काठमाडौँ । सगरमाथालगायत अन्य हिमालमा अधिक चापका कारण आरोहीको मृत्यु नभएको सरकारी समितिले बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको ५ सदस्यीय समितिले हिमालमा लागेको लाइनका कारण आरोहीको मृत्यु नभएको बताएको हो ।
गत वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणको क्रममा १५ जनाको मृत्यु भएको थियो । जसबारे अधिक चापका कारण आरोहीको मृत्यु भएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा भएको थियो ।
यस वर्ष मौसम निरन्तर प्रतिकुल रहेको हुँदा आरोहीको योजना तत्काल परिवर्तन गर्नुपरेले मे महिनाको २२ र २३ गते सबैभन्दा बढी आरोहण भएको र एकै समयमा धेरै आरोही चुचुरोतर्फ लाग्दा लामो लाइन देखिएको समितिको निष्कर्ष छ ।
तर, सोही लाइनका कारण भने आरोहीको मृत्यु नभएको समितिका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले बताए ।