२ अर्व ६६ करोड ६१ लाख गैर कानुनी आर्जन गरेको अभियोगमा श्रेष्ठविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२ अर्व ६६ करोड ६१ लाख गैर कानुनी आर्जन गरेको अभियोगमा श्रेष्ठविरुद्ध मुद्दा दायर


२ असार २०७७, मंगलबार


सम्पत्ति शुद्धीकरण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठसहित ५ जना विरुद्ध २ अर्व ६६ करोड ६१ लाख रुपैयाँ गैर कानुनी आर्जन(सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

योगेन्द्रकी पत्नी गीता, छोराहरू उत्सव, गौरव र सौरभ श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको हो । कम्पनी स्थापनाकालदेखि २०६८ सालसम्म शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष रहेका योगेन्द्रले नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडमा बचत भएको रकम हिसाब नदेखाई व्यक्तिको नाममा प्रयोग गरेको आरोपमा बैङ्किङ कसुरको मुद्दासमेत खेपेका थिए । जसमा नागरिक लगानी कोषमा १६ करोड ५० लाख, माछापुच्छ्रे बैङ्कको ४ करोड ८८ लाख, जनता बैङ्कको १० करोड, हिमाल हाईड्रोको ९० लाख, नेपाली सेना कल्याणकारी कोषको ४ करोड, सन्ड्री डेप्स टर्सको ९ करोड ६९ लाख, बिमा संस्थानको २० करोड अनि विभिन्न व्यक्तिको बचत १७ करोड गरी कुल ८३ करोड ३ लाख रुपैयाँ अनियमित रूपमा दुरुपयोग गरेको आरोप थियो । उक्त रकम सम्बन्धित व्यक्ति वा संस्थाको खातामा नराखी दुरुपयोग गरेको आरोप थियो । उनीमाथि नक्कली ऋणी बनाई ३२ करोड ६४ लाख दुरुपयोग गरेको अभियोग पनि थियो ।

अर्को पटकको अभियोगमा उनी विरुद्ध ३४ करोड ९३ लाख दुरुपयोग गरेको मुद्दा चलेको थियो । तत्कालीन पुनरावेदन अदालतको वाणिज्य इजलासले दुई पटकको फैसलामा उनीसहितको टोलीले करिब १३ करोड रुपैयाँ अनियमितता गरेको ठहर गर्दै योगेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थमान मास्केलाई ३ वर्ष कैद फैसला सुनाएको थियो । त्यही घटनाका कसुरदार श्रेष्ठमाथि छानबिन हुँदा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति फेला पारेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस