गुणस्तरीय शिक्षा र शिक्षक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुणस्तरीय शिक्षा र शिक्षक


बाबुकाजी कार्की

६ श्रावण २०७६, सोमबार


शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीको रुचि क्षमताअनुसार व्यवस्थित बनाउनको लागि विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ । शिक्षण सिकाइ प्रभावकारिताको सूचक विद्यार्थीले हासिल गर्ने उपलब्धीस्तर हो । शिक्षण एउटा कला मात्रै नभएर सामाजिक गतिविधि तथा विद्यालय सामाजिकिकरण गर्ने संस्था पनि हो । विद्यालयमा रोचक र गुणस्तरीय शैक्षिक वातावरणको सुनिश्चितताको लागि प्रत्यक्ष सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन लगायतका पदाधिकारी बिच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोग गर्ने उत्साहजनक वातावरण तर्जुमा एवम् सिर्जना गरिनुपर्दछ ।

गुरुस्तर र गुणस्तर एकअर्कामा अन्तर सम्बन्धित छन् । शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन शिक्षकको पेसागत दक्षता तथा उनीहरूको निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ। साधानस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजर अन्दाज गर्न सकिन्न । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्दछ । जसको लागि प्रतिभाशाली जाँगरिलो पेसाप्रति समर्पित शिक्षक अपरिहार्य हुन्छ । शिक्षण पेसामा प्रवेश गरी सकेका जनशक्तिलाई हौसला प्रदान गर्न र उनीहरूमा भएको मौजुदा ज्ञान सीपलाई परिष्कृतसाथै पारँगत गर्दै सक्षमता ल्याउन समयानुकूल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने रणनीति अवलम्बन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरक्षिणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर तथा उत्साह र ऊर्जा थप्ने काम गर्छ । पेसागत उत्कृष्टता हासिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निस्कलंकता, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, र्निदिष्टता) जस्ता गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्न प्रेरित गरिनु पर्दछ ।

विद्यालय समाजको गहना भएकोले यसको सञ्चालनमा सहभागितामूलक कार्य गर्ने परम्पराले लोकतान्त्रिक प्रक्रियाबाट निर्णय र निष्कर्षमा पुग्न सहजताकासाथै सरोकार पक्षको स्वामित्व तथा अपनत्वको भावना विकास गराउँछ । जुन शिक्षण संस्था फस्टाउन अपरिहार्य हुन्छ । विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउने गरी सिक्ने थलोको रूपमा विकसित गरिनुपर्दछ । शिक्षक ज्ञान, सीप, अभिबृतिबाट कहिल्यै बुढो हँुदैन अतः निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्दछ । शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हँुद उनीहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पण ऊर्जा थप्न पेसागत सुरक्षा सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समिति प्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको बृतिविकासमा पराक्रम गर्ने भन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो ।

यसरी शिक्षकको पेसागत मर्यादामा विना कारण पूर्वग्राही ढङ्गबाट आँच पु¥याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालको लागि विद्यालय विकासको कार्य योजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नुपर्दछ । जानीजानी पदीय हैसियतलाई दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन सके शिक्षक स्वभिमानीपूर्वक आफ्नो पेसागतधर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रीय स्तरमा संवैधानिक शिक्षक सेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुटै न्ययालयको व्यवस्था भएमा शिक्षक पदको गरिमा अझ बढ्नेछ ।
उच्च योग्यता भएका तथा तालिम प्राप्त शिक्षकले पढाएका र तालिम र अनुभव कम भएका शिक्षकले पढाएका विद्यार्थीहरूको विषयगत उपलब्धिमा खास अन्तर नभएको तथ्य र तथ्याङ्कले पुष्टि गर्दछ । अझ कतिपय अवस्थामा तालिम अपर्याप्त शिक्षकले उछिनेको पाइन्छ। यसले तालिमको विषयवस्तु र व्यवहारिक तामा प्रश्न खडा गरिदिएको छ। त्यस्तै शिक्षकहरूलाई विद्यार्थीको उपलब्धीस्तर प्रति जबाफदेही बनाउने नीति र रणनीतिको उत्तिकै खाँचो खट्किएको देखिन्छ।

शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धिसँग दाँजेर सोही अनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शिरुपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैँसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घर परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्तता लगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरञ्जीवी सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेन्डर बनाइनुपर्दछ । त्यसको अनुसरण भए नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्दछ । विद्यमान ऐन नियममा भए अनुसार कम्तीमा १८० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सचालक र सेवाग्राही सजग रहनुपर्दछ । त्यस्तै विद्यालयमा अनुशासित एवम् मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्दछ । विद्यालयलाई बन्द हडताल मुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्दछ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्दछ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिने खालको वातावरण हुनुपर्दछ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्दछ । उनीहरुनै रोजगारदाता हुन भन्ने यथार्थलाई बिर्सनु हुँदैन , किनकि विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्दछ । त्यस कारण विद्यार्थीको भाग्य र भविष्यसँग गाँसिएको शैक्षिक कार्यक्रम , कार्यान्वयनमा ढिलासुस्ती , अनियमितता , लापरबाही , जवाफदेहिता र जिम्मेवारीलाई उपेक्षा र आफ्नो पेसागत धर्म निर्वाह नगर्नेलाई“शैक्षिक भ्रष्टाचारी ” को रूपमा परिभाषित गरी कानुनको दायरामा ल्याउन सकेमा शिक्षाको विकास र विस्तारमा सकारात्मक काम हुन जान्छ । विद्यार्थी वनस्पतिको एक दाना बीउ जस्तै हो त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउन सके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ ।

शिक्षकहरूलाई जाँगरिलो बनाउन मनोवैज्ञानिक, सामाजिक, आर्थिक, शारीरिक, राजनीतिक रूपमा सचेत, सबल सन्तुष्ट बनाउनुपर्दछ । त्यस्तै शिक्षाको हरेक क्षेत्रमा व्यक्तिभन्दा विधिको शासन, नेताभन्दा नीतिको मार्गदर्शन, दाताभन्दा डाटालाई नीति निर्माणमा प्रधानता दिँदै नौ ‘अ’ अभिभावक, अध्यापक, अध्ययनार्थी(विद्यार्थी), अध्ययन विषय र विधि, अनुशासन ,अपनत्व, अनुदान, अनुगमन ( निरीक्षण ) र अनुसन्धानलाई मध्यनजर राखेर योजना र कार्यक्रम कार्यान्वयन गर्न सकेमा एक प्रतिस्पर्धी स्वाभिमानी पौरखी नागरिक उत्पादन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस