प्रशासनमा मूल्य र नैतिकताका आयामहरू - प्रशासन प्रशासन
prasaLogo
२१ जेष्ठ २०७७, बुधबार

प्रशासनमा मूल्य र नैतिकताका आयामहरू


प्रकाशित मिति : 3 June, 2020 8:11 am

प्रशासनिक संयन्त्र सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरू सहज र सरल रूपमा पुर्‍याउने अङ्ग हो । नागरिक र सरकारको बिचमा प्रत्यक्ष सम्बन्ध सेतुको रूपमा रहेर प्रशासनले सेवा प्रभावकारी सेवा प्रवाह मार्फत सरकारको प्रत्यक्ष उपस्थिति जनाइरहेको हुन्छ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जन आकाङ्क्षाहरूलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्‍याइदिने संवाहकको रूपमा सार्वजनिक प्रशासनको भूमिका अति नै महत्त्वपूर्ण रहने गर्दछ ।

विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकाङ्क्षाको तह पनि उच्च रूपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सबल उपस्थिति अनिवार्य सर्त हुन आउँछ । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरू हुन् । यी विशेषताहरूको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरूको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ , जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्व बोध समाप्त हुन जाने खतरा बढ्दछ ।

सार्वजनिक प्रशासनको यो गरिमा र महत्त्वलाई दृष्टिगत गरेर यसलाई सक्षम र प्रभावकारी बनाउन विभिन्न उपायहरूको अवलम्बन गरिएको हुन्छ । सबैको सहज पहुँच निष्पक्षता सहितको प्रतिस्पर्धा, योग्यतामा आधारित छनोट प्रणाली, विज्ञता र विशेषज्ञता, वृत्ति विकासको स्पष्ट मार्गचित्र, उत्प्रेरणाका संयन्त्रहरूको प्रयोग उत्तरदायित्व, पारदर्शिता तटस्थता सदाचारिताको सैद्धान्तिक अवलम्बन सार्वजनिक प्रशासनलाई सक्षम र प्रभावकारी बनाउने ऊर्जावान् संयन्त्रहरू हुन् ।

कर्मचारीहरू सरकारको अङ्ग भएको हुनाले उ समाजको एउटा आदर्श चरित्रको रूपमा रहने गर्दछ । उनीहरूको सक्षमता र प्रभावकारिता भनेको पेसागत दक्षता सहितको व्यावसायिकता, कार्यसम्पादनमा तटस्थता र निष्पक्षता, कानुनको परिपालना गर्दै व्यवहारोपयोगी अन्तर वैयक्तिक र सेवाग्राहीसँगको सहिष्णुता, भ्रष्टाचार रहित कार्यशैलीले युक्त सदाचारितको अवलम्बन जस्ता कसीमा उत्तम साबित हुनु हो । यस्ता सबल पक्षहरूको प्रभावकारिता उसले हासिल गरेको औपचारिक शिक्षा, वातावरणीय पर्यावरण, सामाजिक पर्यावरण, रहनसहन, सांस्कृतिक परिवेशमा निर्भर रहन्छ ।

यसको अतिरिक्त व्यक्ति विशेषमा आन्तरिक रूपमै सिर्जित हुने मूल्य मान्यता प्रतिको विश्वास, एउटा मानवको हैसियतले स्व स्थितिको विकास र उन्नतिको साथसाथै समाज, राष्ट्र हुँदै विश्व कल्याणमा योगदान गर्ने चाहना पनि यसै विषयका अन्तर बस्तु अन्तरगत पर्दछन् । सकारात्मकताको अवलम्बन नै सक्षमता तर्फको प्रस्थानको सुरुवात बिन्दु हो । सकारात्मकताको प्रवेशताको प्रवर्द्धन जति औपचारिक शिक्षा र सकारात्मकताको भौतिक मापन विधिबाट गर्न सकिन्छ त्यति नै मूल्य, मान्यता, दायित्व बोध, समर्पण भाव, मधुरता, धैर्यता, परोपकारिता, सहिष्णुता जस्ता पक्षको आन्तरिक सबलीकरणबाट पनि सकिन्छ । सार्वजनिक प्रशासनको सक्षमता अभिवृद्धि पनि यी दुई आयामहरूको परिधि भन्दा बाहिर जान सक्दैन ।

कर्मचारी परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हो यसभन्दा अघि उ एउटा व्यक्ति हो । एउटा व्यक्तिको हैसियतले उ भित्र सकारात्मकता र नकारात्मकताका धेरै गुण र दुर्गुणहरू हुन सक्दछन् । तर जब उ व्यक्तिबाट सार्वजनिक प्रशासनको एउटा संयन्त्र बन्न पुग्दछ तब उ व्यक्तिगत चरित्र को कित्ताबाट अझै माथि उठेर सार्वजनिक चरित्रको सर्वस्वीकार्य सीमारेखा भित्र बाँधिन पुग्नु पर्दछ । यसपछि उसमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वाभाविक रूपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिँदैन ,जबकि एउटा व्यक्तिमा थोरै नै मात्रामा भए पनि नकारात्मकताको अवशेष कुनै न कुनै रूपमा रहन्छ । यसर्थ सार्वजनिक प्रशासनका कर्ताहरूमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवर्द्धन अनिवार्य सर्त बन्न पुगेको हो ।

कर्मचारी एउटा सेवा प्रदायक एउटा रणनीतिकर्ता, नीति निर्माता, सहमतिकर्ता, द्वन्द्व निवारक, सम्झौताकर्ता, मध्यस्थकर्ता, समाज र विश्व परिवर्तनको एउटा संवाहकको बहु पहिचान र बहु भूमिकामा उ उभिनु पर्दछ । यसको लागि उ आफैप्रति परिवार प्रति समाज प्रति उति नै अनुशासित, जिम्मेवार, निष्ठावान् र चरित्रवान् हुनु आवश्यक हुन्छ । यसको लागि मानवता, प्रकृति र समाजको लागि आवश्यक र स्वीकार्य मूल्य तथा मान्यताहरू ती मान्यताहरूको आन्तरिक र बाह्य प्रवर्द्धनका आधारहरू र त्यसको प्रयोग प्रतिको तत्परताको आवश्यकता हुन्छ ।

नैतिकताको सन्दर्भ पनि यिनै आयामहरूमै जोडिएर आउनु पर्दछ । मूल्य मान्यताको अवलम्बनको सैद्धान्तिक धरातलमा नैतिकता सहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिष्कृत र पूर्ण व्यक्तिमा दिगो रूपमा रूपान्तरण गर्नमा सहयोग पुर्याउछ । यसै आधारको अवलम्बनले सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ ।

वास्तवमा स्वीकार्य मूल्य मान्यता तथा नैतिकताको प्रवर्द्धन गर्ने गराउने परिपाटीको अभावले आजको सार्वजनिक प्रशासन एकाध अपवाद बाहेक सार्वजनिक बन्न नसकी सदाचारमा कमजोर, बोझयुक्त, अनुशासनहीन, नातावाद जस्ता नकारात्मक विशेषणबाट आभुषित हुन पुगेको हो । यसैले पनि मूल्य मान्यता र नैतिकताको प्रवर्द्धन सार्वजनिक प्रशासनको लागि अपरिहार्य आवश्यकता हो । यो सन्दर्भ सार्वजनिक प्रशासनको परिवेशमा जति सान्दर्भिक देखिएको छ त्यति नै अन्य पक्षहरूमा पनि उत्ति नै आवश्यक देखिएको छ ।

मूल्य तथा मान्यता गुण र अपेक्षित स्तरको आवश्यकीय आदर्श सैद्धान्तिक आधार हो । यो स्व प्रयोगमा आधारित नियम तथा नैतिकताको आधारशिला हो जसले जीवनको स्पष्ट र सहज यात्रामा सहयोग पुर्याउदछ । मूल्यलाई विश्वव्यापी, मानवीय र अल्पकालीन मूल्यमा वर्गीकृत गर्न सकिन्छ जसमा धार्मिक, कलात्मक, व्यावसायिक, सांस्कृतिक, आर्थिक, वातावरणीय, नैतिक, पारिवारिक, सामाजिक संस्थागत, राजनीतिक मूल्यहरू पर्दछन् । नैतिकता भित्र सकारात्मक प्रकृतिका आवश्यकीय अपेक्षित व्यवहार र संस्कृति पर्दछन् ।

कर्मचारीहरू सरकारको अङ्ग भएकोले उसको सामाजिक परिवेशमा नैतिकवान् आदर्श चरित्रको रूपमा समेत स्थापित हुनुपर्ने कारणले उनीहरू वाट नैतिकता र मूल्य मान्यताको अपेक्षा बढी हुनु स्वाभाविकै हो । यसैले पनि मूल्य मान्यता र नैतिकताको प्रवर्द्धन सार्वजनिक प्रशासनको लागि अपरिहार्य देखिएको हो । यसर्थ अबको सार्वजनिक प्रशासन यसमा अन्तर्निहित सवलपक्षलाई कायम राख्दै यसलाई थप परिष्कृत र समाजपयोगी बन्न सक्नु पर्दछ । यसको लागि यसका पाठ्यक्रमहरू छनौट प्रणाली, कार्य सञ्चालनका आधारहरू यसलाई सहयोग गर्ने खालको हुनु आवश्यक छ ।

यसर्थ यसको लागि शैक्षिक संस्था, तालीम प्रदायक संस्थाहरू र मूल्य मान्यता, नैतिकता प्रवर्द्धन गर्ने संस्थाहरूको बिचमा सहकार्यको आवश्यकता देखिन्छ । यसले मूल्य, मान्यता, दायित्व बोध, समर्पण भाव, मधुरता, धैर्यता परोपकारिता, सहिष्णुता, निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता जस्ता पक्षको विकास गरी आफ्नो पेसागत दक्षता र प्रभावकारिता अभिवृद्धि गर्नमा सहयोग पुग्न जान्छ । यसबाट सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरूलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ जसले अन्ततः सार्वजनिक सेवा जनमैत्री संयन्त्रमा रूपान्तरित हुन जान्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस