कोरोनाको जित सँगसँगैको अस्त्र : यज्ञ र अवतार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनाको जित सँगसँगैको अस्त्र : यज्ञ र अवतार


१५ चैत्र २०७६, शनिबार


विश्व कोरोना भाइरससँग लडिरहेको छ । मानव अधिकारका कुरा गरेर नथाक्ने पश्चिमा मुलुकहरूमा ६० वर्ष कटेका, कुनै न कुनै किसिमको रोगबाट ग्रसित, रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरूलाई बेवास्ता गरिएका समाचारहरू छरपस्ट आईरहेकाछन् । विश्वका हस्ती भनेर चिनिने अमेरिका र चीन कोरोना भाइरसको सङ्क्रमणको पूर्व सन्ध्यामा एक अर्कोलाई दोषारोपण गरे पनि अहिले यस भाइरससँग लड्न एक अर्कोको सहयोग र सहकार्य अनिवार्य रहेको महसुस गरिसकेकाछन् । विश्वव्यापीकरणको सञ्जालमा रहेको नेपालमा पनि कोरोना भाइरस प्रवेश गर्‍यो । नेपालको चौघेरामा रहेका नेपालीहरूमा यो नउब्जिए पनि विदेशमा रहेका नेपालीहरू आफ्नो घर आउँदा यसले पनि प्रवेश पायो । प्रवेश पाए लगत्तै नेपाल सरकारले लिएको पूर्वसावधानका कारण फैलिन चाहिँ पाएको छैन भन्ने विश्वास हामीमा छ ।

नेपाल सरकारले लिएका हरेक कदमलाई सबै नागरिकहरूले सहयोग गरिरहेका छन् र यसबाट मुक्ति नहुन्जेल सहयोग गरिरहनेछन् । यही सहयोगलाई नेपाली नागरिकहरूको धैर्यता भनिन्छ । धैर्यताको बाध फुट्यो भने चाहिँ सरकारले जनविश्वास गुमाउँछ । त्यो जनविश्वास गुम्नु राजकाज, शासन तथा प्रशासन सञ्चालनमा संलग्नहरूको लागि धेरै महँगो पर्न जान्छ । यसै कुरालाई मध्यनजर गर्दै कोरोनाबाट देश क्रमशः मुक्त हुँदै जाँदा नागरिकहरूमा घुसेको डर र हताशलाई चिर्दै उच्च मनोबलयुक्त अवस्थामा कसरी ल्याउने ? रोकिएका विकास निर्माण कार्यहरूलाई कसरी गति दिने ? भत्किएको/जोडिएको सामाजिक संरचनालाई कसरी मजबुत बनाउने ? लगायतका प्रश्नहरूको उत्तर यही बेला खोज्न हरेक नागरिकहरूले सरकारलाई सहयोग, सल्लाह र सुझाव दिनुपर्छ । आएका सहयोग, सल्लाह र सुझावलाई समालोचनात्मक तरिकाले विश्लेषण र संश्लेषण गर्दै सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्छ। जुन नीति सरकारको जनविश्वास प्राप्त गर्ने, अर्थतन्त्रलाई गति दिने तथा भत्किएको/जोडिएको सामाजिक संरचनालाई मजबुत बनाउने अस्त्र बनोस्।यसै सेरोफेरोमा दुई वटा उपाय सुझाउने प्रयास गरेको छु ।

पहिलो उपाय : यज्ञ गर्नुपर्छ । यज्ञ भन्ने बित्तिकै चतराधाम वा कुनै धार्मिक स्थलमामा गएर गेरुवस्त्र धारण गरेर चरु होम गर्नु हो भनेर सिम्पल भाषामा मैले र आम नेपालीले बुझ्ने गरेको शब्द हो । यो पृष्ठभूमिमा यज्ञलाई द्रव्य कार्यको रूपमा बुझ्नुपर्छ । द्रव्य कार्य धनीले मात्रै गर्न सक्ने तर गरिब र निमुखाले कहिल्यै गर्न सक्दैनन् । द्रव्य नहुनेले यज्ञ गर्न सक्दैन । यज्ञ गर्न नसके धर्म मिल्दैन वा ईश्वर भेट्न सकिँदैन भन्ने कुरा शास्त्रको ज्ञाता हुँ भन्नेहरूले गरेको पर्याप्त सुन्न पाइन्छ । तर यज्ञको यो व्याख्या गलत हो । कुनै पनि शास्त्रमा यस्तो लेखिएको छैन तर शब्दको गलत अर्थ लगाएर पण्डित्याई गरेको मात्रै हो । वास्तवमा भन्दा यज्ञ शब्दले त कुशलतापूर्वक राज्य सञ्चालन गर्नुलाई बुझाउँछ जुन कुरा भागवत गीतामा उल्लेख गरिएको छ । गीतामा भएको ज्ञानको परीक्षण गर्ने कुनै पनि विज्ञान भेटिएको छैन। ध्रुव सत्य कुराको परीक्षण नै हुँदैन ।

यज्ञ गर्नको लागि तयारी पर्याप्त चाहिन्छ । तयारीलाई मजबुत बनाउन राज्य संयन्त्रको विकास गर्नुपर्छ । राज्य संयन्त्रको महत्त्वपूर्ण कडी भनेको नीति हो । कार्यान्वयनयोग्य र प्रतिफल सुनिश्चित हुने नीति बनाउन जति गाह्रो काम यज्ञ गर्ने क्रममा कुनै पनि छैन । यस्तो जटिल कार्यलाई सहज बनाउन अहिलेको वातावरण अनुकूल रहेको छ ।सबै नागरिकहरू अव के गर्ने ? कसरी गर्ने ? सरकारको भूमिका के हुनुपर्ने ? प्रदेश तथा स्थानीय सरकारहरूको भूमिका कस्तो हुनुपर्ने ? अबको अर्थ राजनीतिक यात्रा कता जानुपर्छ वा जाला ? भन्ने प्रश्नहरूको उत्तर खोजिरहेका छन् । यस अवस्थामा यज्ञको तयारीको लागि सरकारले दुई वटा उपायहरू अवलम्बन गर्नु जरुरी छ ।

एक: नीति प्रतिस्पर्धा कोषको स्थापना गर्नुपर्छ । धेरै कोष स्थापना भएका छन् । ठुलो रकम पनि सङ्कलन भएको पनि छ । तर रकम खर्च गर्न नसकेर त्यसै निष्क्रिय बसिरहेको छ भने केही कोषबाट खर्च भएको रकमको हिसाबकिताब नै नभएको गुनासो पनि सुन्न सकिन्छ । हरेक विपद् आउने बित्तिकै सोही विपद्को नामधारी कोष खडा खडा गर्न सरकारी क्षेत्र, नीजिक्षेत्र तथा गैरसरकारी संस्थाहरू लागिपर्छन् । कति रकम को कसबाट सङ्कलन हुन्छ र कहाँ खर्च हुन्छ हिसाबकिताब सार्वजनिक हुँदैन । सरकारले अहिले पनि कोरोना भाइरस संकमण, नियन्त्रण तथा उपचार कोष (राष्ट्रिय वाणिज्य बैङ्क खाता नं. १९६००००००११०१) खडा गरेको छ । सबै निजामती कर्मचारीहरूको तलबबाट निश्चित रकम कट्टा गरी यस कोषमा जम्मा गर्ने निर्णय भइसकेको छ । कोष सञ्चालन कार्यविधि तयार भएको हुनुपर्छ । यस पटक सरकारले कसैलाई पनि कोरोना कोष खोल्न अनुमति दिएको छैन । कसैले खोलेको भए जम्मा भएको रकम सात दिनभित्र सरकारले खोलेको कोरोना कोषमा जम्मा गरी त्यस्तो कोष बन्द गर्न निर्देशन समेत दिई सकेको छ । यो सकारात्मक कुरा हो ।

यस्तो कोष स्थापना गरेर रकम सङ्कलन गरी रहनु भन्दा विगतमा स्थापित कोषमा रहेको रकम, प्रदेश तथा स्थानीय सरकारसँग रहेको निष्क्रिय रहेको रकम तथा अबण्डा रहेर बसेको रकम कार्यविधि बनाई खर्च गरेको भए प्रभावकारी हुने थियो कि भन्ने बहस फुर्सदमा गर्न सकिएला तर अहिले भने हालसम्म स्थापना नै नभएको नीति प्रतिस्पर्धा कोष स्थापना गरेर त हेरौँ । कोरोना सङ्क्रमण नियन्त्रणको लागि आवश्यक नीति, सङ्क्रमण नियन्त्रण पछि गर्नुपर्ने यज्ञको लागि आवश्यक पर्ने नीतिको मस्यौदा प्रस्ताव तयार गरी बजारमा छोडिदिऊ । प्रत्येक नागरिकहरूलाई नीतिको विकल्प सहित प्रस्तुत हुन आव्हान गरौँ । पीपीइ के हो ? कस्तो चाहिन्छ ? मापदण्ड के हो ? चिकित्सकहरूको भूमिका कस्तो हुनुपर्छ ? व्यवस्थापकहरूको भूमिका कस्तो हुनुपर्छ ? कर्मचारीहरूको भूमिका के हो ? निजी अस्पतालको भूमिका कस्तो हुनुपर्छ ? लगायतका प्रश्नहरूको उत्तर खोज्न गाँड कोराकोर गर्नै पर्दैन । यज्ञको तयारीका लागि उठाइएका प्रश्नहरूको जवाफ खोज्न कुनै महाभारत नै हुँदैन ।

आजको युग भनेको ज्ञानमा आधारित कामदारहरूको हो । ज्ञान भएका मानिसहरू अफिसमा खडा हुनु नै पर्दैन । ज्ञानमा आधारित कामदारहरू तथा नीति अनुसन्धानकर्ताहरू(राष्ट्रिय तथा अन्तर्राष्ट्रिय) लाई सोही कोषबाट रकम दिने व्यवस्था गरौँ । हरेक नागरिकलाई सुझाव दिए बापत केही रकम दिने व्यवस्था गरौँ । यसले नागरिकलाई नीति माथिको अपनत्वबोध गराउँछ । सित्तैमा नगद छर्नु भन्दा केही लिएर नागरिकलाई दिने व्यवस्थाले राज्यलाई केही दिनुपर्छ भन्ने भाव नागरिकमा विकास हुन्छ । नीति अध्येताहरू तथा नलेज वर्करहरुले समस्यासँग लड्नको लागि चाहिने जनशक्ति, स्रोतसाधन तथा स्रोत प्राप्त गर्ने विभिन्न विकल्पहरू ल्याउँछन् । त्यसमा राजकाज, शासन तथा प्रशासन सञ्चालन गर्नेहरूको विवेक तथा चातुर्यता मिसाएर कार्यान्वयन इमानदारीका साथ गरिदिऊ । समस्याको समाधान आउँछ । अहिलेको समस्या भनेको रकमको भन्दा पनि ज्ञान, विवेक र नवप्रवर्तनको हो । यो समस्याको समाधान नीति प्रतिस्पर्धा कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने हुन सक्छ भन्ने मेरो भनाइ छ ।

दुई: कामविनाको भिड बन्द गर्नुपर्छ । जुन समस्या समाधानका लागि समिति वा समूह बनाइएको हो त्योसँग सम्बन्धित उच्च निर्णयकर्ता, विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माताबाहेक अरूको भिड जम्मा गर्नु जरुरी छैन । पाँच जनाको समितिको बैठकमा पुच्छ्रे पचास जना चाहिँदैन तर असी जना पनि हुन सक्छन् यदि कुनै न कुनै रूपमा विषयवस्तुको ज्ञान नीतिमा मिसाउन सक्ने जनशक्ति हो भने । नेपालमा अधिकांश समितिहरूमा आमन्त्रित सदस्यहरू भनेर उल्लेख गरिएका व्यक्तिहरूलाई आमन्त्रित गरिएको बैठकको विषयका सम्बन्धमा तथ्यपरक र बस्तुपरक एक एक वटा सहयोग, सुझाव वा सल्लाह अनिवार्य दिनुपर्छ भनियो भने तीन जना आमन्त्रित सदस्य पाउन गाह्रो हुने देखिन्छ । खाजाको प्याकेट लिने तथा डिनरको प्लेट उठाउने हरेकबाट कम्तीमा पनि एउटा मात्र सुझाव लिने व्यवस्था अनिवार्य गर्ने हो भने खाजाका प्याकेट उब्रिन्छन् तथा डिनरका प्लेट खपत हुँदैनन् । विनासित्तिमा भिड जम्मा गर्ने वा हुने कार्यविधि तुरुन्तै रोक्न जरुरी छ । अनावश्यक भिडले समाधान दिँदैन । भिड कम गर्ने कार्यविधि कर्मचारी प्रशासनमा, संसद् मा, सरकारमा, प्रदेश तथा स्थानीय तहमा लगायत राज्यका सबै संयन्त्रमा गर्नु जरुरी छ ।

