सुत्केरीको मृत्युको अभियोगमा दुई चिकित्सक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुत्केरीको मृत्युको अभियोगमा दुई चिकित्सक पक्राउ


२३ श्रावण २०७७, शुक्रबार


जनकपुर । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरिएको थियो । उनले छोरीको जन्म दिएकी थिइन् । शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो । चिकित्सकले उनका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो ।

जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस