ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती जडान गरिने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ललितपुर महानगरपालिकामा स्मार्ट सडक बत्ती जडान गरिने


१३ श्रावण २०७७, मंगलबार


ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा उक्त बत्ती जडान गर्न लागिएको हो ।

कुपण्डोलस्थित नबिल बैंकअगाडि आज स्मार्ट सडक बत्तीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका तीनवटा सडकमा कूल छ सय ६९ स्मार्ट सडक बत्ती जडान गर्न लागिएको बताए । उनले भने, ‘हामीले वाग्मतीको पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो, हिमालयन होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ्लबजार लगनखेल र पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान गर्न लागेका हौँ ।’ ललितपुरमा रहेका छ पालिकामध्ये सो सडक बत्ती जडान गर्ने यो पहिलो पालिका रहेको उनले दाबी गरे।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले स्मार्ट सडक बत्ती सोलारभन्दा कम खर्चमा जडान हुने बताए। उनले भने, ‘यो बत्ती निकै प्रभावकारी छ । यस बत्तीलाई कम्प्युटरको सहायताले सर्भर कक्षबाट नियन्त्रण गरिनेछ ।’ क्रम्टन महावीर जेभीले सडक बत्ती जडानको जिम्मा लिएको सत्यालले जानकारी गराए ।

सो बत्ती जडान शुरु गरेको ४५ दिनमा परियोजना सम्पन्न गर्ने योजना महानगरपालिकाको छ । गत २०७६ भदौ २ गते सम्झौता भएको उक्त परियोजनामा महानगरपालिकाको कूल रु पाँच करोड २० लाख लाग्ने जनाइएको छ । महानगरपालिकाका यी क्षेत्रहरुमा पहिलो चरणमा बत्ती जडानको काम सम्पन्न भएसँगै दोस्रो चरणमा अन्य थप वडाहरु बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि जडान गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस