राष्ट्रिय सुरक्षा र विद्यमान प्रावधानहरू « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सुरक्षा र विद्यमान प्रावधानहरू


१६ आश्विन २०७६, बिहिबार


  •  भयमुक्तताको अवस्था, अहिंसा, मानवअधिकारको रक्षा, स्वतन्त्रता, सुशासन र न्यायको सर्वसुलभता आदिले नागरिकमा अमन चयनको अवस्था कायम गर्नु नै सुरक्षा व्यवस्थापन हो ।
  •  राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति र वाहृय सुरक्षा व्यवस्थालाई मजबुद बनाउनु नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो । यो राष्ट्रको अस्तित्व, जनताको स्वतन्त्रता र अधिकार, राज्यको भूगोल, सरकार, आर्थिक, सामाजिक सामर्थ्य एवं सैन्य बलसँग सम्बन्धित बहुआयमिक संवेदनशील विषय हो ।
  • वर्तमान सन्दर्भमा सुरक्षालाई मानव सुरक्षाको रूपमा हेर्नु पर्दछ यसले समग्र पक्षहरू , राजनीतिक सुरक्षा, व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षा, वातावरणीय सुरक्षा, स्वास्थ्य सुरक्षा, आर्थिक सुरक्षा, खाद्य सुरक्षा एवं सामाजिक सुरक्षा समेतलाई बुझाउँदछ ।

राष्ट्रिय सुरक्षा 

 

 

  •  डर, भय त्रासबाट उन्मुक्ति
  • सीमा सुरक्षा व्यवस्थापन
  • अति  महत्वपूर्ण व्यक्ति र प्रतिष्ठानको सुरक्षा
  • प्राकृतिक विपदबाट सुरक्षा
  •  सामाजिक सुरक्षा (महिला, दलित, अपाङ्गता, लोपोन्मुख, अशक्तताको अवस्था आदि)

  •  सैन्य सुरक्षा
  • राजनीतिक सुरक्षा
  •  आर्थिक सुरक्षा
  • वातावरणीय सुरक्षा
  •  प्राकृतिक श्रोत साधन र शक्तिको सुरक्षा

  •  सङ्गठित अपराध नियन्त्रण
  • सिमाना सुरक्षा
  •  गैर कानुनी प्रवेशमा रोक
  • महामारी, घातक रोगबाट सुरक्षा
  • बाह्य हस्तक्षेप नियन्त्रण
  • अवैध कारोबार एवं सेटिङ् नियन्त्रण
  • साइबर अपराध निवारण
  • आतंकवादको निषेध

विविध अवधारणा र आयाम
सुरक्षा बहु–आयामिक विषय भएकाले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानव पक्षलाई समेट्छ । सुरक्षा अन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरू, राष्ट्रिय सम्मान र गौरव, जिउधन एवं सामाजिक–सांस्कृतिक मूल्यको जगेर्ना र संरक्षण पनि पर्दछन् ।

वातावरण, सुशासन, विकास र मानव अधिकारको पक्षलाई पनि राष्ट्रिय सुरक्षाले समेट्छ । यी क्षेत्रमा उत्पन्न हुने समस्या र जोखिमलाई न्यून गर्दै समग्रमा राष्ट्रका अति महत्त्वपूर्ण राष्ट्रिय हितहरूको रक्षा, सुरक्षा नीतिको तर्जुमा गरी कार्यान्वयनद्वारा गरिन्छ । यसअन्तर्गत राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने सैनिक सुरक्षा, प्राथमिकता र उपायलगायतका पक्ष र आयामहरू पर्दछन् ।

राष्ट्रिय सुरक्षाले मुलुकको भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा देशको पूर्ण सुरक्षालाई बुझाउँछ । हरेक देशले आफ्ना आधारभूत मूल्य र मान्यतामा आधारित राष्ट्रिय आकाङ्क्षा र अति महत्त्वपूर्ण राष्ट्रिय हितका विषयहरूलाई बाह्य आक्रमण वा आन्तरिक दबाब र चुनौतीहरूबाट सुरक्षित गर्दै संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने हुन्छ ।

राष्ट्र-राष्ट्र बिचमा परम्परागत तनावहरूको स्वरूप फेरबदल भई संसारका विभिन्न भागमा जातीय, भाषिक, क्षेत्रीय र धार्मिक द्वन्द्वहरू भइरहेका छन् । तिनले कतिपय स्थानमा अतिवादी र पृथकतावादी स्वरूप लिई निर्दोष नागरिकहरूले ज्यान गुमाउनु परेको र शरणार्थी समस्या उत्पन्न हुने गरेको छ । सङ्गठित अन्तर्राष्ट्रिय अपराध र आधुनिक प्रविधिको दुरुपयोग बढिरहेको छ । साथै जलवायु परिवर्तन र प्राकृतिक प्रकोपले पर्यावरणीय सन्तुलनमा जोखिम उत्पन्न हुने गरेको छ ।

प्राकृतिक स्रोतहरूको अति र अव्यवस्थित दोहन, अनियन्त्रित जनसङ्ख्या वृद्धि, महामारी रोगहरूको विस्तार, खाद्यान्न असुरक्षा एवम् स्वच्छ पिउने पानीको अभावजस्ता समस्या देखापरेका छन् । आपूर्तिमा समस्या उत्पन्न हुने गरेको छ । स्रोतहरूमा सीमित व्यक्ति तथा राष्ट्रहरूको बढ्दो आधिपत्यले असमानताको सिर्जना गरी द्वन्द्व उत्पन्न हुने गरेको छ । यसप्रकार अन्तर्राष्ट्रिय सुरक्षा वातावरण जटिल तथा चुनौतीपूर्ण बन्दै गएको र परिवर्तित भइरहेको परिस्थितिमा राष्ट्रिय सुरक्षा सुदृढ हुनु अत्यावश्यक छ । आन्तरिक र बाह्य परिस्थितिको समयमै विश्लेषण गरी रक्षा नीति, परराष्ट्र नीति, अर्थ नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीतिका माध्यमबाट राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने हुन्छ । यसका लागि राजनीतिक, आर्थिक, कूटनीतिक, सुरक्षा र सूचनाजस्ता शक्ति साधनको समुचित समायोजन गर्न र राष्ट्रिय सुरक्षा लक्ष्य हासिल गर्न राष्ट्रिय सुरक्षा नीति प्रवर्द्धन गरी सुरक्षाको सुदृढीकरण गर्न आवश्यक छ ।

नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू
(क) राष्ट्रिय सुरक्षा नीति : निर्देशक नीति

  •  राष्ट्रिय सुरक्षा नीति : निर्देशक नीतिका रूपमा रहनेछ क्षेत्रगत नीतिहरूको तर्जुमा गर्दा यस नीतिलाई ध्यानमा राख्नुपर्नेछ ।
  •  राज्यसञ्चालनका सन्दर्भमा निर्माण हुने क्षेत्रगत नीतिहरूको राष्ट्रिय सुरक्षा नीतिसँग आबद्धता रहनेछ र सबै नीतिहरू बिच परिपूरक सम्बन्ध रहनेछ ।
  •  सुरक्षा व्यवस्थापन सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहका नीति कार्यक्रमहरू र निर्णयहरू राष्ट्रिय सुरक्षा नीतिको प्राथमिकता, उद्देश्य, रणनीति र कार्यनीतिबाट निर्देशित हुनेछन् ।
  •  राष्ट्रिय सुरक्षा नीति तथा आन्तरिक सुरक्षा नीतिहरूको तर्जुमा तथा सुरक्षा निकायबिचको अन्तरसम्बन्ध, परिचालन विधि समेत राष्ट्रिय सुरक्षा नीति अनुरूप परिभाषित गरी कार्यान्वयन गरिनेछ ।
  •  नेपालको संविधानमा उल्लिखित राज्यका नीतिहरूसँग राष्ट्रिय सुरक्षा नीतिको अन्तरसम्बन्ध र आबद्धता रहनेछ ।

(ख) राज्य शक्तिका संयन्त्र, सुरक्षा समन्वय तथा संस्थागत व्यवस्था

  •  नेपाली जनता नै राज्य शक्तिका मूल स्रोत र राष्ट्रिय सुरक्षाका प्रमुख हुन् । आम रूपमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा अन्य संवैधानिक अङ्गहरूको समग्र राष्ट्रिय सुरक्षामा आ आफ्नो योगदान रहन्छ । राजनीतिक आर्थिक कूटनीतिक, कानुनको कार्यान्वयन, सैनिक, नागरिक सुरक्षा र गुप्तचरी तथा सांस्कृतिक र सामाजिक क्षेत्रको पनि राष्ट्रिय सुरक्षाको सन्दर्भमा आ–आफ्नो योगदान हुनेछ ।
  •  विशेष रूपमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन तथा सुरक्षा संयन्त्रलाई परिचालन र निर्देशनका लागि देहाय बमोजिमका संस्थागत व्यवस्थाको भूमिका रहनेछ :
    १. नेपाल सरकार मन्त्रिपरिषद्,
    २. राष्ट्रिय सुरक्षा परिषद्,
    ३. मन्त्रालय र अन्तर्गतका निकायहरू, र
    ४. सुरक्षा निकायहरू ।
  •  राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, सूचना प्रवाह, निर्देशन तथा अनुगमन सम्बन्धमा समन्वय र एकीकृत रूपमा संयोजन गर्न देहाय बमोजिमका निकायहरू क्रियाशील  रहनेछन् :
    १. राष्ट्रिय सुरक्षा परिषद्
    २. केन्द्रीय / सङ्घीय सुरक्षा समिति, र
    ३. प्रादेशिक तथा स्थानीय, क्षेत्रीय तथा जिल्लास्तरका सुरक्षा समितिहरू

(ग) नेपाली सेनाको प्रमुख जिम्मेवारी :

  •  नेपाली सेनाको प्रमुख कार्य नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई बाह्य घुसपैठ र  अकर्मणबाट सुरक्षा गर्ने, सीमा सुरक्षाका लागि तत्पर रहनु हुनेछ । राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको अवस्थामा त्यसको सामना गर्न नेपाली सेनाको प्रमुख सुरक्षा भूमिका हुनेछ ।

(घ) कानुन व्यवस्थापन कायम गर्नुपर्ने सुरक्षा निकायहरूको पहिलो जिम्मेवारी
१. नेपाल प्रहरी

  •  देशमा कानुन व्यवस्था र आन्तरिक शान्ति सुव्यवस्था कायम गर्दै जनतालाई सुरक्षा प्रत्याभूति दिई जनसहयोग र समर्थन प्राप्त गर्ने,
  •  देशको कुनै पनि स्थानमा हुनसक्ने उपद्रव वा विध्वंस निरोधक कार्य गर्ने,
  •  शान्ति सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्लेषण र प्रवाह गर्ने,
  •  आन्तरिक शान्ति, सुरक्षा कायम गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन विश्वासिलो तथा सक्षम सङ्गठनको विकासका लागि दीर्घकालीन योजना बनाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै जाने,
  •  सबै प्रकारका आपराधिक व्रिmयाकलापको नियन्त्रण रोकथाम, अनुसन्धान र तहकिकात गर्ने, इत्यादि ।

२. सशस्त्र प्रहरी बल :

  •  नेपालको कुनै भागमा भएको वा हुन सक्ने गैरकानुनी सशस्त्र गतिविधि, विद्रोह वा नेपालको राष्ट्रिय एकता भौगोलिक अखण्डता विरुद्धका  क्रियाकलाप, आतंककारी कार्य र दंगा नियन्त्रण गर्न अवाश्यकताअनुसार परिचालित हुने,
  • अपहरण, लुटपाट, सङ्गठित अपराध वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध भएमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशङ्का भएमा नियन्त्रण गर्न परिचालित हुने,
  •  नेपाल राज्यको कुनै भागमा शान्ति र सुव्यवस्था कायम गर्ने प्रयोजनको लागि नेपाली सेना परिचालन भएको अवस्थामा नेपाली सेना परिचालन भएको अवधिभर सम्बन्धित ठाउँमा नेपाली सेनाको निर्देशनमा कार्य गर्ने इत्यादि ।

३. राष्ट्रिय अनुसन्धान विभाग :

  • नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान, एकता, हित र सामाजिक सद्भाव प्रतिकूलका गतिविधि वा कामहरूको बारेमा सूचना सङ्कलन, विश्लेषण र सम्प्रेषण गर्ने,
  • नेपालको संविधान, कानुन र राज्यका विरुद्धमा आन्तरिक र बाहृय रूपमा हुने  क्रियाकलाप तथा त्यस्ता कार्यमा संलग्न सङ्घसंस्था, सङ्गठन र व्यक्तिको बारेमा सूचना सङ्कलन र विश्लेषण गरी आवश्यक निकायमा सम्प्रेषण गर्ने र प्रतिकार्य योजना एवम् सुझाव दिँदै राष्ट्रिय सुरक्षा कार्यमा सघाउँ पुग्ने सूचना नेपाल सरकारलाई उपलब्ध गराउने
  • राष्ट्रिय हित विपरीत हुने राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक साम्प्रदायिक र कुटनीतिक गतिविधिबारे सूचना सङ्कलन र विश्लेषण गरी सम्बन्धित निकाय वा अधिकारीलाई जानकारी गराउने,
  • देशभित्र तथा बाहिर, स्वदेशी तथा विदेशी नागरिकहरूबाट नेपालविरुद्ध गरिने जासुसी एवम् प्रति जासुसी कार्य सम्बन्धी सूचना सङ्कलन, विश्लेषण गरी सम्बन्धित निकाय वा अधिकारीलाई जानकारी गराउने,
  • आतंकवादी तथा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठन तथा आतंकवादको जालो र त्यसबाट मुलुकलाई पुग्न सक्ने खतराको सूचना सङ्कलन र विश्लेषण गर्ने आदी ।

नेपाली जनता नै राज्य शक्तिका मूल स्रोत र राष्ट्रिय सुरक्षाका प्रमुख भएकोले नेपाल र नेपाली जनताको हित, एकता, स्वतन्त्रता, सार्वभौमिकता एवं अधिकारको सुनिश्चितता जस्ता विषयहरू जनचाहना बमोजिम हुनु, शुसासनयुक्त समाज, दिगो विकास, भयरहित वातावरण तथा सुखी नेपाली, समृद्ध नेपाल हुनु नै राष्ट्रिय सुरक्षाको अनुभूति तथा प्रत्याभूति हुनु हो । संविधानको सफल कार्यान्वयनमा, अपनत्वभाव पैदा हुने कुरामा हाल केही चुनौतीहरू खडा भएतापनि आम रूपमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा अन्य संवैधानिक अङ्गहरू एवं सरकारका सम्पूर्ण संयन्त्रहरूको समग्र राष्ट्रिय सुरक्षामा आ-आफ्नो योगदान रहेको छ र सोही अनुरूप नेपालको राष्ट्रिय सुरक्षा र विद्यमान प्रावधानलाई व्यवस्थापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस