सम्भावित कोरोना सङ्क्रमित बिरामी फर्काउने ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सम्भावित कोरोना सङ्क्रमित बिरामी फर्काउने ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण


११ चैत्र २०७६, मंगलबार


काठमाडौँ । सम्भावित कोरोना सङ्क्रमित बिरामी भन्दै फर्काउने अस्पतालहरूलाई सरकारले कारबाही सुरु गरेको छ ।

कोरोना भाइरस शङ्कास्पद बिरामीलाई उपचार गर्न नमानेर सरकारी अस्पताल टेकुमा फर्काउने राजधानीका दुई निजी अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले ग्रान्डी इन्टरनेशनल हस्पिटल र अल्का हस्पिटललाई स्पष्टीकरण सोधेको हो ।

हामीले उपचार गर्न सक्दैनौँ भन्ने आशयको वक्तव्य दिएकोले के कारणले त्यस्तो भनेको ? भनेर यी दुई अस्पताललाई स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रशासनलाई बताए ।

‘देशमा सङ्कट परेको अवस्थामा सबैले मिलेर सामना गर्नुपर्ने बेलामा बिरामीलाई फर्काउने कुरा राम्रो होइन’, प्रवक्ता देवकोटाले भने, ‘कुनै एउटा अस्पतालले मात्रै त देशभरिको धान्न सक्दैन नि ।’

अस्पतालहरूले सम्भावित बिरामीलाई पर्सनल पोटेक्सन इक्युपमेन्ट(पीपीइ) र आइसोलेसन छैन भन्दै फर्काउनुलाई पनि तर्कसङ्गत मान्न नसकिने उनको भनाई छ ।

‘पीपीइ छैन भनेर पन्छिन मिल्दैन, जबकि सरकारी अस्पतालहरूले पनि यही बजारबाट नै किनेर काम गर्दै आएको छ’, प्रवक्ता देवकोटाले भने, ‘बाहिरबाट ल्याउन पनि कठिन भइरहेको अवस्थामा यही उत्पादन गर्ने र बजारबाट किनेर काम चलाउन सकिन्छ ।’ सरकारले दिने गरेको पैसाबाट किने पनि हुने भन्ने उनको भनाई छ ।

सम्भावित सङ्क्रमितलाई सुरक्षित तवरले उपचार गर्नुपर्नेमा त्यतिकै पठाई दिँदा अन्य धेरै व्यक्तिलाई सार्ने जोखिमलाईसमेत ती अस्पतालहरूले ख्याल राखेको देखिएन ।

‘बिरामीलाई त्यतिकै पठाउँदा यदि सङ्क्रमित नै रहेछ भने उसले सार्दै आउँछ,’ डा. देवकोटा भन्छन्, ‘सम्भावितलाई आइसोलेसनमा राख्नुहोस् र जहिले बेड खाली हुन्छ भर्ना गरेर उपचार गर्नुहोस् भनेर मन्त्रालयले भन्दै आएको भए पनि उनीहरूले सिधै फिर्ता पठाउने गरेका छन् ।’

ग्राण्डी र अल्का मात्रै होइन, राजधानीलगायत देशका अन्य निजी अस्पतालहरूले उपचार गर्न नमानिरहेका समाचारहरूसमेत आई रहेका छन् । जुन सरासरी गलत हो । उपचार गर्न अटेरी गर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

विश्वव्यापी महामारी घोषित कोरोना भाइरसको सङ्क्रमणलाई भित्रिन नदिन र भित्रिहालेको अवस्थामा नियन्त्रणका लागि सरकार सम्पूर्ण जोड बल लगाएर काम गरिरहँदा ठुला भनिएका अस्पतालहरूको यो खालको व्यवहार कदापि स्वीकार्य हुन सक्दैन । सरकारी सेवा सुविधा लिँदा सबैभन्दा अगाडी तर राष्ट्रलाई परेको बेला पन्छिने यस्ता अस्पतालहरूलाई सरकारले कडा भन्दा कडा कारबाही गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस