सरकारी अस्पतालका प्रमुखहरूले निजीमा प्राक्टिस गर्न नपाउने, पूर्व स्वीकृति पनि खारेज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी अस्पतालका प्रमुखहरूले निजीमा प्राक्टिस गर्न नपाउने, पूर्व स्वीकृति पनि खारेज


१२ श्रावण २०७७, सोमबार


काठमाडौँ । सरकारी अस्पतालका प्रमुखहरूले अब देखि निजी अस्पतालमा प्राक्टिस गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट कार्यक्रममा आएको ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था सुरु गरिनेछ,’ भन्ने बुँदालाई टेकेर यो व्यवस्था लागू गरेको हो ।

प्रमुखको जिम्मेवारीमा रहेका चिकित्सकहरूले पूर्व स्वीकृति लिएर निजीमा प्राक्टिस गर्दै आएकोमा मन्त्रालयले सो समेत खारेज गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गत ९ साउनमा मन्त्रिस्तरीय निर्णय गर्दै संघ अन्तर्गतका सबै, प्रदेश अन्तरगर्तका सबै र स्थानीय तह सबैलाई सो अनुसार गर्न गराउन परिपत्र गराएका छन् ।

यस्तै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गरेका सरकारी चिकित्सकहरूले आफू कार्यरत सरकारी अस्पतालका नाम उल्लेख गर्न समेत नपाउने निर्णय भएको छ । अहिले धेरै निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्ने चिकित्सकको नामसँगै सरकारी अस्पतालको नाम समेत उल्लेख गरिने गरिएको छ ।

बैठकले सबै सरकारी अस्पताल र सरकारको अनुदान प्राप्त अन्यहरूले सरकारी कार्यक्रमहरू अनिवार्य रूपमा सञ्चालनमा ल्याउन पर्ने भएको छ । अहिले कतिपय सरकारी र अनुदान प्राप्त अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम तथा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न अटेरी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस