काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अङ्गीकृत नागरिकता दिने गरी नागरिकता विधेयक बहुमतले पास गरेको छ ।
समितिको आइतबार बसेको बैठकले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक टुङ्गो लगाएको हो । समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले अङ्गीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था थप गरेको छ ।सात वर्ष स्थायी बसोबास गरेको वडा कार्यालयले सिफारिस चाहिन्छ भने विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए त्यसको प्रमाण वा लिएको भए परित्यागका लागि कारबाही चलाएको प्रमाण पनि पेस गर्नुपर्नेछ ।
नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइनेछ भने सो अनुमति पत्रका आधारमा चल अचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचबिखन गर्न, व्यावसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइनेछ ।
समितिको निर्णयमा प्रमुख विपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९राजपा र समाजवादी० ले फरक मत राखेका छन् । उनीहरूले अहिलेजस्तै विवाह गरेर आएपछि अङ्गीकृत नागरिकता लिन पाउने व्यवस्था हुनुपर्ने मत राखेका छन् ।