कोरोना महामारीमा काम अटेरी गर्ने २५ स्वास्थ्यकर्मी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना महामारीमा काम अटेरी गर्ने २५ स्वास्थ्यकर्मी पक्राउ


१६ श्रावण २०७७, शुक्रबार


वीरगन्ज । कोभिड सङ्क्रमण नियन्त्रण तथा रोकथाम काम गर्न नमान्ने वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई बिहीबार साँझ वीरगन्ज महानगरपालिका कार्यालय परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

नारायणी अस्पतालले आइसोलेसन र स्वाब सङ्कलन कार्यका लागि स्वास्थ्यकर्मीको अभाव रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन केन्द्रसँग ६० जना स्वास्थ्यकर्मी मागेको थियो । अस्पतालको आग्रहमा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकालाई साउन १० गते पत्र लेख्दै स्वास्थ्यकर्मी उपलब्ध गराइ दिन निर्देशन दिएको थियो।

यससँगै महानगरपालिकाले साउन ११ गते सूचीमा ४ जना स्वास्थ्य निरीक्षक , ११ जना सिनियर अहेब , ५ जना अहेब र ४ जना अनमीसहित गरी ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । तर साउन १५ गते भइसक्दा पनि महानगरले खटाएका कर्मचारीहरू काममा नआएपछि प्रहरी पठाएर उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

स्वास्थ्यकर्मीको अभावमा वैकल्पिक आइसोलेसन र स्वाब संकलन कार्य नै प्रभावित भएपछि बाध्य भएर प्रहरी लगाएर नियन्त्रणमा लिनु परेको बस्नेतको भनाई छ । ‘खटाएको काममा के कति कारणले नगएको हो भनेर सोधपुछ गर्न स्वास्थ्यकर्मीलाई नियन्त्रणमा ल्याइएको हो’ उनले भने, ‘काममा जान मानेनन् भने विभागीय कारबाही हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस