कोभिड-१९ विरुद्ध विजयका लागि सहकार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोभिड-१९ विरुद्ध विजयका लागि सहकार्य


१४ जेष्ठ २०७७, बुधबार


सन् २००४ मा प्रकाशित चर्चित पुस्तक फ्युचरिङ (भविष्यको खोज) मा लेखक एडवार्ड कर्निसले मानव मात्रको भविष्यलाई आकार दिने ६ वटा मुख्य वाहक (सुपरट्रेन्ड) का रूपमा प्रविधिमा भएको प्रगति, आर्थिक वृद्धि, सुध्रँदो स्वास्थ्य, बढ्दो आवतजावत, खस्कँदो वातावरण र परम्परागत संस्कृतिमा आएको बढ्दो ह्रासलाई औँल्याएका छन् । भविष्यमा पर्न सक्ने जोखिमका सम्बन्धमा हामीहरू जति धेरै अनुमान गर्न र पूर्व तयारी गर्न सक्छौँ त्यति नै हामीमाथि पर्न सक्ने विपद् वा महामारीको असर घटाउन वा टार्न सक्छौँ भनेर उक्त पुस्तकका लेखकले भनेका छन्। यो सन्दर्भ अहिले कोभिड-१९ ले एउटा राष्ट्रलाई मात्र नभई सिङ्गो विश्वलाई नै चुनौती दिँदै गरेको समयमा झन् सान्दर्भिक देखिन्छ।
कोभिड-१९ का सम्बन्धमा केही कवितात्मक लाइनबाट लेखलाई अगाडि बढाउन खोजिएको छ जुन यस प्रकार छ :
आजको अन्तरसञ्जालित विश्व
प्राकृतिक असन्तुलनका असङ्ख्य कारकहरु
स्वतन्त्र मानवका सीमारहित व्यवहारहरू
सुनसान सडक र झन्डै ढोकाभित्र कैद जनजीवन
कोरोनाको त्रासबिच मानवीय सभ्यताको निरन्तरताउपर प्रश्न
स्वास्थ्य पूर्वाधार तथा व्यक्तिगत तहको सूचनामा कमजोर स्थिति
खाँचो पारस्परिकताको अनि एउटै बुझाइको
अनि संयम, सतर्कता तथा सरसफाइको
रोगको कारक भाइरसको सङ्क्रमण रोक्न सकियोस्
बरु केही समय होम क्वारेन्टाइनमा बस्न किन नपरोस्।

सङ्कटका बखत जगतको हित नै राज्य र सरकारको जीत हो।
अरूको अहित चितायो भने आफ्नै पनि भलो हुँदैन। यस सम्बन्धमा एउटा अरेवियन प्रसङ्ग छ। एउटा गाउँमा दुई जना फरक क्षमता भएका व्यक्तिहरूबिच अनुकरणीय मित्रता थियो। एक जना अन्धो थिए भने अर्को लंगडो। ती दुई आपसमा साझेदारी गरी पारस्परिक विश्वासमा मागेर खाने गर्थे। तर यस्तो समय आयो कि दुबैबिच ठाकठुक पर्न थाल्यो झगडा भयो रिस राग बढेर गयो। यो अवस्था देखेर भगवान् प्रत्यक्ष प्रकट भए अनि सोधे तिमीहरू दुई जनालाई के चाहिँ अति आवश्यक छ माग। यही मौकामा ती दुवैले आफ्नो मनसुवा भगवानसमक्ष राखे :
अन्धाले लंगडो पनि अन्धो होस् भन्यो अनि लंगडाले अन्धो पनि लँगडो होस् भन्दो भयो। आखिर परिणाम के भयो त। दुःख माथि दुःख थपियो। कुनै व्यक्ति व्यक्तिबिच, परिवार परिवारबिच वा समुदाय समुदायबिच वा कुनै देश देशबिच वा कुनै देशभित्रका विभिन्न शासकीय तहबिच पनि दुःख अरूलाई परेपरोस मलाई नपरोस् भन्ने भावना रहनु कदापि राम्रो होइन।

देशले कोरोनाको कहर व्यहोरिरहेको समयमा ७५३ वटा स्थानीय तहले केमा ध्यान दिने, ७ वटा प्रदेशमा के कस्तो पूर्वाधार वा व्यवस्थापन हुनुपर्ने हो वा अझ भन्नुपर्दा तीन तहको सरकारको के-के भूमिका हुने हो र के कसरी समन्वय वा सूचना आदानप्रदान गर्ने हो भन्ने विषय प्रस्ट हुनै पर्दछ। सूचना प्रवाहको र पूर्वाधार तयारीको पनि निश्चित प्रोटोकल रहँदा सरल हुने देखिन्छ। सूचना तथा सञ्चार रणनीति, स्वास्थ्यसम्बन्धी सामग्रीको मापदण्ड तोक्ने, राहत वितरणको मापदण्ड, राज्यको स्रोत साधन के कसरी प्रयोग गर्ने वा के नगर्ने भन्ने जस्ता विषयमा सङ्घीय तहले नै टुंगो लगाउनुपर्दछ। केन्द्रिकरणका कारण हुन नसकेको विकासलाई धेरै सक्षम केन्द्रहरूको सिर्जनाबाट सम्बोधन गर्ने भनेर पनि चिनिने सङ्घीय शासन व्यवस्था अन्तर्गत हाल रहेका सात वटा प्रदेशहरूले परीक्षण प्रयोगशाला एवं उपचारको सुविधालाई सुदृढ गर्न सक्नुपर्दछ ।

प्रदेश अन्तर्गतका मामिलाहरूमा समन्वय गर्न तथा असल अभ्यासहरूको सिकाई हस्तान्तरण गर्न पनि प्रदेश तहले अगुवाइ गर्न सक्दछन् । त्यस्तै स्थानीय तहहरूले आफ्नो संवैधानिक म्यान्डेटअनुसार आधारभूत विकास र सेवा प्रवाह गर्ने र अग्रभागमा रही प्रोफाइल एवं घटना अपडेट गर्ने तथा स्थानीय प्रशासनसँग समन्वय गर्ने कार्य समेत गर्दछन् । अहिले कोरोनाको कारण जीविका चलाउन मुस्किल पर्नेहरूको सूचि तयार पार्ने र राहतको प्रबन्ध गर्ने काममा स्थानीय तहहरू नै अघि सरेका छन् । साझा समस्यासँग मुकाबिला गर्न सबै तहका सरकारहरू जुट्नु जरुरी छ । यो सङ्घीय प्रणालीको औचित्य पुष्टि गर्ने सर्वाधिक महत्त्वपूर्ण र उचित अवसर पनि हो।

आपूर्ति प्रणालीलाई निरन्तरता दिनका लागि उद्योग र व्यवसाय सञ्चालनको वातावरण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अति आवश्यक उपभोग्य चिजका लागि के कस्तो सतर्कता आवश्यक पर्ने हो ? कुन कुन निकायको बिचको समन्वयमा सहजीकरण हुने र अत्यावश्यक पास कसले जारी गर्ने भन्ने पनि खुलाउनु आवश्यक हुन्छ। त्यसो त कोरोनाको त्रासले असर नपुर्‍याएको क्षेत्र नै छैन। यसको क्षति र ल्याउने परिवर्तन विश्व इतिहासमै नबिर्सने खालको हुनेछ। अहिले जो सुकै संस्था वा व्यक्ति पनि कोरोना विरुद्ध कसरी जुट्ने कसरी सहयोग पुर्‍याउने र कसरी सरकारले गरेको आग्रहलाई अवलम्बन गर्ने भन्नेमा केन्द्रित गर्नु जरुरी छ। के उद्योगी व्यवसायी, के खेलाडी, के कलाकार, के राजनीतिज्ञ, के डाक्टर, के सुरक्षाकर्मी, के कर्मचारी वा के सर्वसाधारण नागरिक अहिले कोरोनाको करकरबाट अछुतो कोही छैन।

