क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा काठमाडौँकी आस्था दाहाल निर्वाचित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

क्याम्ब्रिज विश्वविद्यालय विद्यार्थी युनियनको अध्यक्षमा काठमाडौँकी आस्था दाहाल निर्वाचित


२४ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा आस्था दाहाल निर्वाचित भएकी छिन् । काठमाडौँकी आस्था विश्वकै प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी हुन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएटअन्तर्गत अध्यक्षमा सहजै निर्वाचित भएकी हुन् ।

उनीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी लुइसा डेरागोनसँग भारी मतले विजयी भएकी हुन् । खसेको २ हजार ७ सय ४४ मतमध्ये दाहालले एक हजार ३ सय ९५ मत प्राप्त गरेकी थिइन् भने लुइसाले ७ सय ८ मत प्राप्त गरेकी थिइन् । भर्सिटी डट सीओ डट युकेका अनुसार यस पटकको चुनावमा २०.८८ प्रतिशत मत खसेको छ।

नेपालमा रहँदा पनि समानता र न्यायका लागि विभिन्न अभियानमा संलग्न रहँदै आएकी दाहालले रातो बंग्ला स्कुलबाट स्कुल शिक्षा हासिल गरेकी हुन् । क्याम्ब्रिज विश्वविद्यालयमा विद्यार्थी हकहित र सामाजिक न्यायका लागि निरन्तर लडिरहेकी दाहालले विश्वविद्यालयमा मानसिक स्वास्थ्य सेवालाई बढवा दिने र विद्यावारिधिका विद्यार्थीलाई दिइने आर्थिक सहयोग बढाउन पहल गर्ने बताएकी छिन्। त्यस्तै विश्वविद्यालय परिसरभित्र हुने यौन हिंसा रोक्न एउटा बलियो संयन्त्र बनाउने प्रतिबद्धता पनि आस्थाले व्यक्त गरेकी छिन्।

क्याम्ब्रिज विश्वविद्यालयमा क्रिमिनोजीमा विद्यावारिधि गरिरहेकी आस्थाले क्याम्ब्रिजबाटै क्रिमिनोलोजीमा एमफील गरेकी हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस