कान्छी खेत, एक मौन विवशता ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कान्छी खेत, एक मौन विवशता !


११ आश्विन २०७६, शनिबार


दाइनातिर ल्यापटपमा हिन्दी सिनेमा । देब्रेतिर सरुभक्तको तरुनी खेती ! हुस्सुले ढाकेको अन्धकार खुम्बुको पिलपिले उज्यालोमा हलुका उग्रेको पर्दाबाट छिरेका स-साना घाममा कण । आज दिन नै यस्तै पिरोलिएको छ । यस्ता दिनहरूमा भविष्य र विगतको समीक्षा रोमाञ्चक हुन्छ ।

तलब बढ्यो भनेर खुसी भएको । त्यै पनि कत्ति बच्दैन । खर्च बढेछ । तलबमान जस्तै महँगी नि बढ्यो नि । केरा कोसाको २५ रुपियाँ, त्यही पनि अर्ग्यानिक भनेर २५ मै दिन नि कठिन मान्छन् डोकेहरू । श्रीमतीले काठमान्डु सरु भनेर रोइलो गरेकी छन् । छोरो पढाउने बेला भयो भन्छिन् । छोरोलाई राम्रो शिक्षा दिनत म पनि दुःख गर्दै छु तर ऋण गरी गरी पढाउने हिम्मत आजसम्म आएको छैन । बाबा बितेको वर्ष दिन नाग्यो, घरमा आमा एक्लै हुनुन्छ । फराकिला फाँटहरूमा घाँस काट्दै रोपनी धेर जग्गा सहितको घर सिहार्दै बसेको मान्छे कसैको घरको कोठामा सीमित हुन जान्न भन्नुहुन्छ ।

कुरा ठिकै हो । अब आमासँगै राख्न घर पनि चाहियो । एक निरिह छोरोवाला फिलिंग्स आयो ।

सेवा प्रवेशको ठ्याक्कै ४ वर्ष २ महिना । बैङ्क ब्यालेन्स ६ लाख ५३ हजार ४ सय सच्चालिस । ओहो, अब केही नगरी हुन्न । क्याम्पस पढाएर अलिकति पैसा जोह गरौँ कि सोच्छु । चिनजानका ब्यबस्थापन समितिका अध्यक्ष हुनुहुन्न्छ राई थरका एक जना ।

चार्जमा भएको मोबाइल झिकेर डायल गरे । सर नमस्ते, म एयरपोर्टबाट प्रकाश भाइ । महँगीले गाह्रो भयो हजुर, हजुर अध्यक्ष भएको क्याम्पसमा पार्ट टाइम पढाउन मिलाइदिन पर्‍यो । भौतिक विज्ञानमा स्नातकोत्तर पास गरेको छु । पहिला पढाएको अनुभव पनि छ, श्वास नरोकी आग्रह गरे ।

ठिकै छ बिचार गरौला ,…… अ, तपाइको राजनीति हामीसँग मिल्ला नि हैन ? नत्र लफडा गर्छन् समिति मा । म स्तब्ध ।

तरुनी खेत पढ्न थाले, सरुभक्तले बहुत मिठासका साथ खेतलाई तरुनी बनाएका छन् । तरुनीलाई खेत बनाएका छन् । दोस्रो विवाहलाई कान्छी खेत भन्छन् । छोरो नजन्माउने जेठी खेतलाई कलात्मक हिसाबले अन-उर्वरको संज्ञा दिएका छन् । आफ्नो आधारभूत आवश्यकता पुरा नहुने सेवालाई नि त्यसै भनौ कि यसो सोच्छु, घुस खानेहरूले कान्छी खेतमा बिउ छरेका हुनन्, प्रायःहरुले कान्छी खेतलाई माया गरेको कुरा अख्तियारले रंगेहात समातेको भेटिन्छ ।

सम्झे त्यसै किन नगरूँ । अगाडी पढिरहेछु ‘तरुनी खेति’, कान्छी खेतले नि छोरी मात्रै जन्माए जस्तै मेरो आवश्यकता पुरा भएन भने कसो गरुला ? तेस्मा पनि प्राविधिक हुनुको पिडा कान्छी कहाँ खोज्नु ? आमाको दूध चुसेर नभएको, बाउको घुँडा चुसेर होला र भन्या ? गलत बाटो लाग्नु हुन्न ?

विकृति माथि त ठिकै हो, यहाँ वृत्ति विकास माथि नै प्रहार हुन् थाल्यो । शाखा अधिकृतहरू उपसचिव खुलामा लड्न नपाउने कानुन छलफलमा छ । आफू कार्यरत संस्थानकै कुरा गरे नि १०औँ तह खुला यसपालि खुलाएन । ११औँ र १२औँ तह झन् के सोचिरहनु ।

कार्य सम्पादनकै आधारमा मात्रै बढुवा कुर्नु भनेको मातहतको हाकिमको घरेलु कामदार बस्नु जत्तिकै हो । मिसनको आसमा धेरै फौजीहरू हाकिमको कमारा बसेको सुनेको छु, अब फौजी इतरका सेवामा पनि कमारा प्रवृत्ति सुरु भयो । वृत्ति विकास माथि प्रहार भइरहँदा सबै मौन जस्तै छन् । सरकार मौन, सत्ता मौन, जनता मौन, केही गर्छु भनेर बसेका, जीआरइ गरेर नि यतै सेवा गर्न बसेकाहरू मात्रै फेसबुक र ट्विटर तिर दुखेसो पोखेको देखिन्छ ।

बोन्ड ब्रेक गरेर ‘कान्छी पेशा’ निरुत्साहित गर्ने अस्त्रको रूपमा रहेको छड्के प्रवेश रोकिनु भनेको कस्तो अवस्था होला ? तर कसले बुझ्ने-कसले बोल्ने ? सामूहिक सौदावाजीको जिम्मा पाएकाहरू व्यक्तिगत सौदावाजी मै सब कुरा मिलाउने सुनिन्छ । व्यक्तिगत ट्याग लगाएर कसले बोलोस् फेक ह्यान्डल चलाएर मन्त्री वा हाकिमको गाली गर्नुबाहेक अरू अस्त्र केही भेटिन्न बजारमा ।

पढेर बस्ने वा अन्य काममा व्यस्त हुने अवस्था आउनु भनेको सरकारले ब्युरोक्रेसीलाइ बिजनेस दिन नसकेको अवस्था हो । काम नै रोकेर कुनै कर्मचारी किताबमा झुल्दैन, किनभने अहिलेका उपभोक्ता निकै सचेत छन्, हर तरह कुरा उठाइ रहन्छन् । नयाँ आयाम थप्नको लागि केही अध्ययन जरुरत हुन्छ । जसको एउटा उदाहरण बन्न सक्छ शिक्षण पेसा । अध्ययन नगर्दाको फल र वृत्ति विकासका अवसर कम हुनुको प्रयोग नेपाली शिक्षकले देखेका छन् । विद्यार्थीले भोगेका छन् । के अव यस्तै अवस्था अन्य सेवाले पनि भोग्नु पर्ने बेला आएको हो ?

टेलिफोन को घण्टी बज्यो ९८४८५……. वाला नम्बर । कतै घुम्न जाने साथीहरूको कल होला सोचे । मुड नि अलिक अफ थियो । जिन्दगीको बारे सोचिरहँदा प्रायः कतै जान मन हुन्न । रेस्पोन्स गरिनँ । फ्रिक्वेंट कल आयो । उठाएँ, सहकर्मी साथीको कल रहेछ । उही कर्मचारीकै पिडा । भाइले बिहे गर्न थालेको पैसाको आवश्यकता परेछ, सहयोगको लागि कल गरेका रहेछन् । नदिन मन हुन्न, दिन पैसा कान्छी खेतमा बिउ नरोपेका अधिकांश कर्मचारीहरूको यो अवस्था सामान्य नै हो ।

कोरिया गएका मित्रलाई भन्छु पठाइ दिए भने सहयोग गरम्ला है भन्दै फोन बिट मारे । घर, परिवार, आफन्तले गर्ने तुलना भनेका यिनै हुन् । सहरमा घर बनायो कि बनाएन ? ऋण माग्दा दिन्छ कि दिँदैन ? श्रीमतीको गलामा कति तोलाको सुन झुन्ड्याएको छ ? छोराछोरीलाई कत्तिको महँगो स्कुलमा पढ़ाउछ ? नाइट आउट पार्टी कत्तिको जान्छ ? बिचौलियासँगको नेक्सस कस्तो छ ? मन फेरी अवाक् हुन्छ, सन्नाटा छाउँछ ।

प्रिय सरकार, सरकारी सेवामा छड्के प्रवेश भएन भने तपाईँहरुकै लाइनमा हुन्छ कर्मचारीतन्त्र पनि । लिङ्क हुँदासम्म, नेक्सस हुँदासम्म नयाँ प्रयोग हुन्न नै । चुनावको बेला मा टिकेट जस्तै बढुवाको बेलामा नियमक वा शक्ति केन्द्र अगाडी घडा टेक्न विवश हुनुपर्छ । काम दिनुस्, गरेन भने कारबाही गर्नुस् । जुन कार्यको लागि प्रचलित नियम पर्याप्त छन्, नत्र वृत्ति विकासमा यसरी लगाम लगाएर देशमा नयाँ कार्य हुन सक्दैन । कुनै पनि सङ्गठनले कुलमान जन्माउन सक्दैन । बस्ने आवास, पढ्ने स्कुल, उपचार गर्ने अस्पताल, हिँड्ने गाडीको बेवास्ता गरेर कर्मचारीको मोनोवल उच्च पार्नुस् । न रमाउने अवस्था छ न कमाउने अवस्था छ । न नाम हुने अवस्था छ न काम हुने अवस्था छ । सीमित घेरा तोडेर हेर्नुस् न ।

सिंहदरवारमा पढ्न खोज्नेलाई बरु डोल्पा पठाउनुस् काम गरेर बस्छ । डोल्पा काम गरिराखेका लाई सिंहदरवारमा ल्याउनुस् उसले पढेर हैन काम गरेर आफूलाई प्रमाणित गर्ने छ ।

कर्मचारीतन्त्र भनेको खालि खेत हो, कस्तो बिउ छर्ने भन्ने काम राजनीतिज्ञको हो, ब्यबस्थापिकाको हो । ठिमाहा रोप्नु भयो भने मार्सी फल्दैन, जेठो बुढो झैँ लटरम्म झुल्दैन । मल हाल्नु भएन भने हरियो नहुन सक्छ । पानी नलगाए सुक्ने छ । टुसा मर्ने छन् अनि उत्पादन झर्ने छ । एक पटक सोचिदिनुस् ।

झिसमिसे साँझ अनौठो कल्पना, भविष्यको खोजी गर्दा गर्दै ‘तरुनी खेत’ सकियो । सरुभक्तले कल्पना गरेको पात्रले अन्त्यमा फेरी अर्को खेत किन्छ । छोरोको लागी । छोरा नै चाहिने मोनोवृत्तिबाट ग्रसित समाजलाई त्यहाँ भन्दा ठुलो व्यङ्ग्य अरू केही हुन सक्दैन ।

आफ्ना सन्तान छोरा हुन् या छोरी जे भए नी सन्तोष मान्नु पर्छ । कडा सन्देशका बिच प्रस्तुत भए सरुभक्त ।

हलो जोत्ने हलीलाई आफ्नै खेतको चिन्ता हुन्छ । किसानलाई उत्पादनको चिन्ता हुन्छ । हली भएको हुनाले जोत्ने खेतको चिन्ता हो, ज्यालाको चिन्ता हो । अन्न सही नपरे हली लड्छ, खेत जोतिन्न, अक्सर राम्रो फल्दैन ।

प्रतिक्रिया दिनुहोस