काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को उपचारपछि घर फर्किएका तीन जनाको रिपोर्ट फेरि पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँमा उपचार गराएका एक र वीरगन्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजेटिभ देखिएपछि उनीहरूलाई पुनः अस्पताल भर्ना गरिएको हो ।
यसरी अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगन्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् ।
उनीहरूको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।