प्रविधि हस्तान्तरण « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

प्रविधि हस्तान्तरण


खगेन्द्र साउद

२९ असार २०७६, आइतबार


प्रविधि हस्तान्तरण
मानव सभ्यताको विकासको प्रारम्भदेखि नै मानवीय आवश्यकता पूर्तिका लागि प्रविधिको विकास हुँदै आएको छ । ज्ञान, सीप, कार्यसम्पादन विधिको व्यवस्थित र वैज्ञानिक उपयोग नै प्रविधि हो । मानिसको चेतना, अवधारणा, चाख, लगाव, र खोजबाट प्रविधिको विकास हुन्छ । आवश्यकता र अग्रसरताले प्रविधिको विकास र विस्तार हुन्छ । यो निरन्तर प्रक्रिया हो । एउटा प्रविधिको विकासले अर्को प्रविधिको विकास गर्न सहजीकरण गर्दछ । विकसित प्रविधि सदैव परिमार्जनका क्रममा रहन्छ । प्रविधिको विकासले उत्पादन प्रणालीमा अभूतपूर्व सुधार सम्भव बनाएको छ ।

विश्वव्यापीकरण र आर्थिक उदारीकरणले विश्वको प्रविधिलाई निर्बाध रूपमा एक स्थानबाट अर्को स्थान, एक देशबाट अर्को देश, एक विश्वविद्यालयबाट अर्को विश्वविद्यालय तथा एक संस्थाबाट अर्को संस्थामा पुर्‍याएको छ । जसले विश्वमा भएका नवीन प्रविधि आविष्कारको फाइदा सबै मुलुकले उठाउन पाएका छन् ।

यसरी प्रविधिको एक स्थानबाट अर्को स्थान लैजाने प्रक्रिया प्रविधि हस्तान्तरण हो । ज्ञान, सीप, विचार, उत्पादन प्रविधि तथा उपयोग विधिजस्ता कुरालाई एक स्थानबाट अर्को स्थान, एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठान र एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुर्‍याई विकास प्रक्रियालाई सरल, सहज, कार्यकुशल र प्रभावकारी बनाउने प्रक्रिया नै प्रविधि हस्तान्तरण हो ।

त्यस्तै प्राविधिक ज्ञान, सीप, दक्षता, पद्धतिलाई एक देशबाट अर्को देशमा, एक सरकारबाट अर्को सरकारसम्म, एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा हस्तान्तरण गर्ने प्रक्रिया प्रविधि हस्तान्तरण हो । प्रविधि हस्तान्तरणले विश्वको एक स्थानमा भएको प्राविधिक विकास र विस्तारलाई उपयोग र प्रवर्द्धन गर्न अर्को स्थानमा उत्पादन प्रणाली, व्यवस्थापकीय प्रणाली, सेवा प्रवाह प्रणालीको हस्तान्तरण गर्दछ । वैदेशिक लगानीका सन्दर्भमा प्रविधि हस्तान्तरणलाई निकै महत्त्व दिइन्छ । यस सन्दर्भमा प्रविधि हस्तान्तरण भन्नाले स्थानीय उद्योग प्रतिष्ठानले,

१. विदेशी लगानीकर्तासँग कुनै प्रविधि, विशेषज्ञता, सूत्र, विधि, पेटेन्ट, प्राविधिक जानकारीको लागि प्रयोग गर्ने अधिकार ,
२. विदेशमा स्वामित्व भएको कुनै ट्रेडमार्कको प्रयोग अधिकार र
३. वैदेशिक परामर्श, प्रविधि, तथा व्यवस्थापन र बजारीकरण सेवाको प्राप्तिका लागि गरिने सम्झौता लिने गरिन्छ ।

प्रविधि हस्तान्तरणको प्रवाह
 एक मुलुकबाट अर्को मुलुकमा,
 एक व्यावसायिक संस्थाबाट अर्को व्यावसायिक संस्थामा,
 एक क्षेत्रबाट अर्को क्षेत्रमा,
 पश्चिमबाट पूर्व,
 विकसितबाट अल्पविकसित ।

प्रविधि हस्तान्तरणमा पर्ने विषय
 विकसित प्रविधिको फर्मुला, प्रक्रिया, पेटेन्ट वा प्राविधिक ज्ञानको उपयोग,
 विदेशी टेड्रमार्कको उपयोग,
 कानुनी सम्झौता,
 वैदेशिक प्राविधिक, सल्लाहकार, व्यवस्थापन एवं बजार सेवा ।

प्रविधि हस्तान्तरणको उद्देश्य
 विश्वमा उत्पादित प्रविधिको विकास, विस्तार, उपयोग र प्रवर्द्धन गर्नु,
 उत्पादकत्व अभिवृद्धि गर्नु,
 प्राविधिक ज्ञानलाई विश्वभर फैलाउनु,
 न्यून लागत र अधिक प्रतिफलमा वस्तु तथा सेवा उत्पादन र बिक्री गर्नु,
 प्रविधिको व्यवसायीकरण गर्नु,
 नवीन खोज र आविष्कारलाई मानवीय हितमा अधिकतम उपयोग गर्नु,
 विश्व व्यापारलाई गतिशील बनाउनु,
 ज्ञानमा आधारित समाज र ज्ञानयुक्त उद्यम व्यवसायको स्थापना गर्नु,
 रोजगारीका अवसरहरूको सिर्जना गर्नु,
 वातावरण संरक्षण, विपद् व्यवस्थापन गर्नु ।

प्रविधि हस्तान्तरणको महत्व/फाईदा/आवश्यकता/औचित्य
 अन्तर्राष्ट्रिय प्रविधिको उपयोग, विस्तार र प्रवर्द्धन,
 अर्थ व्यवस्थालाई सबल, सुदृढ, गतिशील एवं प्रतिस्पर्धात्मक बनाई आत्मनिर्भरता तर्फ उन्मुख हुन,
 औद्योगिकीकरणको प्रक्रियालाई गतिशील बनाउन,
 पुँजी तथा प्राकृतिक एवं मानवीय साधनको अधिकतम परिचालन गर्न,
 उत्पादन प्रक्रियालाई मितव्ययी, गुणस्तरीय र सरल बनाउन,
 आर्थिक वृद्धिलाई बढोत्तरी गर्दै गरिबी घटाउन,
 सेवा प्रवाहलाई भरपर्दो, सरल, सहज र छिटो बनाउन,
 प्रविधिमा आधारित समाजको स्थापना गर्न,
 विकास प्रक्रियालाई प्रभावकारी बनाउन,
 निजी क्षेत्रको विकास गर्न,
 कृषि, पर्यटन, खनिज, जडीबुटीका सम्भावनाहरूको बृहत् उपयोग गर्न ।

प्रविधि हस्तान्तरण प्रक्रिया

 नवीन प्रविधिको अनुसन्धान, खोज र आविष्कार हुन्छ ।
 अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा प्रविधि विकास गर्न सकिने नसकिने, बजार, लागत र त्यसलाई उपयोग गर्न सकिने नसकिने व्यापार योजना तयार हुन्छ ।
 विकास/उत्पादन
 बजार योजना
 हस्तान्तरण
यसरी प्रविधि हस्तान्तरण गर्दा प्रविधिको अनुसन्धान, व्यवसायीकरण, र हस्तान्तरण गरिन्छ ।

प्रविधि हस्तान्तरणका लागि कस्तो वातावरण चाहिन्छ ?
 खुल्ला तथा उदार अर्थव्यवस्था,
 सुदृढ आर्थिक कूटनीति,
 नीतिगत सुधार प्रविधि हस्तान्तरण सम्बन्धी प्रस्ट नीति तथा कानुनहरू
 लगानीमैत्री वातावरण,
 प्रविधिका लागि भौतिक पूर्वाधार,
 स्रोत साधनको पर्याप्तता,
 दक्ष जनशक्ति,
 आर्थिक विकासको स्तर र कार्यान्वयन क्षमता,
 अन्तरदेशीय समन्वय,
 राजनीतिक स्थायित्व, सहमति र प्रतिबद्धता ।

प्रविधि हस्तान्तरणका समस्या/चुनौतीः
 प्रविधि हस्तान्तरण सम्बन्धी कानुन तथा नीति (विद्यमान अवस्था, परिमार्जन, समय, प्रावधान )
 सम्बद्ध ऐन कानुनको कार्यान्वयनको पाटो ,
 प्रविधि हस्तान्तरणलाई प्राथमिकता (सरकार र निजी क्षेत्र)
 सम्बद्ध क्षेत्रमा कार्यरत निकायहरू बिच समन्वय, कार्यक्षेत्रमा दोहोरोपन,
 भौतिक पूर्वाधारको विकास,
 लगानीमैत्री वातावरण तयार, शान्ति सुरक्षा, विदेशी लगानीकर्तासँगको व्यवहार,
 बजारको आकार, दक्ष कामदार तथा प्राविधिकहरूको अवस्था,
 राजनीतिक सहमति, प्रतिबद्धता र आर्थिक समृद्धिको यथार्थ मार्गचित्र,
 करको दर, जमी नमा पहुँच,
 विवाद समाधानको भरपर्दो संयन्त्र ।

प्रविधि हस्तान्तरणका अवसर
 स्थायी सरकार र उदार अर्थतन्त्रको अवलम्बन,
 राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र, तथा उन्नत शील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य,
 निर्यात प्रवर्द्धनका क्षेत्रमा वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्ने राज्यको नीति,
 प्राकृतिक स्रोतको उपलब्धता जलस्रोत, वनसम्पदा, कृषि, पर्यटन, जैविक विविधता
 नीति तथा कानुन तयार छन् ।
 लगानी सम्मेलनको आयोजना ।

प्रविधि हस्तान्तरणबाट कसरी अधिकतम लाभ उठाउने ?
 प्रविधि हस्तान्तरण सम्बन्धी कानुन तथा नीतिहरूको समसामयिक परिमार्जन, र प्रभावकारी कार्यान्वयन गर्ने,
 सुदृढ आर्थिक कूटनीति निर्माणमार्फत अधिकतम वैदेशिक लगानी आकर्षित गर्ने,
 स्वदेशी र विदेशी लगानीकर्ताबिच समान व्यवहार गर्ने,
 भूराजनीतिक लाभ उठाउन परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने,
 विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान, खोज तथा आविष्कारमा जोड दिने,
 अनुसन्धान केन्द्रहरू, प्रयोगशालाहरू तथा सूचना प्रविधि पार्कहरूको स्थापना गर्ने,
 मेधावी प्रतिभाहरूलाई अनुसन्धान, नवीन खोज तथा अन्वेषणमा उत्प्रेरित गर्ने,
 आधारशिलाहरूको निर्माणमा तीव्रता दिने,
 सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्ने,
 बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई प्राथमिकता दिने,
 विज्ञान तथा प्रविधि शिक्षालाई सहज, सस्तो र सबैको पहुँचयोग्य बनाउने ।

बौद्धिक सम्पत्ति अधिकार
मानव जीवनलाई सरल र सहज बनाउन विकासको आवश्यकता पर्दछ । विकास आर्थिक, सामाजिक, पर्यावरणीय, संस्थागत लगायतका मानव जीवनलाई प्रभाव पार्ने पक्षहरूमा आएको सकारात्मक परिवर्तन, उन्नयन तथा सुधार हो । विकासको साधन र साध्य मानव नै हुन् । विकासका लागि भूमि, श्रम, पुँजी, प्रविधि, सङ्गठन, वित्तीय स्रोत, भौतिक, यान्त्रिक साधन लगायतका उत्पादनका साधनहरूको आवश्यकता पर्दछ । र यस्तो पुँजीलाई विगतमा आर्थिक र वित्तीय पुँजीको रूपमा मात्रै हेरिन्थ्यो । तर आज बौद्धिक पुँजी अर्थात् मानवीय साधनको ज्ञान, सीप, दक्षता, र क्षमता आदिलाई पनि जोड दिन थालिएको छ ।

बौद्धिक पुँजीभित्र मानवीय पुँजी, संरचनात्मक पुँजी, र ग्राहक पुँजी पर्दछन् । मानवीय पुँजीभित्र कर्मचारीको दक्षता र क्षमता पर्दछ । संरचनागत पुँजीभित्र नीति, नियम, कानुन, कार्यविधि, अध्ययन, अनुसन्धान, असल अभ्यास, पेटेन्ट, ट्रेडमार्क, सूचना प्रणाली, प्रतिलिपि अधिकार लगायतका विषय पर्दछन् । र ग्राहक पुँजी अन्तर्गत सम्बन्ध, ग्राहक सन्तुष्टि लगायतका कुराहरू पर्दछन् ।

बौद्धिक पुँजी मानिसको अभौतिक पुँजीको रूपमा रहन्छ । यो ज्ञानको रूपमा रहन्छ । र यो हस्तान्तरण गर्न सकिँदैन । यो प्रतिस्पर्धात्मक तथा रचनात्मक बौद्धिक क्षमताको संयोजन हो । बौद्धिक पुँजी व्यक्ति स्वयंले मात्रै प्रयोग गर्न सक्छ, यो अरूलाई दिएर प्रयोग गराउन सकिँदैन।

यसरी मानिसको ज्ञान, सीप र अनुसन्धानबाट सिर्जित भएका खोज, कलात्मक कार्य, डिजाइन, आविष्कार र सङ्केत आदिलाई बौद्धिक सम्पत्ति भनिन्छ । अर्थात् मानिसको बुद्धिको प्रयोगबाट प्राप्त भएको सिर्जना नै बौद्धिक सम्पत्ति हो । यो व्यक्तिको बौद्धिक क्षमता प्रयोग गरेर सिर्जना गरिएको हुन्छ ।

यसकारण बौद्धिक सम्पत्ति कानुनी अवधारणा हो । बौद्धिक सम्पत्ति अधिकारले स्रष्टाको बौद्धिक सिर्जना, आविष्कार, विचारको संरक्षण र प्रवर्द्धन गर्दछ ।

बौद्धिक सम्पत्तिका प्रकार
(क) प्रतिलिपि अधिकार
 प्रतिलिपि अधिकार व्यक्तिको सीप, कला, ज्ञान, हस्तलिखित ग्रन्थ जस्ता विषयहरूसँग सम्बन्धित हुन्छ । कुनै व्यक्तिको कला र सीपको दुरुपयोग नहोस्, कला र सीपको विकास निरन्तर रहोस् भन्ने उद्देश्यले प्रतिलिपि अधिकारको उपयोग गरिन्छ ।
 प्रतिलिपि अधिकार लेखक, सर्जक, अनुसन्धानकर्ताको अधिकार एवं स्वामित्व कानूनद्धारा संरक्षित हुन्छ ।
 प्रतिलिपि अधिकार ऐन, २०५९ ले साहित्य, कला, ज्ञान, विज्ञान लगायतका अन्य क्षेत्रमा मौलिक एवं बौद्धिक रूपले प्रस्तुत गरिएको रचनालाई समेटेको छ ।
प्रतिलिपि अधिकारको महत्त्व
 स्रष्टाहरूको बौद्धिक रचनाको संरक्षण र प्रवर्द्धनमा सहयोग गर्छ ।
 सर्जकहरूको सृजनशीलतामा सहयोग गर्छ ।
 कला, ज्ञान विज्ञान, संस्कृतिका विविध क्षेत्रमा नवीन आविष्कारको वातावरण बनाउँछ ।
 स्रष्टाहरूको मनोबल उच्च बनाउँछ ।
 समग्रमा आर्थिक , सामाजिक, व्यावसायिक, सांस्कृतिक, नैतिक आदि क्षेत्रको विकास गरी मुलुकको समृद्धिमा योगदान पु¥याउँछ ।
(ख) औद्योगिक सम्पत्ति :यसअन्तर्गत,
ट्रेडमार्क :  यसले उद्योगले उत्पादन गरेका निश्चित वस्तु तथा सेवा आमजनताले सहज, सरल, र विश्वासका साथ उपयोग गर्न सकुन् भनेर अन्य वस्तु तथा सेवा भन्दा फरक देखाउन र आफूले उत्पादन गरेको वस्तुमा अग्राधिकार प्राप्त गर्नका लागि प्रयोग गरिने कुनै मौलिक चिन्ह, शब्द, सङ्केत वा तिनको संयोजनलाई जनाउँछ ।
पेटेन्टः पेटेन्टलाई कुनै आविष्कारलाई राज्यद्धारा दिइने एकाधिकार को रूपमा चिनिन्छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुसार कुनै पदार्थ वा पदार्थको समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय, वा तरिकासम्बन्धी वा कुनै सिद्धान्त वा फर्मूलाद्धारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई जनाउँछ ।
डिजाइन  : पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अनुसार कुनै प्रकारको तयारी गरी बनाएको वस्तु छनोट, रूप वा आकारलाई बुझाउँछ ।
व्यापारिक गोप्यता  : उद्योग तथा व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने डिजाइन, आर्थिक सूचना, व्यापारिक योजना, सेवाग्राहीको नामावली, प्रविधि तथा अघोषित उत्पादनहरू कुनै खास अवस्थामा गोप्य राख्नुपर्छ ।
एकीकृत सर्टिफिकेट : यो पनि एक प्रकारको डिजाइन हो । यो विद्युत् तथा इलेक्ट्रिक सामानमा प्रयोग हुने चिप्सका डिजाइनसँग सम्बन्धित हुन्छ ।
उपयोगी नमुना  : कुनै उपयोगी आविष्कारलाई निश्चित समय तोकी ज्ञान, क्षमता र सीप प्रदर्शन गर्न दिइने अवसर हो ।

बौद्धिक सम्पत्ति संरक्षण अधिकारको उद्देश्य/औचित्य
 आविष्कारक, लेखक, तथा स्रष्टाको बौद्धिक सम्पत्तिमाथिको अधिकार प्रत्याभूत गर्ने,
 पे टेन्ट अधिकार सुरक्षित गर्ने,
 विदेशी लगानी आकर्षण गर्ने,
 रोजगारीका अवसरहरू सिर्जना गर्ने,
 विदेशी प्रविधि हस्तान्तरणमा सघाउन तथा उपभोक्ताको हित संरक्षण गर्ने,
 उद्योग व्यावसायमैत्री वातावरण अभिवृद्धि गर्ने ।

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका प्रयास/अवस्था/व्यवस्था
 पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानुन, १९९३
 प्रतिलिपि अधिकार ऐन, २०२२
 पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२
 प्रतिलिपि अधिकार ऐन, २०५९
 विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सदस्य बनेको सन् १९९७
 विश्व व्यापार सङ्गठनको सदस्य सन् २००४
 उद्योग मन्त्रालय, उद्योग विभाग, .कम्पनी रजिष्टारको कार्यालय,
 प्रतिलिपि अधिकार कार्यालय
 Trade Related Aspects of Intellectual Property Right( TRIPs)

नेपालमा बौद्धिक सम्पत्ति संरक्षण अधिकारका समस्या तथा चुनौती
 बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन नहुनु,
 सम्बद्ध निकायहरुको फितलो अनुगमन, र कारबाही ,
 सरकारको प्राथमिकतामा नपर्नु,
 नवीन खोज, आविष्कार र अनुसन्धानमा सरकारको न्यून लगानी,
 स्रष्टा र सर्जक पनि आफ्नो उत्पादन वा सिर्जनाप्रति सचेत नहुनु,
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय तथा सहकार्यको कमी,
 चोरी गरिएका वा अचबअपभम कयातधबचभक को प्रयोग,
 फिल्म र म्युजिकको जथाभाबी प्रतिलिपि बनाई बेचिने,
 अरूको लेख, रचना, वा .सिर्जना विनाअनुमति प्रयोग गर्ने वा सार्ने,
 मानिसमा ज्ञान तथा चेतनाको कमी,
 पर्याप्त बजेट तथा स्रोत साधनको कमी ,
 तालिम तथा अध्ययन अध्यापनमा
 मौलिक, तथा ऐतिहासिक ग्रन्थ, र रैथाने प्रविधिको संरक्षणमा उदासीनता ।

नेपालमा बौद्धिक सम्पत्ति संरक्षणलाई कसरी प्रभावकारी बनाउने ?
 ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन,
 सरकारको प्राथमिकतामा राख्ने,
 कानुनको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था,
 नैतिकता र व्यावसायिक ईमानदारीता कायम राख्ने,
 संस्थागत व्यवस्था,
 कर्मचारीहरूको प्रशासनिक दक्षता बढाउने,
 बौद्धिक अधिकारयुक्त वस्तुको उत्पादन, पुनरुत्पादन, व्यापार व्यवसाय गर्दा सर्जक तथा उत्पादकको अनुमति लिनुपर्ने व्यवस्था अनिवार्य गर्ने ।

उपसंहार
प्रविधि विकास, प्रविधि हस्तान्तरण र प्रविधि ग्रहण आर्थिक विकासका आधार हुन् । उच्च सीपयुक्त जनशक्ति र उपयुक्त प्रविधिको उपयोगले उत्पादन प्रक्रियालाई मितव्ययी, गुणस्तरीय र सरल बनाउँछ । नेपालमा प्रविधि हस्तान्तरणबाट कृषि, पर्यटन, जलस्रोत, सेवा क्षेत्र र समग्र आर्थिक विकासका पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । जसका लागि लगानी वातावरण, सबल निजी क्षेत्र, सरल, सहज कानुन तथा नीति, सरकारी प्रतिबद्धता, बजेट व्यवस्था र कार्यान्वयन क्षमता चाहिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस