डोटी । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यहरूको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेका लागि डोटी जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
राष्ट्रियसभा सदस्यहरूको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशमा १ जना महिला सदस्य र १ जना अन्य गरी २ जनाको लागि निर्वाचन हुने निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिएका हुन् । उनले भने ‘निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ त्यसपछि नियमित रूपमा विभिन्न कार्यक्रम सँगै धाम ९ गते मतदान गर्ने दिन रहेको छ सोही कार्यपालिका बमोजिम हामी काम गर्छौ ।’
निर्वाचन प्रयोजनका लागि डोटी जिल्ला सदरमुकाम स्थित पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान स्थल तोकिएको जसमा २ वटा मतदान केन्द्र रहेको पनि जानकारी दिए । डोटी जिल्लामा हुने निर्वाचनको लागि सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ७६ गरी २ सय २९ जना मतदाता रहने समेत अधिकृत काफ्लेले बताए ।
सुदूरपश्चिम प्रदेशको लागि डोटी जिल्लामा हुन गइरहेको राष्ट्रियसभा सदस्यहरूको निर्वाचनको लागि सुरक्षा व्यवस्था मजबुत रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने ‘सुरक्षाको सवालमा निर्वाचन अधिकृतको कार्यालय, उमेदबारको सुरक्षा, मतदाताको सुरक्षा व्यवस्थामा कुनै कसुर बाकी राख्दैनौ सबैलाई सुरक्षित महसुस गर्न विश्वास दिलाउँछु ।’ निर्वाचनलाई लक्षित गरेर सुरक्षा व्यवस्था मात्र नभई डोटी जिल्लामा आउने पदाधिकारी र मतदाताको खान बस्नमा समस्या नहोस् भन्नाको लागि व्यवस्था मिलाउन सरोकारवाला निकायहरू सँग छलफल गर्ने समेत प्रजिअ पौडेलले बताए ।
राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिमबाट नेपाली काँग्रेस बाट बाजुराका बद्री पाण्डे र साबिकको नेकपा एमाले बाट कैलालीकी कमला कुमारी ओली निर्वाचित भएका थिए । गोला प्रथाबाट सदस्यको अवधि निर्धारण गर्ने क्रममा उनीहरू २ वर्षको अवधिमा परेका थियो । २ वर्षे पदावधि सकिएपछि सो पदका लागि निर्वाचन हुने भएको हो ।
कार्यालयको आज एक समारोहका बिच जिल्ला अदालत डोटीका जिल्ला न्यायधीस एवं निर्वाचन अधिकृत विदुर काफ्लेले उद्घाटन गरेका हुन् । राष्ट्रियसभा सदस्यहरूको निर्वाचनमा प्रदेश सभा सदस्य मतदाता रहेको हुँदा प्रदेशका मुख्य मन्त्री, मन्त्री हरू पनि सहभागी हुने भएकोले यो निर्वाचनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ । उनन्साठी सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एक तिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ । आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचन द्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । निर्वाचनका लागि सातै प्रदेशमा प्रदेश सभा सदस्य तर्फका ५ सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५ सय ६ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन् ।