तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्थिन्।
घरायसी काममा मात्रै तल्लीन रहने उनीको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उनीसँग थिएन ।
तर अब फुर्सदको समय उनीलाई त्यत्तिकै कटाउनुपर्दैन । उनीलाई यहाँ सञ्चालित सिलाइकटाई तालिमले उद्यमी बन्न सहयोग पु¥याएको छ । निलकुमारी मियाँ फाउण्डेशनले सञ्चालन गरेको तीनमहिने तालिमले उनलाई दिउँसोको समयमा बेफुर्सदिलो त बनाउनेछ नै साथै आम्दानीको स्रोतको बाटो पनि देखाएको छ ।
“दिउँसोको समयमा अब त्यत्तिकै बस्नुपरेन, तालिम लिएपछि उद्यमी बन्न सहयोग पुगेको छ”, सविनाले भनिन्, “घरमै बसेर पनि कपडा सिलाएर आम्दानी गर्ने सोच बनाएको छु ।” काठमाडौँबाट विभिन्न किसिमका कपडा खरिद गरेर ल्याई सिलाएर बिक्री गर्ने उनले जानकारी दिइन् ।
सोही ठाउँ निवासी जुना गुरुङ पनि तालिम लिएपछि उत्साहित छिन् । उनले भनीन्, “फुर्सदको समयमा कपडा सिलाएर आम्दानी गर्ने तयारी गरेको छु ।” बिहान दिउँसो घरको काम पनि सक्नुपर्ने भए पनि उनले एक दिन पनि तालिम छुटाइनन् ।
स्थानीय कसिरा खातुनले कम लगानीमा पनि मनग्य आम्दानी हुने भएपछि तालिमपछि सिलाइकटाई व्यवसाय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिइन् । “घरमै बसेर काम गर्न पनि पाइने र आम्दानी पनि हुने भएकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्छु”, उनले भनिन्, “यसका लागि घरपरिवारको पनि सहयोग पाएकी छु ।”
मियाँ, गुरुङ र खातुनजस्तै यहाँका २४ महिला तालिमपछि उद्यमी बन्ने तरखरमा छन् । तालिम लिनेमध्ये १८ मुस्लिम समुदाय र छ जना अन्य समुदायका महिला छन् ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित तालिम प्रभावकारी भएको फाउण्डेशनका अध्यक्ष रुविना खानले जानकारी दिइन् । “सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपर्दैन”, उनले भनिन्, “महिला अरुको भर पर्ने होइन, आफैँ उद्यमी भएर देखाउनुपर्छ ।”
प्रतिनिधिसभा सदस्य कलिला खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरीन् । “आर्थिकरूपमा आत्मनिर्भर बन्ने सोच बनाएर काम गर्दा कसैबाट पनि अपहेलित हुनुपर्दैन”, खानले भनिन्, “महिला आफैँ सक्षम हुन सक्छन् भनेर समाजमा उदाहरणीय प्रस्तुत गर्नुपर्छ ।”