भुईँ भरी असरल्ल छरिएका,
वसन्त श्रृतुको जाकाराण्डाको फूल जस्तै,
कहिले पोखिन्छ जीवन ।
त्यस्तै गरी छरपस्टीएका,
अनेकन् भावनाहरूलाई सँगाल्दै,
फेरि साहस बटुलेर उठ्छ जीवन ।
अनगिन्ती भोगाइहरूबाट,
हन्डर ठक्करहरूबाट,
केही तिता मिठा सङ्घर्षका कथा र व्यथाहरू,
मानसपटलले देख्दै, अनि लेख्दै,
अप्ठ्यारा अध्यायरूपी पहाडहरू छिचोल्दै
जसै पुनः तङ्ग्रिन्छ जीवन ।
फेरि एक झोक्का हुरी चल्छ,
छरिएका ती जाकाराण्डाका फूलहरूलाई,
छरपस्ट उडाइदिन्छ उसकै गति र वेगसँगै,
पर परसम्म लथालिङ्ग पारिदिन्छ ।।
जब ,जब फेरि मौसम फेरिन्छ,
उसै गरी फेरि पनि ढकमकाउछन जाकाराण्डाहरु,
वातावरणलाई उल्लासको ऊर्जा र उमङ्ग भर्दै ।
हो, जीवन कहिले आँसुको रूपमा पग्लिन्छ,
कहिले पिडामा लतपतिन्छ,
कहिले अफशोचमा रुमलिन्छ,
कहिले त्यसै अतालिन्छ,
तर,
फेरि पनि, एक मुठी सुषुप्त सपनाहरू बटुल्दै,
जिजीविषा लिएर पुन ब्युँझिन्छ,
पुनः उत्साहित हुन्छ, पुनः ताजगी बन्छ,
पुनः भुल्न खोज्छ हिजोलाई,
अतीत बिर्सेर वर्तमानमा जिउन खोज्छ,
अङ्गाल्छ फेरि पनि वर्तमानलाई,
र फेरि पनि उ भोलिको आशा लिएर,
एक मुठी मुस्कुराउन सिकेको हुन्छ जीवन ।
जसरी फूल हाँसिदिन्छ आफ्नै भाकामा,
त्यसै गरी जीवन पनि मुस्कुराउँछ एक पल !
किनकि यहाँ समयको नियम चल्छ !
हो,यहाँ जाकाराण्डा जस्तै असरल्ल छरिँदै,
कहिले बेवारिस बनिदिन्छ जीवन ,
अनि फेरि उही समयको गतिलाई पछयौदै फुल्छ, हाँस्छ,
अनि फेरी रङ्गहरू भर्दै मुस्कुराउँछ ।
त्यही वसन्तको जाकाराण्डाजस्तै,
हो,त्यसै गरी फेरि खुसीको बीज छर्दै,
आशाका किरण बोकेर अघि लम्कन्छ जीवन,
हो, त्यसैले यहाँ समयको नियम चल्छ।