लकडाउनको पालना गर्नु तथा मुलुकमा आपूर्ति व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा उपभोक्ता हक हित संरक्षणका लागि राज्यका संयन्त्रहरू र निजी क्षेत्र पनि सरिक हुने अवस्था पनि हो यो। चाइनाले लकडाउनको सहारा लिएर नियन्त्रण गरेको हुँदा अन्य मुलुकले पनि अवलम्बन गरे र हामी पनि गर्‍यौँ। अन्य तयारीमा हामीहरू धेरै पछाडि रहेको सत्यताका माझमा लकडाउनको पालनामा भने हामी सफल नै देखिएका छौँ । नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या १००० पुगेको छैन र मृत्यु हुनेको सङ्ख्या शून्यको नजिक छ । सङ्क्रमित भएकामध्ये पनि ठुलो सङ्ख्याका व्यक्तिहरू रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्किसकेका छन् । भयभीत भइहाल्नुपर्ने अवस्था होइन। तथापि सजग बन्ने र सरकारले लगाएको लकडाउनको प्रयोग गर्दै आशंका भएमा स्वास्थ्य चेक अप गराउनु आवश्यक छ। यसका लागि तीन तहकै सरकारको समन्वयमा स्वास्थ्य पूर्वाधार बढाउनु पनि उत्तिकै आवश्यक छ।

विगतमा सार्स सुँगुरबाट, मार्स उँटबाट सङ्क्रमित भएजस्तै यस पटकको कोरोना भाइरस भने चमेरोबाट सरेको भनिएको छ। तथापि चीनको वुआनबाट प्रारम्भ भएको मानिएको यो रोगको कारण र प्रकृतिका सम्बन्धमा थुप्रै आशंकाहरु गरिएका छन् र यसको खोप वा औषधीको खोजीका लागि विश्वभरका शोधकर्ताहरू लागि परेका छन्। तर, हामीले पर्यावरण संरक्षण र पारिस्थितिक प्रणालीको विश्वव्यापी सन्तुलनलाई मानव जातिकै मुख्य मुद्दा बनाउन सकिएन भने कोरोना सङ्क्रमणबाट त ढिलो चाँडो मुक्त होउँला। तर, मानव जातिले यस प्रकारका विपत्तिहरूको सामना गरिरहनुपर्नेछ। यसरी हेर्दा कोभिड-१९ को भ्याक्सिन वा औषधी पत्ता लगाएर मात्र आनन्दानुभूति गर्ने परिस्थिति विश्वसँग छैन।
संयुक्त राष्टसंघका महासचिव एण्टुनियो गुटेरसले कोभिड-१९ समग्र मानव जातिका लागि एक डरलाग्दो खतराको रूपमा फैलिएको र यसको सामना गर्नु हाम्रो साझा चुनौती रहेको अभिव्यक्ति दिएका छन्। साथै उनले राष्ट्रसंघको तर्फबाट २ अर्व डलरको कोष घोषणा समेत गरेका छन्।

चीन र अमेरिकाले गरेको आरोप प्रत्यारोप तथा ग्रुप अफ सेभेन राष्ट्रहरूको विज्ञप्तिमा राखिने शब्दलाई लिएर भएको वादविवादले अझै पनि पारस्परिकता र विज्ञानभन्दा पनि शक्तिको “भाले जुधाई” जारी रहेको प्रतीत हुन्छ। इसा फाउन्डेसन समेत सञ्चालन गरेका र हरेक दिन साँझ ६ बजे कोरोना विरुद्ध शक्ति आर्जन सम्बन्धी प्रवचन दिँदै आएका सदगुरुको विचारमा सीमाविहीन रूपमा फैलने क्षमता राख्ने यो रोग नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन। कसरी बच्ने भन्ने पर्याप्त तयारी र प्रचार गरेर घरमै सीमित रहेर भएर भए पनि बच्न जरुरी छ। उनले थप भनेका छन् कि केही सङ्क्रमितहरू मरिसके केही मर्ने वाला छन्। सबैलाई उही पीडामा जान नपरोस् भन्नाका लागि प्रतिबद्धता आवश्यक छ। प्रत्येक नागरिकले भन्नुपर्दछ कि “मैले आउन दिन्न र आइहाले पनि अरूमा पुर्‍याउँदिन”। भोलि टाउको निहुराउने कि टाउको ठाडो गर्ने भन्ने हाम्रै जिम्मामा छ। यदि मानवीयता र मानव सभ्यतामा न्यूनतम क्षति पुर्‍याउने हो भने हामीहरू अहिले नै ज्यादा सजग हुनै पर्दछ।

अहिलेको महामारीले मानिसलाई राम्रोसँग हात धुन, स्यानिटाइजर प्रयोग गर्न र मास्क लगाउन सिकाएको छ। साना साना बाबुनानीहरु पनि भाइरसको सङ्क्रमण रोक्नका लागि के गर्न आवश्यक छ, के गर्न हुँदैन भन्ने बताउन जान्ने भएका छन्। एउटा डरलाग्दो कुरा त के भने कति बेला भाइरस सर्छ र कति बेला लक्षण देखा पर्दछ भन्ने नै पत्तो नपाई भाइरसले मानव स्वास्थ्यलाई आक्रमण गरिरहेको छ। लक्षण नै नभएकाबाट पनि सर्न सक्ने र ढुक्कसँग घुमिरहेका तन्दुरुस्त व्यक्तिहरू पनि भाइरस सार्ने कारक हुन् सक्ने भनेर न्युजिल्याण्डबाट प्रकाशित जर्नलको स्रोत उदृत गर्दै डा. ओममुर्ति अनिलले पनि सचेतनामूलक भिडियो युट्युबमा राख्नुभएको छ।

विल गेट्सको विचार सट डाउनलाई देशव्यापी बनाउनुपर्ने भन्ने छ। सम्पूर्ण दिन ७ देखि १० हप्तालाई सट डाउन नगरेसम्म प्रभावकारी लडाइँ नहुने उनको तर्क छ। सामान्य जनजीवनलाई केही अनुशासित एवं कष्टकर बनाउँदा मानवीय विनाश रोकिन्छ भने किन नगर्ने ? उनका अनुसार अप्रिल १२ मा परेको इस्टर मनाउनका लागि सट डाउन खोलिनेछ भन्ने राष्ट्रपतिको अभिव्यक्ति अपरिपक्व रहेको देखियो। विल गेट्सले स्वास्थ्य सुरक्षामा ठुलो रकम दान गरेका मात्र छैनन् कि सम्भावित महामारीसँग लड्न खोप र निदानको प्रसङ्ग सन् २०१५ मै उठाएका थिए।

रोग फैलँदै जानुमा सावधानीको कमी र कमजोर स्वास्थ्य प्रणाली नै हो। नियन्त्रणका अन्य संयन्त्र कमजोर रहँदा लकडाउन एक मात्र विश्वसनीय उपाय रहेछ । चीनले कोरोना नियन्त्रणका लागि जे जस्तो सामाजिक प्रणाली अपनायो अरूले समेत अनुकरण गर्न लायक छ। एउटा सहरलाई व्यवस्थापकीय सहजताका लागि उपयुक्त सङ्ख्यामा ब्लक र ग्रिडमा विभाजन गरेर सामाजिक प्रबन्धक तोक्ने र ती प्रबन्धक र अन्य कर्मचारीमार्फत स्थानीय सरकारलाई आवश्यक जानसांख्यिक विवरण तथा स्वास्थ्य तथ्याङ्क उपलब्ध गराउने काम गर्दछन्। चीनले यसअघि नै बसालेको यो पद्धतिले यस पटक मात्र पूर्ण रूपमा काम गरेको बताइन्छ। हामीकहाँ पनि स्वास्थ्यसम्बन्धी सूचकमा उत्साहजनक नतिजा दिनमा भूमिका खेल्ने स्वास्थ्य कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक पुँजीको प्रयोग गर्ने विकल्प छ। सरकारले स्वयंसेविकाहरूलाई सुविधासहित परिचालन गर्ने नीति लिएको छ जुन सह्रानीय छ । त्यसबाहेक वातावरणीय सरसफाइ अभियन्ताहरू, आर्ट अफ लिभिङको तालिमप्राप्त युवा समूह लगायतलाई समेत प्रोत्साहित गरी कोरोना विरुद्धको जागरणमा परिचालन गर्न सकिन्छ।

