वाग्मती । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरिने कार्यका लागि कार्यसम्पादन करार सम्पन्न भएको छ ।
मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रतिबद्धतासहितको करारपत्र बुझाउनुभएको थियो भने मुख्यमन्त्री पौडेल र मन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री पौडेलले तोकिएको अवधिमा यति काम गर्न सक्छु भनेर अग्रीम प्रतिबद्धता गरिएपछि योजनाले मूर्तरुप पाउन सहज हुने धारणा राखे।
कार्यसम्पादन करारले मन्त्री तथा मन्त्रालयका कर्मचारीलाई काम गर्न नैतिक दवाव दिने भएकाले प्रदेशको नीति तथा योजना पूरा गर्न मद्दत गर्ने उनको भनाइ थियो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलाल तथा मुख्यमन्त्री पौडेलबीच करार सम्झौता भएको थियो ।