बेइजिङ । संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ ।
चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध-स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोष व्यक्त गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताए । उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।
प्रवक्ता वाङले भने, ‘यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघ हो ।’
उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन-अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ भने।
ह्यूस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए ।
ह्यूस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए ।