आत्महत्या त हो तर हत्या हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो -ठकुरी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आत्महत्या त हो तर हत्या हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो -ठकुरी


प्रशासन विशेष ब्युरो

६ भाद्र २०७६, शुक्रबार


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले यति बेला सामाजिक सञ्जाल, सडक हुँदै सदनसम्मै प्रवेश पाइरहेको छ । अनेकथरी बहस र तर्कका बिच घटनाको स्वतन्त्र अनुसन्धान भन्दा पनि भीड र दबाबको चेपुवामा परेर निष्पक्ष छानबिन प्रभावमा पर्ने त होइन भन्ने चिन्ता एकातिर छ भने केही अतिवादहरूको अतिले यो घटना पनि निर्मला हत्या प्रकरण गर्दै राजनीति र लाजनीति त हुने होइन भन्ने अर्कोतर्फ । यही सन्दर्भमा नेपाल प्रहरीका पूर्वडिआइजी तथा अपराधअनुसन्धानविद् हेमन्त मल्ल ठकुरीसँग प्रशासन डटकमले गरेको छोटो कुराकानी ।

शालिकराम पुडासैनीको आत्महत्यापछि छानबिनका लागि पक्राउ परेका रवी लामिछानेको विषयलाई लिएर जे जस्ता बहसहरू भइरहेका छन् यसलाई कसरी हेर्नुहुन्छ ।
यसअघि हुने गरेका आत्महत्याका घटनाहरूमा सजाय भएन भनेर सजाय गराउनको लागि जुलुस निस्किएका छन् तर अहिलेको अवस्थामा ठ्याक्क उल्टो छ । सजाय गर्नुपर्ने जुन मागदावी छ, त्यसमा कारबाही गर्नुहुन्न भन्नेतर्फ गएको छ । यो किन भइरहेको छ भन्ने बुझ्न जरुरी छ । यसमा सरकार तथा राजनीतिक दलप्रतिको वितृष्णाको कारण पनि भइरहेको छ एउटा कुरा । अनि अर्को कुरा घटना के हो ? भन्ने बुझ्न जरुरी छ । पोस्टमार्टम रिपोर्ट आई सकेको छ । त्यसले आत्महत्या हो भन्ने टुंगो गरेको छ । र, सबैभन्दा धेरै विवाद रहेको भिडियो पनि अल्टर(एडिट) गरेको छैन भन्ने पनि प्रमाणित भइसकेको छ, त्यसले गर्दा आत्महत्या त हो तर हत्या हो कि होइन भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो ।

र, आत्महत्या गर्न प्रेरित गरेको भन्ने विषय जुन छ त्यसलाई कसरी हेर्ने भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण छ । कसैले, भिडियो बनाएर या चिठी लेखेर आत्महत्या गर्छ भने त्यो हेयर्से एभिडेन्स हो । आत्महत्या दुरुत्साहन भनेको एक्स्ट्रिममा पु¥याउने हो, जहाँ कुनै पनि बाटो उसले राख्दैन उसले आत्महत्या नगर्नको लागि । अर्थात् आत्महत्या गर्नको लागि सहयोग गरिदिने अवस्था हो । हेयर्स एभिडेन्सलाई प्रमाणित गर्नको लागि थप एभिडेन्सहरु चाहिन्छ । जुन एभिडेन्सहरु यो घटनामा देखिँदैन ।

अनुसन्धानका क्रममा नाम जोडिएका रवी लामिछानेलाई प्रहरीले हिरासतमा लिँदा सडकमा उत्रिएको मासलाई के भन्नुहुन्छ ?
यो ठिक होइन । यो एन्टिगभरमेन्ट मास हो जस्तो लाग्छ मलाई । सरकारको असन्तुष्टि घटनाबाट प्रस्तुत भइरहेको छ, त्यो राम्रो होइन । आजकै मितिमा कुरा गर्ने हो भने रिपोर्ट आई सकेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । समयमै अनुसन्धान सकोस् र पुलिसले प्रोपर अनुसन्धान गरोस्, मासले त त्यो खोज्ने हो भने नि त । प्रहरीले गरेको अनुसन्धान भोलिका दिनमा अदालतमा जान्छ र अदालतले निर्णय गरिहाल्छ । अब यस्तो मासले जुन प्रहरीले गर्ने प्रोपर अनुसन्धान जुन हो, त्यो डाईभर्ट पनि गर्न सक्छ । त्यसलाई असर गर्न सक्छ, त्यसैले यस्तो भीड नगर्दा हुन्छ ।

प्रहरीले अघि बढाएको अनुसन्धान ठिक छ ?
आत्महत्या भन्दा पनि हत्याको कुरा जुन छ, त्यसमा बढी खोतल्नु पर्ने थियो जस्तो लाग्छ मलाई । उसलाई आत्महत्या गर्नसम्मको लागि प्रेरित गर्न त धेरै तत्त्वहरू चाहिन्छ । त्योसमेत खोज्नु पर्ने थियो । त्यसले गर्दा अलिकति छिटो भयो कि ? मैले अघि पनि भनँे, यदि कसैले भिडियो रेकर्ड गरेर छोड्छ या चिठी लेखेर छोड्छ भने त्यो हेयर्से एभिडेन्स हो, त्यसमा थप प्रमाणहरू जुटाउनु पर्छ । र, थप प्रमाणहरूबाट आत्महत्या गर्न प्रेरित गरेको प्रमाणित भएपछि मात्रै अगाडी बढ्नुपर्ने हुन्छ त्यसैले यो अलिकति छिटो चाहिँ भएको जस्तो लाग्छ ।

केही आधार र प्रमाण नभई अर्थात् अनुसन्धान प्रभावित हुने सङ्केत नपाईकन त प्रहरीले पक्राउ पनि त गरेन होला नि, हैन र ?
भिडियोमा भएको जुन कुरा छ, त्यसलाई थप प्रमाणित गर्ने कुरा प्रहरीले फेला पारेको पनि हुन सन्छ यद्यपि अनुसन्धानको कुरा सबै बाहिर आइरहेको छैन ।

जुन भिडियो सार्वजनिक भयो, त्यो कसरी बाहिर आयो भनेर अर्को उजुरी दिने कुरा छ, त्यो भिडियो आउनु ठिक थियो या गलत ?
यसलाई दुइटा कुराबाट हेर्न सकिन्छ । एउटा त प्रहरीसँग भएको प्रमाण बाहिर आउनु हुन्न भन्छु म । किनकि त्यो प्रमाण बाहिर आउनु भनेको राम्रो मानिँदैन । अनुसन्धानलाई असर गर्छ । तर त्यो भन्दा पनि महत्त्वपूर्ण पार्टमा मान्छेहरू जान्न खोजिरहेको छैनन् । भिडियो किन बाहिर आयो ? त्यो महत्त्वपूर्ण पार्ट हो ।

यसमा दुई तीन वटा घटनालाई सँगै जोडेर हेर्ने हो भने जस्तो सुन काण्ड भयो । त्यसमा जति पनि अडियो छ, त्यो सबै पुलिसबाट बाहिर आएको छ । निर्मला केशमा त बयान लिएको भिडियोसमेत बाहिर आएको घटना छ । पुलिसबाट बाहिर आएको हो नि त त्यो । यसमा पनि पुलिसबाट बाहिर गयो कि ? यसलाई हामीले फेयर फ्याक्टर भन्छौँ । यदि प्रहरीले सङ्गठन तथा सरकारबाट आफूलाई सुरक्षित भएको महसुस गरेन भने आफूलाई सुरक्षित राख्नको लागि त्यो गर्छ । यो मनोवैज्ञानिक कुरा हो भन्छु मैले ।

त्यसैले यो घटना यदि प्रहरीबाट नै भिडियो बाहिर आएको हो भने उसले आफूलाई अफ्ठेरो पर्छ भनेर बाहिर ल्याएको हो जस्तो लाग्छ मलाई ।

यहाँकै भनाइअनुसार घटनामा संलग्न हुने प्रहरी अधिकारी निर्धक्क भएर आत्मविश्वासका साथ निष्पक्ष अनुसन्धान गर्न नसकिरहेको देखियो हैन त ?
हो । त्यो देखायो तर सबै केसमा होइन, केही जटिल केसमा त्यो देखिन्छ । अरू केसहरू त राम्ररी अगाडी पनि गइरहेका छन् । तर जहाँ मास इन्भल्भमेन्ट हुन्छ, ठुला मान्छेहरू इन्भल्भ हुन्छन् अर्थात् जुन केस राष्ट्रियस्तरमा आउँछन् त्यस्ता केसमा प्रहरी सपोर्ट नपाउने भएपछि आफू जोगिनको लागि रियालिटी के हो त्यो बाहिर लिएर आएको देखिएको छ ।

निर्मला हत्या प्रकरणमा सुरुमा प्रहरी नेतृत्वले बोलेको देखिएन र यो घटना पनि यति धेरै हंगामा भई रहँदा पनि प्रहरी नेतृत्व बोलेको देखिँदैन, खासमा हुनुपर्ने के हो ? बोल्नुपर्ने होइन र ?
बिलकुल थियो । निर्मला केशमा जुन कञ्चनपुर जिल्लामा घटना घट्यो त्यो भन्दा माथिल्लो तहले समन्वय गरिदिनु पथ्र्यो । जस्तो पुडासैनी आत्महत्या प्रकरणमा पनि दशौँ थरी कुराहरू बाहिर आएका छन्, कसैले आँखामा कोही देखेको भनिरहेको छ त कसैले केही । सबैले रियालिटी जान्न खोजिरहँदा प्रहरीले प्रस्ट पार्नुपर्छ ।

अर्को महत्त्वपूर्ण कुरा यो अनुसन्धानका लागि जसरी सिआईबी गएको छ, त्यतिले मात्रै पुग्दैन कि ? त्यसमा थप सोच्नुपर्ने हो कि ?

तेस्रो कुरा अनुसन्धान अगाडी बढी रहेको छ । बाहिरको भ्वाईसले गर्दा वा अरूको कुरामा लागेर कुनै छानबिन समिति गठन गरिदिने काम चाहिँ अहिले गर्नुहुन्छ । बरु थप समय लिन सक्छ, हेड क्वाटरले थप छानबिन गर्न सक्छ तर छानबिन समिति गठन गर्न हुँदैन ।

र, चौथो कुरा चितवनको अनुसन्धानका क्रममा प्रहरी अधिकृतहरूलाई कारबाही गर्नु पर्छ जुन जनआवाज आइरहेको छ यसले झन् अन्यौलता बढाउने काम गर्छ, त्यसबाट पनि जोगिनु पर्छ ।

यो घटना पनि निर्मला हत्या प्रकरण जस्तै त हुँदैन ?
यसमा अनुसन्धानको पाटो चाहिँ प्रस्टै हुन्छ । जे जति प्रमाणहरू छन् त्यो सबै बाहिर आई सकेको छ । ती सबै अदालतमा जान्छन् र अदालतले जे निर्णय गर्छ त्यो भोलिको कुरा हो । तर निर्मला घटनामा संस्थालाई र प्रहरी अधिकारीहरूलाई जुन किसिमको असुरक्षित महसुस गराएको छ, यदि प्रोपर्लि यो घटनालाई हेण्डिल गरिएन भने यसले थप भूमिका निर्वाह गर्छ ।

अन्तमा, पूर्व उच्च प्रहरी अधिकारी तथा अपराधविद्को तर्फबाट भन्नुपर्दा यो घटनाको टुंगो कसरी लगाउनु पर्छ ?
पहिलो कुरा त सबै प्रहरी अनुसन्धान अधिकारी होइनन् । कुनै घटना घटिसकेपछि त्यही किसिमको मान्छे हेडक्वाटरले तत्काल पठाउनु पर्छ । समयमै सपोर्ट गर्नुपर्छ । ग्याप जति बढी हुन्छ त्यसले झन् शङ्का उत्पन्न गर्छ ।

दोस्रो, मिडिया म्यानेजमेन्ट अति जरुरी हुन्छ । यो घटनामा पनि जुन अहिले १० थरी कुराहरू आई रहेका छन्, र जिल्लामा अविश्वासको कुरा उठेको छ, यसलाई चिर्नको लागि माथिल्लो निकायले फ्रिक्वैन्टी पत्रकार सम्मेलन गरिराख्नु पर्ने हुन्छ ।

र, तेस्रो कुरा जो फिल्डमा खटिएका प्रहरी अधिकारीहरू छन् उनीहरूलाई मेरा पछाडि संस्था र सरकार छ है भन्ने आत्म विश्वास जगाउन सक्नुपर्छ । त्यसपछि मात्रै उसले एक हदसम्म अगाडी बढेर अनुसन्धान गर्न सक्छ । र, निष्पक्ष अनुसन्धान गर्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस