सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गर्ने भनेको संविधान संसोधन अहिले आवश्यक नरहेको बताएका छन्।
सरकारले गर्नु पर्ने जनजिवीका र विकासका काम छोडेर संविधान संसोधनको तयारीमा लाग्नु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको उनले बताएका हुन् ।
राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा बोल्दै अध्यक्ष थापाले सत्तारुढ नेकपाले बिना अर्थमा संविधान संशोधनको तयारी गरेको जनाए।
थापाले देशमा भ्रष्टाचारसँगै धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव बढिरहेकोमा चिन्ता व्यक्त गरे।
उनले संविधान संशोधन नै गर्ने भए राजतन्त्र स्थापना गर्ने गरी संसोधन गर्नु पर्ने थापाले बताए। ‘संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौं,’ उनले भने, ‘जननिर्वाचित व्यक्ति मात्रै कार्यकारी प्रमुख हुने व्यवस्था संविधानमा उल्लेख छदैछ।’
संविधान र संसदको नियन्त्रणमा रहने राजतन्त्र स्थापना गर्नुपर्नेमा उनको जोड छ। थापाले संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउनको लागि नभएको बताए।