यी दुई वटा उपायले यज्ञको तयारीलाई प्रभावकारी बनाउँछ । प्रभावकारी तयारी गरी सुरु भएको यज्ञले प्रतिफलको सुनिश्चितता गराउँछ । प्रतिफल सुनिश्चित भएपछि नागरिक खुसी हुन्छन् । नागरिक खुसी हुनु भनेको राजकाज, शासन अनि प्रशासन सञ्चालकहरू खुसी हुनु हो ।

दोस्रो उपाय: अवतार लिनुपर्छ । गुरुले बच्चालाई कखरा सिकाउँदा बच्चा जस्तै भएर सिकाउने गर्नुहुन्छ । आफूलाई बच्चाको स्थानमा रहेको सम्झनुहुन्छ । बच्चाको चाख बच्चै भए बुझ्नुहुन्छ । चाख बुझेर सोही अनुसार सिकाउनुहुन्छ। यसैलाई अवतार लिएको भनिन्छ । मास्टरको जमानामा अवतार लिने गुरु पाउन गाह्रो छ । तर हाम्रो समस्याको समाधान भनेको अवतारी नेतृत्व नै हो । आफ्नो वास्तविक स्थान भन्दा तल झरेर वा सरोकारवालाहरूको स्थानमा रहेर वा सरोकारवालाहरू सँगै बसेर समस्या समाधान गर्ने वा समस्याको समाधानको उपाय खोज्न सक्ने नेतृत्व नै अवतारी नेतृत्व हो ।

सर्वसाधारण नागरिक के भन्छन् ? नागरिक भएर, प्रतिपक्ष के भन्छ ? प्रतिपक्षी भएर, प्रदेश तथा स्थानीय सरकारको क्षमता र दक्षता कस्तो छ, सोही ठाउँमा उभिएर ? उनीहरूको अपेक्षा के हो, आफू त्यहाँ भए के अपेक्षा हुन्थ्यो सोचेर ? ह्विप जारी नगरेको अवस्थामा सत्ता पक्षकै सांसदहरूको मत के हो, उनीहरू सँगै बसेर सोचेर ? शपथ खाने राष्ट्रसेवकहरूको भूमिका र शपथ नखाने जिम्मेवार व्यक्तिहरूको भूमिका कस्तो हुनुपर्छ, दुवै भूमिका दिमागमा खेलाएर ? शपथ खाएका व्यक्तिहरूलाई शपथ नलिएका व्यक्तिहरूले खेलाउन खोज्ने मनोवृत्ति र प्रवृत्ति सही वा गलत के हो ? त्यही स्थानमा उभिएर, सङ्कटको बेला नागरिकले गरेका क्रियाकलापहरूलाई कसरी विश्लेषण गर्ने ? नागरिक भएर सोच्ने र समालोचनात्मक विषेलेषण गर्न सक्नु नै समस्याको समाधान निकाल्ने उत्तम उपाय हो ।

निष्कर्ष: अवतार नलिई यथास्थितिमा बसेर कोरोना भाइरससँग लड्न र त्यसपछि उठ्न सकिँदैन । त्यसैले यस विषयमा सोचौँ र यज्ञको तयारीको चरणमा अवतारलाई पनि समाहित गरौँ । सबै सँगै हिडौ तर नेतृत्व अवतारी बनौँ । अवश्य पनि गन्तव्यमा पुगिन्छ । कोरोना सँग लड्ने, भिड्ने र उठ्ने यिनै उपायलाज्ञ आन्तरिकीकरण गरौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस