्तन सहित नयाँ पुस्तामा पनि सार्दै जान सबैको ध्यान जानु आवश्यक छ । श्रीमानलाई ‘पतिदेव’ वा ‘स्वामीराजा’ को पुरानो सम्बोधनमा समेटिएका तीजका संस्कार तथा गीतले दैनिक ब्याबहारमा समेत समान सम्बोधनमा बानी परेका युवा पुस्ताको ध्यान आकृष्ट गर्न सक्दैन तसर्थ तीजको सांस्कारिक तथा सांस्कृतिक पक्षमा समसामयिक परिवर्तन गर्दै जाने कामलाई अन्यथा मान्न सकिन्न । तथापि गीतमा हामी हुँदै गएको शाब्दिक भ्रष्टिकरण, महिनौँसम्म दर खाइरहने, बाहिरी वस्त्र र गहना गुरियाको खर्चिलो तथा भड्किलो प्रदर्शनमा रमाउने शैलीमा परिवर्तन ल्याउन जरुरी छ । यो वर्षको तीज कोरोना भाइरसको चपेटामा परेको छ र अहिले हामीलाई कोरोनाले पैसा के हो ? स्वास्थ्य के हो ? परिवार के हो ? मान के हो ? अपमान के हो ? घमण्ड के हो ? भन्ने बारे पाठ सिकाएको छ र अनि मान्छेबाट नै मान्छे डराउनु पर्ने दिन आएको छ । अघिल्ला वर्षमा झैँ पशुपति, टेकु तथा अन्य मन्दिरमा भिडभाड नगरी वैकल्पिक उपाय अवलम्बन गरी तीज मनाउनु परेको छ । तीजको सबैलाई शुभकामना ।

Tags :
प्रतिक्रिया दिनुहोस