क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्‍वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको रिपोर्ट पोजेटिभ, कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो


१७ जेष्ठ २०७७, शनिबार


दैलेख । दुल्लु नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा शनिवार मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । शनिवार स्वाबको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।

‘रिपोर्ट पोजेटिभ आउने बित्तिकै हामीले शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका छौँ,’ उनले भने, ‘यसको लागि दैलेख जिल्ला प्रशासन कार्यालय र नगरपालिकासँग नियमित सम्पर्क भइरहेको छ ।’ ती व्यक्तिमा कोरोना पुष्टिसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

कोरोना सङ्क्रमितको शव दुल्लुस्थित क्वारेनटाइनमै छ । स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा आइतबार मात्र शव व्यवस्थापन गरिने प्रदेश सरकारले जनाएको छ ।

१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिवार बिहान एक्कासि बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेनटाइनमा पुगेको थियो । त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

रिपोर्ट पोजेटिभ आएसँगै उक्त क्वारेनटाइनमा बसेका अन्य व्यक्तिहरू भने त्रसित भएका छन् । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेनटाइनमा अहिले ७९ जना बसिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस