चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा


प्रशासन संवाददाता

९ आश्विन २०७६, बिहिबार


काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा रहेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक र फलदायी बनाउन सबै प्रकारको तयारी गरिने उल्लेख गरे ।

मन्त्रिपरिषद्को असोज ७ गते भएको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘हामी (सरकार) चिनियाँ राष्ट्रपतिको भ्रमणको तीव्र प्रतिक्षामा छौँ, भ्रमणको मिति समयक्रमसँगै टुङ्गो लाग्छ, हामी यस प्रकारका भ्रमणलाई उच्च महत्व र सम्मान पनि दिन्छौँ ।’ उनले उहाँ(सी)को भ्रमणलाई द्विपक्षीय हित तथा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने गरी सरकारका तर्फबाट मात्र नभई सञ्चारमाध्यम र नागरिकका तर्फबाट पनि सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री बाँस्कोटाले समस्यारहित सम्बन्ध रहेको छिमेकी मुलुक चीन अहिले विश्वको दोस्रो शक्तिशाली मुलुकको रुपमा रहेको र त्यहाँबाट विगत २३ वर्षदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको भ्रमणलाई विशेष महत्वका साथ लिइएको उल्लेख गरे।

नेपाल सरकारले आफ्नो कूटनीतिक मामिला सञ्चालनमा यो वर्षलाई नयाँ उच्चस्तरीय भ्रमणको आदानप्रदानको वर्षको रुपमा नीति र कार्यक्रममै स्पष्ट रुपमा अघि बढाएकाले उत्तरी, दक्षिणी तथा युरोपियन वा अमेरिकन जुनसुकै मुलुक र मित्रराष्ट्रका भ्रमण भइरहनुपर्छ भन्ने सरकारको मान्यता रहेको उनले स्पष्ट पारे । मन्त्री बाँस्कोटाले विश्वमै द्रुत गतिमा विकसित हुँदै गइरहेको छिमेकी मुलुक चीनको आर्थिक, सामाजिक उपलब्धिबाट नेपालले पनि लाभ लिन चाहेको बताए।

यही असोज ६ र ७ गते काठमाडौँमा भएको नेपाल र चीनका दुई सत्तारुढ पार्टीले पहिलोपटक संयुक्तरुपमा आयोजना गरेको विचारधारात्मक प्रशिक्षणलाई लिएर नेकपा सी चिनपिङ विचारधारामा अघि बढेको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘नेकपा नेपाली जनताको पथतिर लाग्छ, (कुनै पनि देशको क्रान्ति वा परिवर्तन त्यस देशका जनताद्वारा निर्धारित हुन्छन् जुन समयको मागअनुरुप हुन्छ) ।’

‘विचार गोष्ठीलाई लिएर केहीले ‘तामझाम, बेइजिङ निर्यात विचार’ भनेर लेखेका छन् कुनै पनि विद्वान्, दार्शनिकका राम्रा विचारलाई जसले जसरी पनि ग्रहण गर्नसक्छ, ‘डेमोक्रेसी र समाजवाद’ पनि अन्य मुलुकमै विकसित भएको हो नि, त्यसैले अचम्मका विषयमा बहस पैरवी गरेर समयको बर्बादी नगरौँ बरु चिनियाँ राष्ट्रपतिको भ्रमणको सन्दर्भलाई लिएर मुलुकले कसरी आर्थिक लाभ लिनसक्छ, त्यसतर्फ एकजुट भएर लागौँ’, मन्त्री बाँस्कोटाले भने ।

सरकारका मन्त्री सहभागी विचार गोष्ठीमा सहभागी भएको भन्ने सन्दर्भमा मन्त्री बाँस्कोटाले नेकपाकै सरकार भएकाले त्यसका मन्त्री कार्यक्रममा सहभागी हुनु कुनै नौलो विषय नभएको पनि स्प्रष्ट पारे । विषयलाई अन्यत्र तोडमोड नगर्न आग्रह गर्दै उनले भने, “हामी जनअनुमोदनमाथि विश्वास गर्दछौँ ।”

यी हुन् मन्त्रिपरिषद्का निर्णय

मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरेको छ । नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत भएको छ । एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही रु तीन लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

बैठकले चितवन जिल्ला, भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मङ्सिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । नेपाली नागरिक नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गर्दै उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महीना १५ दिन थपिएको छ ।

मन्त्रिपरिषद्ले नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्नेसम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ । नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले बताए ।

शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ । राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरुयोजना स्वीकृत भएको छ ।

पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस