काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनःर्गठनको तयारीमा छन् ।
प्रधानमन्त्रीको स्प्रिट समात्न नसकेको भन्दै यसअघि नै पटक-पटक मन्त्रिमण्डल पुनःर्गठनको कुरा उठ्दै आएको भएपनि त्यतिकै सेलाउँदै आएको थियो । तर यति बेला भने कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री र आफ्नै सचिवालयका पदाधिकारीसमेत फेर्ने तयारीमा प्रधानमन्त्री ओली जुटेका हुन्।
प्रशासन स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका सदस्यहरूलाई राजीनामा दिन भनेको बताएको छ ।
दुई तिहाइको सरकार हुँदा पनि कतिपय महत्त्वपूर्ण निर्णय हुन नसकेको भन्दै नागरिक स्तरबाटै निराशा छाई रहँदा पार्टी भित्रैबाट समेत सल्लाहकार टिमले काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।
‘प्रधानमन्त्रीले सपना देख्ने हो तर त्यसलाई पुरा गर्ने काम टिमको हो’ नेकपाका एक उच्च नेताले भने, ‘तर प्रधानमन्त्री सबै कुरा आफैले चाँसो लिनु पर्ने तथा फिल्डमा पुग्नु पर्ने अवस्थाले टिम नमिलेकै हो ।’
पछिल्लो समय कतिपय ऐतिहासिक निर्णय भए पनि त्यसलाई जनतासम्म पु¥याउन नसकेको र अघि बढाइएका योजनाहरू पनि परिकल्पना गरिएअनुसार अघि बढ्न नसकेपछि प्रधानमन्त्री ओली सल्लाहकार टिमसँग असन्तुष्ट रहदै आएको उनको भनाई छ ।
कार्यगतदेखि नीतिगतरुपमै पनि मन्त्रीहरूले जे जसरी आफ्नो उपस्थिति जनाउनु पर्थ्यो त्यो नदेखिएपछि कर्मचारीतन्त्रबाट समेत ‘वाच एण्ड सी’ को अवस्था सिर्जना भएको उच्च प्रशासकहरुको भनाई छ ।
‘स साना कुरामा समेत फोन गर्ने र सचिवसम्मलाई बोलाएर अनेक थरी निर्देशन दिने सल्लाहकारको काम होइन प्रधानमन्त्रीज्यूको हो’, एक सचिवले भने, ‘सल्लाह लिनु र दिनु स्वाभाविकै हो तर निर्देशनात्मक शैलीमा हपार्दा सचिवमा पनि एक किसिमको असन्तुष्टि रहेकै हो ।’
बालुवाटार स्रोतका अनुसार सल्लाहकार समितिका सदस्यहरू मङ्सिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिने तयारीमा रहेको बुझिएको छ ।