जेनेभा । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ७ लाख ९ हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ७ सय भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ७२ हजार ४०० नाघेको छ । स्पेनमा भने २० हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ८०० नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८२ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा एक हजार ४०० जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।