पुनः फ्युचरिङका लेखक कर्निसले भने जस्तै हाम्रो सोचमा भविष्यदर्शी क्षमता आवश्यक छ र यसले खास गरी ५ वटा सरोकारको माग गरेको गरेको हुन्छ। पहिलो, भविष्यमा पर्ने अप्ठेरो लागि तयार रहनु, दोस्रो, भविष्यको आवश्यकता अनुमान गर्ने र सबै अनभिज्ञ क्षेत्र पुरै अनभिज्ञ हुँदैन भन्ने मान्यतालाई अवलम्बन गर्ने। तेस्रो, भविष्यको अनुमान गर्नु अति आवश्यक छ तसर्थ जे जति सूचना छ प्रयोग गर। चौथो, अनपेक्षित नतिजाको पनि अनुमान गर चाहे त्यो राम्रो वा नराम्रो दुवै किन नपरोस्। पाँचौँ, तत्कालीन र दीर्घकालीन दुवै खाले रणनीति अपनाउन तयार बन्नुपर्दछ।

कोभिड-१९ कुनै देश, जाति, समुदाय वा धर्म विशेषले झेलेको चुनौती होइन। यो विश्व मानव जातिले नै भोगेको महामारी हो। विश्व इतिहासमा मानव जातिले प्रकृतिको अत्यधिक दोहन, तीव्र राजनीतिक प्रतिस्पर्धा, आणविक अस्त्रहरूको परीक्षण र प्रयोगको होडबाजी, बेहिसाब औद्योगिकरण र पारिस्थितिक सन्तुलनमाथि मानिसको निरन्तर प्रहारका कारण विश्व समुदाय एकपछि अर्को असुरक्षित बन्दै गइरहेको छ। विश्वबन्धुत्वको नारालाई विश्वकै साझा नाराका रूपमा स्थापित गर्न संयुक्त राष्ट्र सङ्घ लगायतका साझा संस्थाहरू थप क्रियाशील हुन जरुरी छ।

नेपाल कोभिड-१९ को उच्च जोखिममा रहेता पनि हालसम्म महामारीको अवस्था सिर्जना भएको छैन। यसमा सरकारले चालेका कदम, हाम्रो राष्ट्रिय संयोग र पूर्व तयारीको पर्याप्त समय जस्ता पक्ष जिम्मेवार छन्। तर, हामी यसैमा सन्तुष्ट बन्न सक्ने अवस्था भने छैन। सम्भावित महामारीको जोखिमबाट बच्न पूर्व तयारीका साथै विपद्को सामना गर्ने नीति, विधि, संरचना, जनशक्ति र उपकरणलाई पनि त्यत्तिकै तम्तयारी हालतमा राख्न जरुरी छ। अर्कोतिर अर्थतन्त्रका मुख्य आधार स्तम्भ विप्रेषण र पर्यटन कोरोनाका कारण शिथिल बनेको परिस्थितिमा राष्ट्रिय अर्थतन्त्रका नयाँ विकल्पको खोजी अत्यावश्यक भइसकेको छ। यतातिर गम्भीरतापूर्वक पहलकदमी लिएर मात्र नेपालले कोरोनाको विश्वयुद्धमा आफूलाई विजयी बनाउन सक्नेछ। कोरोनाबाट थप मानवीय क्षति हुन नदिन हामी सबै एकजुट हुनुको विकल्प छैन । साथै हाम्रो अर्थतन्त्रलाई थप क्षतविक्षत हुन नदिन एवं मानवीय क्षतिलाई समेत बढ्न नदिने गरी क्रमशः लकडाउनलाई खुकुलो बनाउनका लागि सबै व्यक्ति, संस्था र सरकारहरूले हातेमालो गर्ने अति नै संवेदनशील समयका रूपमा हालको समयलाई लिनुपर्दछ ।

(लेखक सुवेदी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हुन् ।)

Tags :
प्रतिक्रिया दिनुहोस