काठमाडौं । नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीको आज विदाई गरिने भएको छ । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका आइजीपी ज्ञवालीको बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमका साथ विदाइ गरिने प्रहरी उच्च् स्रोतले जानकारी दिएको छ ।
कार्यक्रममा महानिरीक्षक ज्ञवालीको विदाइका लागि विभागका अधिकृतहरु उपस्थित हुने बताइएको छ ।
यस्तै ज्ञवालीसँगै उनकै ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका छन् ।
ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।
नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ ।