काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा यूएईबाट पक्राउ परेका एक अभियुक्तलाई काठमाडौं ल्याइएको छ । यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक प्रक्रिया पुरा गरी आज (शनिवार) काठमाडौं ल्याइएको हो ।
नेपाल ल्याइएपछि उनलाई गौशाला प्रहरीको जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ।
खड्का इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका थिए । उनी २०७५ माघमा यूएईमा पक्राउ परेका हुन् । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।
काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।
उनी यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि मुछिएका थिए । उनले मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले बताएको थियो।