गृह सचिव पद रिक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह सचिव पद रिक्त


२० माघ २०७६, सोमबार


काठमाडौँ । गृह सचिव प्रेमकुमार राईले राजीनामा बुझाएसँगै आज(सोमबार)देखि गृह सचिव पद रिक्त भएको छ ।

बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव पद रिक्त भएको हो ।

अवकाशपछि प्राप्त हुने पेन्सन सुविधा बढाउन कार्यकाल छँदै राजीनामा दिने प्रशासकहरूको प्रचलनसँगै पछिल्लो पटक गृह सचिव प्रेमकुमार राईले पनि अवकाशको २ दिन अघि राजीनामा दिएका हुन् ।

माघ २२ गतेबाट अनिवार्य अवकाश पाउने राईले २० गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गराएसँगै बहालवाला सचिव सरह नै ६० वर्ष उमेर नपुग्दासम्म सेवा सुविधा पाउनेछन्। ५० वर्ष उमेर र ३० वर्ष सेवा अवधि पुगेका सचिवहरूले यो सुविधा पाउँदै आएका छन् । राई निजामती सेवामा कुशल, सक्षम, निडर तथा स्वच्छ छविका प्रशासक मानिन्छन् । तर अन्तिम समयमा आएर पेन्सनको लोभ नगरेको भए हुन्थ्यो भन्ने अधिकांस कर्मचारीको भनाई छ ।

निजामती सेवा ऐन, २०४९ को प्रावधानमा टेकेर अवकाशको केही दिनअघि राजीनामा दिएर पेन्सन सुविधा बढाउने लोभमा सचिवहरूले राजीनामा दिँदै आएका छन् ।

‘२०४९ कात्तिक २१ गतेभन्दा अघिदेखि निजामती सेवामा बहाल रहेको कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछ । यसरी स्वेच्छाले सेवाबाट अवकाश लिएको वा २०४९ कात्तिक २१ गतेभन्दा अघिदेखि नै निजामती सेवामा बहाल भई ५८ वर्ष पूरा भएको कारणबाट स्वतः अवकाश प्राप्त गरेको निजामती कर्मचारीको उमेर ६० वर्ष पूरा हुन जति अवधि बाँकी छ, सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिनेछ’ ऐनको दफा ३७ को उपदफा ३ मा भनिएको छ ।

त्यसो त राजीनामा स्वीकृत गरिसकेपछि ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा भएको विषयलाई लिएर समेत कर्मचारी वृत्तमा केही आलोचना सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस