षडयन्त्रकारी सडक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

षडयन्त्रकारी सडक


४ आश्विन २०७६, शनिबार


नेपालको सडक सधै नाङ्गो छ,उदाङ्गो छ, त्यसैले सडकलाई लाज छैन । कालो अलकत्राले जति लाज छोप्ने प्रयास गरे पनि उसको लाज लुक्दैन । सबैले उसको लाज छर्लङ्ग देख्छन । भनौँ नेपालको सडक षडयन्त्रकारी छ । प्रतिपक्षीको भूमिका जस्तो छ सडकको अवस्था । त्यसैले त सडकमा जहाँ पायो त्यही भ्वाङ परेको छ, लाजै नभैकन । यदि सडकलाई लाज हुने भए सधैँ एउटै रुपमा र विभिन्न स्वरुपमा रहन्थ्यो होला । लमतन्न परेर भुइँमा पूर्वपश्चिम, उत्तरदक्षिण, पश्चिमउत्तर, दक्षिणपूर्व, पश्चिमदक्षिण, पूर्वउत्तर, पश्चिमपूर्व र दक्षिणउत्तर लम्बेतान परेर वा कहीकतै नागबेली परेर, उकालो ओरालो हुँदै घुम्तीमा दोब्रिएर, नेप्टिएर, चेप्टिएर, घोप्टिएर भएपनि सडकले आफ्नो लाज लुकाउने प्रयास गरेको छ ।

एउटा उखान छ दुःखियाले आफ्नो दुःख जतिसुकै लुकाए पनि लुक्दैन रे तर सुख लुकायो भने लुक्छ । त्यस्तै सडकले पनि आफ्नो दुःख लुकाउने प्रयास नगरेको होइन तर यो कुलङ्गार वर्षाले सबै दुःख देखायो केही बाँकी नराखि । हरेक प्रयासबाट लुकाउँदा लुकाउँदै पनि लुकेन सडकको दुःख ।

अरु भन्दा पनि राजधानीको सडक बढी निर्लज्ज भएको छ । किनभने बालुवाटार जस्तो ठाउँमा भ्वाङ परेर सडकले आफ्नो लाजलाई सबैका सामु देखाएको छ । ढुङ्गाटार, माटोटार जस्तो ठाउँमा प्वाल, भ्वाङ जे जे परे नि केही थिएन तर नेपालको मुख्य ठाउँमा त्यसरी भ्वाङ पर्नु भनेको नियोजित षडयन्त्र हो कि भन्ने आशङ्का लागेको छ मलाई । यस विषयमा संसदले सडकलाई बोलाएर स्पष्टिकरण नसोधि हुँदैन । तर म संसद सदस्य होइन र संसद सदस्यसँग मेरो चिनजान र हिमचिम पनि छैन । देशकै राजधानी, जिल्ला सदरमुकाम, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको सडकले हेपेर जहाँ पायो त्यही जे मन लाग्यो त्यही गरेर लाज देखाएको छ । आज बालुवाटारमा भ्वाङ पर्ने सडक भोलि शितल निवास, सिंहदरबार वरपर पोखरी बन्ला र सरकार भ्यागुतो, सर्प, बिच्छी, गँगटो पालन गर्न पनि सक्छ । माछा पालन गर्न खर्च चाहिन्छ र नेपालमा माछा विज्ञहरु नै छैनन् । भ्यागुता र सर्प पालन गर्न खर्च चाहिदैँन र विज्ञहरु पनि चाहिदँैन । वर्षामा भ्यागुता र सर्प त जथाभावी निःशुल्क पाइने, पालनपोषणमा खर्चै नलाग्ने, खानादाना पनि दिनु नपर्ने भएकोले माछा पालन भन्दा यो सहज रुपले फस्टाउने देखिन्छ । सडकले यो जुक्ती अपनाएका खण्डमा फाइदै फाइदा हुने योग ज्योतिषहरुले जबरजस्ती निकालेका छन ।

