सांसद सरिता गिरीलाई कारबाही गर्ने चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद सरिता गिरीलाई कारबाही गर्ने चेतावनी


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको हो ।

सांसद गिरीले बुधवार नेपालको संविधान(दोस्रो संशोधन)विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।

पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै उनको पार्टी समाजवादीले सांसद गिरीलाई उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमा शंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी गिरी समानुपातिक सांसद हुन् । संसद् बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् । र, अहिले पनि विभिन्न मिडियाहरूमा यस्तै आशयका अन्तर्वार्ताहरू दिँदै आएकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस