कैलाली । बाजुराको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु भएको छ ।
भारतबाट नेपाल आएकी उनलाई शनिबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएकोमा उनको उपचारको क्रममा राति २ बजे मृतयु भएको अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. रुपचन्द्र विकले बताए ।
उनले भने, ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए, ‘गाउँको क्वारेन्टिनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’
डा. विकका अनुसार १५ गते बालिकालाई अस्पताल भर्ना गरिएको थियो । भारतबाट आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको थियो । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो । अस्पताल पुराउँदा बालिकामा कडा निमोनिया थियो ।
डा. विकले भने, ‘निमोनिया सुधार भएको थिएन, स्वास फेर्न कठिन भइरहेको थियो, मुटुको चाल बढेको थियो।’
मृतक बालिकाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । साथै बालिकाका बुबा र आमाको पनि स्वाब संकलन गरिएको डा. विकले बताए । डा. विकले आइतबार दिउँसोसम्म रिपोर्ट आउने बताउँदैशव अस्पतालमै रहेको र रिपोर्ट पोजेटिभ आयो भने डिस्पोज गर्ने तथा नेगेटिभ आयो भने परिवारलाई जिम्मा लगाउने बताए ।