वास्तवमा भन्ने हो भने नेपालको सडक बहुरुपी छ । अनेक रुप र रङ्गमा हाम्रा अगाडि लमतन्न परेर दुनियाँलाई इज्जत लुटाएर जीवन धान्न पल्केको छ । कतै धान रोप्न हिल्याएको खेतझैँ त कतै भ्यागुता सर्प पालनका लागि खनेको पोखरी जस्तो छ । कतै मेची, कोशी, गण्डकी, त्रिशुली, महाकाली, बाग्मती, कर्णाली भएर बगिरहने जस्तो नेपालको सडक साँच्चै भन्ने हो भने विश्वकै नमुनाका रुपमा नेपालीका सामु सुतेको छ । यदि सडक उठेको भए सडक बहुरुपी भएर रहदैँनथ्यो होला । जे होस नेपालमा सडक छ र त्यसले नेपालीलाई रमिता देखाएको छ,, रुवाएको छ, हँसाएको छ । कतिपयलाई उठिबास लगाएको छ । कतिपयलाई सडकमै बास बनाएको छ । कतै धुले छ, कतै हिले छ त कतै अखरक्कछ । कतै जिङरिङ छ त कतै बिफरको रोगीझैँ भएर सुतेको छ । दिनभरी र रातभरी पनि सुतिरहने यो सडक कतिपय ठाउँमा न लालपुर्जामा छ न नक्सामा छ । बरु छ भने व्यक्तिको नाममा छ । नेपाल सरकारको सडक व्यतिmका नाममा हुन्छ । व्यतिmको जग्गा सडकका नाममा हुन्छ । यहाँ यस्तै यस्तै रमाइला कुरा हुन्छन । नहुनु पर्ने काम कुरो हुन्छन हुनुपर्ने कुरो एकातिर कुम्लो बोकी थिमीतिर भनेझैँ हुन्छ ।

अचेल नेपालका पाखाभित्ता सबैतिर सडकै सडक छन । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका ,महानगरपालिका, जिल्ला,प्रदेश, क्षेत्र र राष्ट्रिय सबै प्रकारका सडक छन । यत्रो सडक सञ्जाल भएको देशमा ल्हासा जानु कुति बाटो भनेझैँ आफ्नै घरभित्र पस्न अर्काको द्धार चाहार्नु पर्छ । त्यसैले पनि यो लाजपचेको नकचरो सडकले हाम्रो दिमाग खाएको छ । भनाँै नेपालको सडक वर्षाका समयमा पानीजहाज र डुङ्गा चलाउन, माछा मार्न भ्यागुता सर्प पाल्न बनाइएको जस्तो भैरहेको छ । हिउँदमा वालुवामा चल्ने जहाज र वर्षामा पानीजहाज चल्ने नेपालको सडकको तडक भडक देख्दा त नेपालको विकास सगरमाथाको चुचुरोमा पुगेर चीनतिर ओरालो लागेको जस्तो भान भैरहेको छ । किनभने नेपालको चारैतिर भिर, पहरा, पाखा, पखेरा, टारबारी सबैतिर सडककै सडक जन्मिएको छ । विना गर्भधारण जन्मिएको यो न्वारानविनाको अनामे भनौँ वा बेनामे सडकले कतिको घरबास उठेको छ, कतिको ज्यान गएको छ । यो लाज नभएको नकचरो सडकका कारण कतिपयको आफन्तसँग सम्बन्धविच्छेद भएको छ । कतिपयसँग भने पुरानो सम्बन्ध जोडिएको छ । कतिपयसँग नयाँ सम्बन्ध गाँसिएको छ ।

मौसमअनुसार रुप फेरी रहने यो सडकको छेपारे प्रवृतिले देशका सय प्रतिशत जनतामा दुईसय प्रतिशत जति वाक्कदिक्क भएका छन । सवारी धनी, सवारी चालक, शिक्षक, विद्यार्थी, अभिभावक, हली, गोठाला, किसान, नेता, व्यापारी, कर्मचारी, ब्रह्मचारी, सदाचारी त त्यसै दिक्क भएका छन । अचम्मको कुरा त भ्रष्टाचारीसमेत पो यो सडकको छेपारे प्रवृति देखेर तीन छक्क परेका छन । तिनीहरु नै सडक बन्नु भन्दापहिले आफ्नो घर बनाउँछन र तिनीहरु नै सडकमा भ्रष्टाचार भयो भनेर पानी माथिको ओभानो बन्दै चोखो भएको नाटक गर्छन । भनाँै सडक षडयन्त्र गर्न महाखप्पिस छ । जसकाकारण सडक सधै आफैँलाई ठगिरहेको छ । कुरुप भएर बसेको छ । बैंशमा पोषण नपुगेर सुकेनास रोग लागेको जस्तो अस्थिपञ्जर मात्र लिएर सबैका सामु तेर्सिएको छ सडक ।

सडकले नेपालमा सत्तापक्षको भएर पनि विपक्षीको भूमिकामा उभिएर सरकारलाई चुनौती दिइरहेको जस्तो लागेको छ । बालुवाटार जस्तो ठाउँमा बेला न कुबेला भ्वाङ परेर आफ्नै घरबाट गालीखाने मेलो गरिरहेको जस्तो छ सडकले । सडकले सरकारलाई आफ्नो तागत देखाउन वा भनाँै असफल पार्न बालुवाटारको सडकमा भ्वाङ परेर शक्तिप्रदर्शन गरिरहेको छ । भोलिका दिनमा शितलनिवास, गर्मी निवास, जाडो निवासतिर वा सिंहदरबार, महाराजगञ्ज दरबार, नारायणस्थान दरबार, अथवा कुनै चलखेल दरबारमा नै भ्वाङ पारेर परेर सडकले सडक जाम गराउन आइतबार पर्खदैन भन्ने कुराको सङ्केत दिएको जस्तो लागेको छ यो गोज्याङ्ग्रेलाई ।

ल्याङ्ग्रेहरुको मुलुकमा गोज्याङ्ग्रेको अनुमानले के लछार पाटो लाउला र भन्नेहरुको जमात पनि नभएको होइन तर सडकले चाह्यो भने सबैतिर प्वाङ, भ्वाङ परेर होस वा पहिरो झारेर ढुङ्गामुढा लडाएर भएपनि सडक अवरुद्ध गर्न सक्छ । सडकको तागत कम छैन । किनभने यतिबेला सडक सरकारको विपक्षीको रुपमा उभिएको छ । मेचीको सडक महाकाली पु¥याउन सक्छ । महाकालीको सडक ताप्लेजुङ पुग्न सक्छ । ताप्लेजुङको सडक डडेल्धुरा, बैतडी र बाजुरा पुग्न सक्छ । उदयपुरको सडक अस्तपुर पुग्न सक्छ । सङ्घ मातहत राखिएको सडक प्रदेश मातहत पुग्न सक्छ । स्थानीय तहको सडक सङ्घ मातहत र सङ्घ मातहतका सडक स्थानीय तहमा हामफाल्न सक्छन ।

सतापक्षको मानो खाएर विपक्षीको भूमिकामा रमाइरहेको सडकको षडयन्त्रका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत बेखबर हुन सक्छ । आफ्नै घर भत्काएर चर्चामा आउन बलजफ्ती गरिरहेको सडकको क्रान्तिकारी विनासे उद्योगमा कुशासनको गन्धमात्र होइन दुर्गन्ध समेत आउन थालेको छ । सडक प्रशासन कुशासनमा बसेर घुशासनको व्यापार गरिरहेको स्पष्ट हुन्छ । किनभने सडक प्रशासन अर्काको मान्छे र आफ्नो मान्छे छान्छ । अर्काको मान्छेलाई अर्कै ठाउँमा र आफ्नो मान्छेलाई आफ्नै ठाउँमा सडक प्रशासन चलाउन पठाउँछ ।

मोरङको मान्छेलाई डोटी र उदयपुरको मान्छेलाई ताप्लेजुङ जान बाध्य पारेर विपक्षीको भूमिका निर्वाह गरिरहेको छ सडकले । भनौँ यो सडक सधैँ षडयन्त्रकारी भूमिकामा बसेर सडककै हानी नोक्सानी हुने काममा उद्यत छ । सडकको षडयन्त्रकै कारण सडक भताभुङ भएर समाजका अगाडि नाकमुख देखाउन नहुने गरी बिग्रेको छ । नपत्याए राजधानीलगायतका शहरका सडक, व्यापारिक महत्वका सडक, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको सडक, र अन्य ग्रामिण इलाकाको सडकको अवस्था हेर्नुस त ? सबै सडकको जिम्मेवार सडक नहोला तर जिम्मेवारी वहन गर्ने निकायले त जिम्मेवारी लिएर उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने भएपनि बेवारिसे जस्तो देखिएको छ सडकको अवस्था । यस्तो अवस्थामा सडकको षडयन्त्रका कारण नै सडकले दुर्गती भोग्नु परेको हो भन्नबाध्य पार्छ जो कोहीलाई पनि । भनौँ सडक आफै उपर षडयन्त्र गर्न उद्यत भैरहेको छ यतिबेला ।

 

Tags :
प्रतिक्रिया दिनुहोस