‘दुई दिन भित्रै ल्याब सञ्चालनको अनुमति दिलाउने’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘दुई दिन भित्रै ल्याब सञ्चालनको अनुमति दिलाउने’


३० श्रावण २०७७, शुक्रबार


सुरुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाएका छन् ।

‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्याबको आज निरीक्षण गर्नु हुँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु’, मुख्यमन्त्री राईले भने, ‘यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ ।’ अन्य स्थानका ल्याबभन्दा कनकाईको पिसिआर ल्याब निकै राम्रो व्यवस्थापनका साथ स्थापित भएको उनले निरीक्षणका क्रममा बताए । निरीक्षणपछि मुख्यमन्त्री राईले भने, ‘ल्याबको अनुमति कहाँ पुगेको छ, पत्र कहाँ अड्किएको छ, विराटनगर पुग्ने बित्तिकै आजै म सबैभन्दा पहिला त्यसको खोजी र आवश्यक काममा लाग्नेछु ।’

सो अभियानका संयोजक, सदस्य, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि प्रदेश सरकारका तर्फबाट उनले धन्यवाद ज्ञापन गरे । जनस्तरबाट एक करोडभन्दा बढी रकम जुटाएर ल्याब स्थापना गरिएको हो । ल्याब मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिए पनि अनुमति नपाउँदा सञ्चालनमा आउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस