गोरखा । अविरल वर्षाका कारण आएको पहिरोले गोरखा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।
उनका अनुसार सो सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खसेको छ । पहिरोबाट पिच सडक नै भाँसिएको छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ ।
सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको उनले बताए ।
निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको जनाइएको छ । पानी रोकिने बित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताए । आइतबार पनि ठूलो पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।