काठमाडौँ । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा आन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड—१९ सङ्कट व्यवस्थापन सेन्टर(सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तर जिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
बैठकले भारतबाट आउने नेपालीहरूका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरूलाई पूर्ण रूपमा निःशेध गर्ने निर्णय गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमा पार बजार क्षेत्रमा समेत कोरोना सङ्क्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रूपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रूपमा बन्द गर्न निर्णय पनि भएको छ